कार्यक्रममा बोलाउंदैनन्  संघसंस्था, निम्तोबिना जांदैनन पत्रकार पनि

  • ७ आश्विन २०७५, आईतवार
  • 1225 पटक पढिएको

अम्बिका भण्डारी

केहि महिना अघि मोरङ बेलबारीमा खासगरी साहित्यकारहरुको एउटा ठुलै जमघट थियो । देशभरबाट प्रतिष्ठित र परिचित स्रष्टाहरु भेला पनि भएका थिए । तर त्यस जमघटमा धेरै स्थानीय सन्चारकर्मीहरुले निमन्त्रणा नै पाएनन् । आयोजकको भनाइलाई आधार मान्ने हो भने निम्तो दिन जिम्मेवारी पाएका ब्यक्तिले हेलचेक्र्याइं गरेका कारण त्यस्तो भएको थियो । तर कारण जे भएपनि निमन्त्रणा नपाएपछि त्यस साहित्यिक महोत्सवमा कोही सञ्चारकर्मी नगएको हुनाले एक दुईवटा मिडियामा बाहेक समाचार नै आएन । आयोजकले पछि त्यस बिषयमा आत्मालोचना पनि नगरेका त होइनन् तर त्यसले मिडियामा जति स्थान पाउनुपर्ने थियो, त्यो नपाउंदा आयोजकले केही खल्लो महसुस गरे ।

त्यसैगरी केही दिन अघि सम्पन्न भएको दोस्रो बुद्द एयर डांगीहाट फुटबल प्रतियोगिता गर्ने बारे शुरुमा गरिएको पत्रकार सम्मेलनमा पनि स्थानीय क्षेत्रमा रहेर पत्रकारितामा कृयाशील  निकैजना सञ्चारकर्मीलाइ बोलाइएन । आयोजकले सञ्चार बिभागका एक दुई जना सञ्चारकर्मीलाइ नै त्यसको जिम्मेवारी दिएको रहेछ । त्यस बिषयमा निकै आलोचना भएपछि आयोजकले नैतिक जिम्मेवारी लिदै कमी कमजोरी स्विकारेपछि खेल संचालन भएको अबधिमा सबै सञ्चारकर्मीले सक्रियतापुर्वक रिपोर्टिङ गरे ।

हुन त कसलाई बोलाउने र कसलाई नबोलाउने भन्ने कुरा आयोजकको कुरा हो । कुनै संघ संस्थाले मिडियाको महत्त्व नबुझेर कुनै पत्रकारलाई नबोलाइ कार्यक्रम गर्छौ भन्छन् र गोप्यरुपमै कार्यक्रम गर्छन् भने त्यो उनीहरूकै कुरा होला तर पछिल्लो समय संकट र आपत बिपत पर्दा पत्रकार खोज्ने तर सार्वजनिक कार्यक्रम हुंदा मतलब नगर्ने प्रचलन बढ्दो छ ।

गत हप्ता बेलबारी २ स्थित रमिते सामुदायिक वनको साधारणसभामा पनि छानी छानी पत्रकार बोलाइयो । सामुदायिक वन र रमिते पर्यटकीय क्षेत्रको बारेमा बारम्बार समाचार लेख्ने पत्रकार पनि निम्तो नपाउनेमा परेका थिए । गत बर्ष पनि त्यस्तै भेदभाव गरेको सामुदायिक वनका पदाधिकारीले नियतबस नभई भुलबस कतिपय पत्रकारलाई निम्तो गर्न छुटेको बताए ।

शनिबार बेलबारी २ मा अबस्थित गोल्डेन फ्युचर सहकारी र बेलबारी ३ को बेलीपुष्प सहकारीको साधारणसभामा पनि एक दुई जना पत्रकारलाई मात्रै बोलाइयो, अरुलाइ बोलाइएन । त्यसैले ती संस्थाको साधारणसभाले मिडियामा स्थान पाएन ।

यी त केही उदाहरण मात्र हुन् । कुनै कार्यक्रममा पत्रकार बोलाउनुपर्छ भन्ने भन्दा पनि पत्रकार खोज्दै आउँछन् भन्ने मानसिकता अझै पनि विभिन्न संघ संस्था र मानिसहरुमा ब्याप्त छ । तर मकालु टेलिभिजन तथा संयन्त्र डटकममा आबद्द पत्रकार केशु विरही भन्छन् ” पत्रकार राष्ट्रका चाैथाे अङ्ग हुन् ।  याे गरिमामय पेसा हाे । यसकाे महत्व समाजले वुझ्न नसकेकाे अवस्था छ । अर्थात हामीले वुझाउन नसकेकाे पनि हुन सक्छ । त्यसाे वुझ्नेले पनि वुझपचाएका पनि हुन सक्छन् । केही मानिसमा पत्रकारहरुकाे काम भनेकाे कहाँ के के कार्यक्रम छ भनेर खोज्दै हिड्ने हाेकि भन्ने भान छ । सबैले याे वुझ्नु जरुरि छ कि पत्रकार भनेका काम नपाएर काम खाेज्दै हिड्ने बेगारी होइनन् ।  खासगरी औपचारिक कार्यक्रमहरुमा नबोलाएको ठाउँमा पत्रकार जानैपर्छ भन्ने छैन । त्यस्ता अाैपचारिक कार्यक्रममा त मिडियालाई ल्याउने जिम्मा अायाेजककै हाे ।”

साहित्यकार समेत रहेका विरही धेरैजसाे कार्यक्रममा खवर नै नगर्ने खवर गरेकाे कार्यक्रममा पनि उपेक्षाकाे गर्ने गरेकाे वताउँछन् । तर सुरुसुरुमा साथीहरुले भुले हाेलान्, सत्यतथ्यकुरालाई बाहिर ल्याउने मिडियाकाे दायित्व हाे भने जाने गरेकाे तर पछिल्ला समयमा भने अामन्त्रण नगरेका कार्यक्रमलाई अाफूले बहिष्कार गर्ने गरेको उनी बताउँछन् । साथै उनी वेलामा जानकारी नगर्ने कार्यक्रम सुरु भएपछि फाेन गरेर बाेलाउने परम्पराकाे पनि विराेध गर्छन् । उनी यसलाई अायाेजककाे अपरिपक्वता वा असक्षमता हाे भन्न रुचाउछन ।

त्यसो त बेलबारीमा मात्र होइन, सुन्दर हरैचा क्षेत्रमा पनि  सञ्चारकर्मीहरुको खोजी गर्ने र सम्पर्क गर्ने चलन झन् कम छ । गत बर्ष सुन्दरहरैचाका विभिन्न स्थानमा बनाइने  अत्याधुनिक शौचालयको शिलान्यास गर्दा होस वा बिराटचोकमा कर कार्यालय उद्घाटन गर्ने कार्यक्रममा अथवा नगरपालिकाको नगरसभामा नै  बेलबारीमा रहेर कृयाशील झण्डै एक दर्जन सञ्चारकर्मीले निमन्त्रणा पाएनन् । त्यहां अरु धेरैजसो कार्यक्रममा पनि पत्रकारहरुलाइ कार्यक्रमबारे जानकारी दिनुपर्छ भन्ने सोच रहेकोे पाइदैन । बिराटचोकमा एक दुई जना बाहेक सक्रिय र परिचित पत्रकार छैनन् ।