गौरा पर्बमा देउडा गीतमा झुमे यूएईमा कार्यरत नेपालीहरु

  • २५ भाद्र २०७५, सोमबार
  • 323 पटक पढिएको

मान बहादुर के.सी. ‘मुस्कान’ यूएई,

एकमुश्ट स्वागत गर्या हात जोणी सबैलाई
सम्पूर्णको कल्यान गरुन गौरा देबी माई
         भन्ने देउडा गीत गाएर शुरु गरिएको सुदूर पश्चिम सेवा समाज युएईले सुदूरपश्चिमाञ्चलको धार्मिक एवं सांस्कृतिक पर्ब गौराको शुभ अवशर पारेर आयोजना गरेको ‘गौरा पर्ब २०१८’ कार्यक्रम गत ०७ सेप्टेम्बर २०१८ शुक्रबारका दिन दुबई स्थित स्थित एभरेस्ट होटेलमा भव्यताका साथ सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष जयराज जोशीको अध्यक्षतामा अघाडि बढेको सो कार्यक्रम अन्य कार्यक्रमहरु भन्दा अलि बेग्लै देखिन्थ्यो । खादा, ब्याच, सम्मान, प्रमुख अतिथि, रहित सो कार्यक्रमको मुख्य उदेश्य आफ्नो मौलिक सांस्कृति जगेर्ना गर्नु थियो ।

दर्शकहरूको भिडले खचाखच भरिएको हलभित्र औपचारिक कार्यक्रम दिप प्रज्वलन गरी समुद्घाटन गरे पश्चात राष्ट्र र राष्ट्रियतालाई सम्मान गर्दै राष्ट्रिय गानबाट शुरुवात गरिएको थियो भने सांस्कृतिक कार्यक्रम गौरा देबीको पूजा अर्चना गर्दै शुरुवात गरिएको थियो ।

सुदूर पश्चिम सेवा समाज यूएई संस्थापक अध्यक्ष शिवराज जैशीले उपस्थित अथिति तथा सहभागीहरुलाई छोटो मिठो स्वागत मन्तब्य राख्दै गौरा देबीले सबैलाई आशिश दिउन भन्ने भावना प्रकट गर्नु भएको थियो भने अन्तराष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजका वरिष्ठ उपाध्यक्ष लोकेन्द्र बहादुर बम र मध्य पूर्व संयोजक धर्मराज पाण्डेले पनि शुभकामना मन्तब्य राख्दै यसरी सम्पूर्ण सुदूरपश्चिम बाशीहरु सँगै नेपालीहरु एकै ठाउँ जम्मा भएर गौरा पर्बको शुभकामना आदानप्रदान गर्नु पाउदा सार्है खुशी भएको जिज्ञासा राख्दै सेवा मुलुक काम प्रति सुदूरपश्चिम सेवा समाज यूएईले पुर्याएको योगदानको प्रशंसा गर्दै रोजगारीको शिलशिलामा यूएईमा कार्यरत नेपालीहरुका समस्यामा र देशमा हुने आपत्ति बिपत्तीहरुमा सधैं सहयोग गर्दै रहोस् भन्ने भावना ब्यक्त गर्नु भएको थियो, त्यस्तै देउडा गायक तथा सुदूर पश्चिम सेवा समाज यूएईका सल्लाहकार लक्ष्मण अधिकारीले देउडा गीतका टुक्काहरु सुनाउदै सुदूरपश्चिममा मनाउने गौरा पर्बका बारेमा छर्लङ पार्नु भएको थियो ।
यूएईमा कार्यरत कलाकारहरुमा मोहन सिंह ठकुराठीबाट प्रस्तुत गरेको मार्मिक प्रस्तुती देखेर उपस्थित दर्शकका आँखा रसाएका थिए भने सुरज शाह, मनोज भट्ट ‘सानुकाजी’, सागर बोहोरा, रविन कठायत, रोशन पौडेल, पुष्पा भण्डारी भट्ट, पद्मा घिसिङ, सलीना लामाले गरेका एक से एक नृत्यहरु देखेर उपस्थित सबै कम्मर मर्काउदै छमछमी नाचेका थिए, त्यस्तै लक्ष्मण अधिकारी र दीपा नागरीले देउडा दोहोरी गाउदै उपस्थित सबैलाई देउडा खेल्नु वाध्य बनाएका थिए   ।

आफ्नै भेष-भुषाहरु मखमली गुन्यु चोली, तिलहरी, कपालमा डोरी र कम्मरमा पटुकी बाधेर सजिएका महिलाहरु र दौरासुरुवाल, शीरमा टोपी लगाएर सजिएका पुरुषहरु देख्दा यूएईमा नभएर सुदूर पश्चिम कै कुनै एक गाउ-ठाउमा गौरा पर्ब हेरी रहेको जस्तो महशुश हुन्थ्यो ।

सात समुन्द्र पारी प्रबाशमा गौरा पर्बको अवसर पारेर यसरी भेटघाट गरी देउडा खेल्न पाउँदा उपस्थित सबै निकै उत्साहित देखिएका थिए भने बिरुडाको प्रशाद ग्रहण गर्दै सो कार्यक्रममा भएका घमाशान देउडा दोहोरी सँगै छमछमी नाच्नु वाध्य पार्ने एक से एक नृत्य देखेर त्यसै चुप लागेर बस्न नसकि कोहि देउडामा पैतल मिलाउदै थिए, कोहि नाच्दै रमाउदै थिए, कोहि ताली बजाउदै थिए, कोहि सिटि बजाउदै आ-आफ्नो मोबाईलमा तस्बिर र भिडियोहरु बनाउनुमा नै मक्ख देखिन्थे ।

 तीन बर्ष पहिले युएईमा पहिलोपटक  पटक गौरा पर्ब मनाएका थिए ।  सुदूरपश्चिमेलीहरु कार्यरत प्राय सबै देशहरुमा गौरा पर्बको अबशरमा कार्यक्रम आयोजना हुदै आएका छन् । कार्यक्रममा भएको देउडा खेलमा कंचनपुर जिल्लामा बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारलाई न्याय र दोषीलाई कारवाहीको माग पनि गरिएको थियो ।
सोहि कार्यक्रममा पथरिया रोगबाट ग्रसित निर्मला नागरीको उपचार्थमा केहि सहयोग होस् भनि उपस्थित सहयोगी मनहरुले आफुले सक्दो सहयोग गरेर जम्मा गरेको नेपाली रु ५१,९०० ( एकावन्न हजार नौ सय रुपैया ) प्रतक्ष पिडितको हातमा बुझाएईको थियो, भने बैतडी गोकुलेश्वरका क्यान्सर पिडितलाई सहयोग गर्नका लागि पनि रकम संकलन गरिएको थियो ।
दुई चरणमा सम्पन्न भएको औपचारिक कार्यक्रम देउडा गीतका टुक्काहरु सुनाउदै देउडा गायक तथा संस्थाका महासचिब मान बहादुर के.सी. ‘मुस्कान’ले र सांस्कृतिक कार्यक्रम मनोज भट्ट ‘सानुकाजी’ले संचालन गरेका थिए ।
देउडा गीत गाएर दिनको ठीक २ बजे शुरु भएको ‘गौरा पर्ब २०१८ कार्यक्रम’ देउडा गीत गाएर नै साँझ ६ बजे समापन भएको थियो ।

घट्नाको ढाकछोप गर्न्या फन्दामा परीजान
अपराधी, बलत्कारी ठाउँका ठाउँ मरीजान