सुनको पोखरीमा डुवुल्की मार्दै सुन खोज्ने धनकुटेलीहरु

  • १९ आश्विन २०७५, शुक्रबार
  • 4959 पटक पढिएको

ठाकुर बराल
पञ्चायती दमनका शिकार भएका भीमनारायण श्रेष्ठका छोरा मनोजनारायण श्रेष्ठसंग भक्तपुरका रविन्द्र पुरीसंग जस्तै प्राचीन चीजवस्तुको संरक्षण छ । उनले ती चीज वस्तुलाई एउटा सानो छुटै घर नै वनाएर संरक्षित गरेका छन् । त्यहाँ उनले वर्तमान पुस्ताले देख्न सुन्न नपाएका हेर्दा सामान्य लाग्ने तर नेपाली संस्कृति तथा पहिचान वोकेका थुप्रै सामग्रीहरुलाई सजाएर राखेका छन् ।

तर त्यस बारेमा कसैको चासो देखिएको छैन । त्यसो त भीमनारायण श्रेष्ठ त्यसै पनि धनकुटाका लागि एकल संग्रहालय हुन् । उनका जीवन गाथाहरु र उनका पहिरन र भेष भूषालाई संरक्षित गरेर एउटा सानो संग्रहालय वनाउन सके धनकुटालाई राजधानी वनाउँ भनेर नारा जुलुस गरिरहनु जरुरी हुँदैन थियो । उनी लोकतन्त्रका लागि सहादत प्राप्त सहिद हुँदै हुन् । उनी लगायत विभिन्न संघर्षमा सहादत प्राप्त धनकुटेली सहीदहरुका फोटोहरुलाई विना पूर्वाग्रह एकै ठाउँमा सजाएर मात्र राखिदिने हो भने पनि धनकुटा वजारमा पर्यटकहरु थुप्रने थिए ।

भीमनारायण श्रेष्ठ, खगेन्द्र प्रधानाङ्ग, तुलसी दिवस, शिवकुमार श्रेष्ठ, हेमचन्द्र पोखरेल, उमानाथ पोखरेल, छविलाल पोख्रेल र दयाराम श्रेष्ठहरुका केही योगदानी घरहरु समेतलाई पहिचान दिई उनीहरुका वारेमा उजागर गर्दै धनकुटालाई जीउँदो संग्रहालय बनाउन पक्कै सकिंदो हो तर धनकुटालाई वाहिरबाट भित्रिएका मानिसहरुले त वनाइदिने होइनन् धनकुटे नै जाग्नु पर्दछ ।

मनोजनारायणको घर स्वयंमा संग्रहालय हो, त्यसमा पनि उनले गरेको संग्रह हेर्ने जोसुकैलाई लाग्छ यो थप नयाँ संग्रहालय पनि हो । तर धनकुटेलीहरु सुनको पोखरीमा डुबेर सुन खोजिरहेका जस्तै भएका छन् । राजधानी नपाए पछि मणि हराएको सर्प जस्तो लट्टिएका छन् । धनकुटा दिन प्रति दिन सुनसान हुँदैछ ।

यहाँका राजनेताहरुको कुनै खास दूरदृष्टि छैन यस ठाउँको अस्मिता जोगाउनाका लागि । मनोजले गरेका संग्रहमा हाम्रा पुर्खाले चलन चल्तीमा प्रयोग गर्ने गरेका ठेकी,माना,पाथी,सुरई,माटाका पाइपहरु,केही तार जडित वस्तुहरु,पुस्तक राख्ने पुस्तक सिरान, विभिन्न प्रकारका वाध्यवादन,तत्कालीन रेडियो रेकर्डर,सिक्काहरु, जस्ता थुप्रै सामग्रीहरु छन् । तिनलाई राख्न पनि उनले प्राचीनता झल्काउने सानो भवन नै वनाएका छन् । हेर्दा काठ र माटाका सामान्य लाग्ने हुक्का,काडका भाँडा,ठेकी देखिने ती सामग्रीहरु उनले संरक्षण गरेर नराखेका भए पछिल्लो पुस्ताले इतिहासका रुपमा मात्र सुन्ने थिए ।

यी सामग्रीहरु वास्तविक रुपमा उनका मात्र नभएर सम्पूर्ण धनकुटावासीका साझा सम्पत्ति हुन् । त्यो सानो घरलाई यहाँका राजनीतिक दल, वुद्धिजीवी तथा समाजसेवी पत्रकारहरुले संरक्षण र संवद्र्धनमा चासो देखाएमा स्वयं मनोजनारायणलाई व्यक्तिगत र धनकुटा नगर पालिका तथा धनकुटावासीलाई पनि पर्यटक भित्रयाउने , भित्रिएकालाई केही समय मनोरञ्जन दिने धरोहरका रुपमा विकास गर्न सकिने प्रचुर संभावना छ ।

यति मात्र होइन धनकुटाकै सरोज श्रेष्ठले पनि नेपालमा प्राचीन कालदेखि प्रचलनमा रहेका विभिन्न प्रकारका मुद्राहरु संग्रह गरिराखेका छन् । भक्तपुरमा देखिने संग्रहालय भन्दा कम छैन सरोजको घर । उनको घरलाई भक्तपुरको एउटा संग्रहालयमा जस्तै मुद्रा संग्रहालय वनाएर पर्यटकहरुको भिड नै धनकुटामा लगाउन सक्ने प्रशस्त ठाउँ छन् ।
धनकुटाका नेवार सम्प्रदायको छुट्टै संकृति र परम्पराहरु पनि छन् । मुलुकका अरु भागका नेवारहरुको चालचलन र भेषभूषा भन्दा फरक संस्कृति र परम्परा हुर्काएर धनकुटा र वरपर वसेका नेवार जातिका भेष भूषा, संस्कृति र रहन सहन झल्कने विभिन्न घरायसी सामानहरुको वेला वेला प्रदर्शन गर्ने जस्ता कार्य समेतले पनि धनकुटालाई फेरि मृत सहरबाट विउँझाएर जीवन्त सहरको रुपमा विकास गर्न सकिन्थ्यो ।
धनकुटा एउटा सजीव संग्रहालय त्यसै पनि हो । यसलाई फूलदानी जस्तै सजाएर राख्न मात्र बाँकी छ । सुनको पोखरीमा डुबुल्की मार्ने धनकुटेलीहरु विउँझनु मात्र पर्छ यो पूर्वको मात्र होइन नेपालकै राजधानीका रुपमा विकसित हुन्छ भन्ने कुरालाई नकार्न सकिंदैन ।