बेलबारीलाइ ६३ रनले पराजित गर्दै  बिराटनगर नाइट क्रिकेट कपको फाइनलमा

  • २३ आश्विन २०७५, मंगलवार
  • 673 पटक पढिएको

नेपालमै पहिलोपटक भनिएको इनरुवामा आयोजित प्रथम नाइट  क्रिकेट कपको सेमिफाइनलमा बेलबारीलाई ६३ रनले पराजित गर्दै बिराटनगर फाइनलमा प्रवेश गरेको छ ।

फुलबारी क्रिकेट क्लबको आयोजना र इनरुवा नगरपालिकाको मुख्य प्रायोजनमा इनरुवा खेल मैदानमा भएको टी २० क्रिकेटमा ग्रुप ए को टोली बिराटनगरले सोही ग्रुपको बेलबारीलाइ १ सय ६५ रनको चुनौती दिए थियो । तर बेलबारी १ सय १ रनमा अल आउट हुन पुगेको थियो ।

जवाफी ब्याटिङमा उत्रेको बेलबारीले १८ रन बनाएपनि दोस्रो  ओभरमै लगातार दुवै ओपनरसहित दुई विकेट गुमाएको थियो । छैटौं ओभरमा तेस्रो विकेट गुमाएपछि बेलबारी थप दवाबमा परेको थियोे । छैटौं ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा बेलबारीले मात्र ३३ रन बनाएको थियो । त्यस्तै ९ ओभरको क्षतिमा बेलबारीले ५० रन बनाएको थियो ।

१०औं ओभरमा दिपेश सुवेदी क्याच आउट भएपछि बेलबारी निकै कमजोर  बनेको थियो । त्यस लगत्तै अर्का खेलाडी पनि बोल्ड आउट भएपछि बेलबारीको जितको संभावना झन् कमजोर बनेको थियो ।  त्यसै ओभरमा ६२ रन छंदा छैटौं विकेटको रूपमा अर्को विकेट पतन भएपछि बेलबारीको जित लगभग टरेको थियो । त्यसको लगत्तै केही बेरको फरकमा  बेलबारीले थप तीन क्षति ब्यहोरेको थियो । पन्ध्रौं ओभरमा ९ विकेटको क्षति ब्यहोरिसकेको बेलबारीले त्यस ओभरको समाप्तिमा ९५ रन बनाएको थियो । १७ औं ओभरमा १ सय १ रनमा बेलबारी अलआउट हुँदै ६३ रनले पराजित हुन पुगेको थियोे ।बिराटनगरका फिर्दोस अन्सारीले टीमका लागि ५ विकेट लिएका थिए ।

टस जितेर फिल्डिङ रोजेपछि बिराटनगर पहिले ब्याटिङमा उत्रिएको थियो । शुरुमा निकै आक्रामक देखिएको बिराटनगरले पाँच ओभरको समाप्तिमा बिना क्षति ४० रन बनाएको थियोे । छैटौं ओभरमा बेलबारीले पहिलो  विकेट लिएको थियो ।

चारैतिर जडित लाइटको सहारामा उल्लेख्य दर्शकको उपस्थितिबिच भएको खेलमा बिराटनगरका मिनास थापाले अर्धसतकको मद्दतमा बिराटनगरले ११ ओभरको समाप्तिमा ९२ रन बनाएको थियोे । १२ औं ओभरमा बिराटनगरले शतक पुर्याएको थियो । त्यसै ओभरमा मिनासको साझेदारी तोड्दै  बेलबारी अर्को विकेट झार्न सफल झार्न सफल भएको थियो । त्यसै ओभरमा बेलबारीले अर्को विकेट लिदै भरखरै प्रवेश गरेका बिराटनगरका कप्तान राजन थापा मगर क्याच आउट हुँदै मैदानबाट बाहिरिएका थिए । त्यस लगतै अर्को बलमा बाहिरिएको ठानिएका निरोज ठाकुर बाहिरिने क्याच बिवादमा आएपछि खेल केहिबेर रोकिएको थियो । एम्पायरले मैदान बाहिर क्याच गरेको भन्दै मैदान छाडिसकेका खेलाडीलाई नट आउट घोषणा गरेपछि बेलबारीका खेलाडी र  समर्थक आक्रोशित भएका थिए । अर्को ओभरमा श्रावणको रूपमा बिराटनगरको चौथो विकेट पतन भएको थियो ।

१५ ओभरको समाप्तिमा बिराटनगरले चार विकेटको क्षतिमा मिनासको ७२ रन सहित १ सय २३ रन बनाएको थियो । १७ औं ओभरमा श्रवण यादवको रूपमा बिराटनगरको पाँचौ विकेट झरेको थियो । १८ औं ओभरमा बेलबारीका क्याप्टेन अमित भगतले बोल्ड गर्दै छैटौं  विकेट झार्न सफल भएका थिए । १९ ओभरको समाप्तिमा १ सय ४६ रन बनाएको बिराटनगरले अन्तिम ओभरमा १८ रन थप्दै १ सय ६४ रन बनाएपनि मिनास नट आउट ९८ रन बनाउदै शतक बनाउनबाट २ रनले चुकेका थिए ।

असोज २१ गतेदेखि शुरु भएको क्रिकेटको पहिलो खेलमा आयोजक फुलबारी क्रिकेट क्लब इनरुवालाई पराजित गरेको बेलबारी दोस्रो खेलमा बिर्तामोडलाई ९ बिकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । बिराटनगर भने काठमाडौंलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । समूह बी को भोलीको खेल सप्तरी र बिरगंजबिच खेल हुनेछ ।