गायक गंगा बरदानमाथि कुटपिट, बसका स्टाफहरु पक्राउ

  • २६ कार्तिक २०७५, सोमबार

मोरङको बेलबारी नगरपालिकामा आइतबार गायक  गंगा बरदान माथि कुटपिट भएको छ ।

बेलबारी २ लालभित्तिबाट पत्नी सहित ना ५ ख २८९४ नम्बरको मिक्लुङ यातायातको बस चढेर धरानतर्फ जाँदै गर्दा बसका कन्डक्टर, सहचालकले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

काँकडभित्ताबाट धरानतर्फ जाँदै गरेको बसका कन्डक्टर मोरङ उर्लाबारीका रोशन श्रेष्ठ र सहचालक झापाको दमक  १० का सुजन श्रेष्ठले बसभित्रै कुटपिट गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले बताए । सिटको विषयमा विवाद भएपछि श्रेष्ठमाथि कुटपिट भएको बताइएको छ ।

कुटपिटबाट गायक श्रेष्ठको कन्चट र निधारमा चोट लागेको छ । गायक श्रेष्ठमाथि कुटपिट गरेपछि बस लिएर  भागेका बसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका ३ का २६ वर्षीय निरन घिमिरे र सहचालक सुजन श्रेष्ठलाई प्रहरीले मोरङको गछियाबाट नियन्त्रणमा लिएको छ । कन्डक्टर रोशन श्रेष्ठ भने फरार रहेको  प्रहरीले जनाएको छ । उनको बेलबारीस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको  छ ।