बक्राहामा निम्तिने विपत्तका सम्भावित कारणहरु

  • २ पुष २०७३, शनिबार
  • 89 पटक पढिएको

इश्वर भट्टराई 

बक्राहा–नूनसरी बाढी प्रभावित क्षेत्रमा पुग्दा बक्राहा नदी अझैं पनि मानवबस्ती क्षेत्रभन्दा माथिल्लो भागमा  छ । तस्विरमा देखिएझैं बर्खाको बाढीले मानव बस्ती क्षेत्र पुरै बगरमा परिणत भएको छ । नदी फर्काउनलाई कुनै प्रयास नभएको देख्दा यसपटक पनि बाढीले ठूलै विपत्त निम्त्याउने संकेत गरेको छ । भरपर्दाे तटबन्ध, बस्तीभन्दा नदीको सतह अग्लो हुनुले बक्राहा बग्ने चुरेदेखि भारतको बोडरसम्म झण्डै ५६ किलोमिटरमा त्रसित बनाउने गरेको छ ।  प्रस्तुत छ बक्राहामा निम्तिने विपत्तका सम्भावित कारणहरू ः
बक्राहा नदीमा थुप्रिएको ढुंगा, गिटी, बालुवा ः
बक्राहा नदीले मधुमल्लामा ढुंगा, गिटी, बालुवा थुपारेको छ । यसरी थुप्रिएको ढुंगा, गिटी, बालुवाले नदीको सतह अग्लो र बस्ती होचो छ । त्यसैकारण पानी तटबन्ध तर्फ हान्निएको छ । पानीको बेगले तटबन्धलाई कमजोर बनाउँदै गएको छ । कमजोर तटबन्धलाई बर्खाको समयमा नदीले भत्काइ कहिले पूर्वी तथा कहिले पश्चिमतर्फ विपत्त निम्त्याउने गरेको छ । नदी नियन्त्रणका लागि कनिका छरेजस्तो बजेट आउने गरेकाले नदी नियन्त्रणको प्रयास सबै निरर्थक सावित भइसकेका छन् ।
 ध्यामे पहिरो ः
रमितेखोला–५ मा रहेको ध्यामे पहिरो सम्भवतः नेपालकै दोस्रो पहिरोमा पर्दछ । झण्डै दुई विगाहा क्षेत्रफलमा फैलिएको यो पहिरोबाट लेदोसहितको ढुंगा, गिटी, बालुवा बग्ने गर्दछ । सो ढुंगा, गिटी, बालुवालाई बुवा खोलाले बक्राहा मिसाउने गर्दछ । जसले गर्दा नदीको सतह अग्लो हुँदै गएको छ ।
 टालटुले मर्मत ः
बक्राहाको तटबन्ध पाँच दशक पुरानो हो । भरपर्दो मर्मतको अभावमा तटबन्ध कमजोर बन्दै गइरहेको छ । पानीको वहावले तटबन्धमा केन्द्रित भएको देखिरहँदा समेत प्लाष्टिकका बोराको भरमा मर्मत र कटान रोकथाम हुँदै आएको छ । जुन वालुवामा पानी खन्याएसावित भयो । स्थानीयवासी दह्रो बाँधको पक्षमा छन् । बक्राहा बाढीपीडित संघर्ष समिति नै गठन गरेर उनीहरूले सरकारलाई दबाब दिँदै आएका छन् । तर, तटबन्ध मर्मतको नाममा बर्सेनि झारा टार्ने काम गरिँदै आएको छ । र, अब पनि यसरी नै भारो टार्ने हो भने आसपासका बस्तीलाई बक्राहाले उठिबास नै लगाउनेछ ।
सरकारको बेवास्ता ः
बक्राहाले बर्सेनि उठिबास लगाउँदै आएको छ, बक्राहाको तटबन्ध खतरामा छलगायत समाचार सञ्चार माध्यमहरूले सम्प्रेषण गर्दै आइरहेका छन् । सरकार तथा सम्बन्धित निकायको चासो बढ्ने गरेको छ, जतिबेला बक्राहाले वितण्डा मच्चाउछ । यसपटक पनि बेलैमा बक्राहा नियन्त्रणका लागि प्रयास थालिएन भने पूर्वी पूर्वीमोरङको मधुमल्ला, हसन्दह, राजघाट, अमरदह, गोविन्दपुरलगायत क्षेत्रमा ठूलै संकट निम्त्यिाउने छ । यसपटक पनि तटबन्ध निर्माण गरिएन भने बक्राहा नियन्त्रणका लागि धेरै ढिला भइसक्नेछ । बाढीको समयमा न त बक्राहाको समस्याको बारेमा हल्ला गरेर फाइदा छ, न त रोकथामको झिँजो प्रयास गरेर नै ।
के बक्राहा बाढी नियन्त्रण होला त ?
यसैसाता सिचाईं मन्त्री दीपक गिरीसहितको सरकारी टोलीले बक्राहा क्षेत्रको निरीक्षण गरेको छ । निरीक्षणका क्रममा मन्त्री गिरीले दुई महिनाभित्र परिणामसहित काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै युद्धस्तरमा काम थाल्न मातहतका निकायलाई निर्देशन दिनुभयो । सरकारले चाह्यो भने त नदीनियन्त्रणमा धेरै थोक गर्न सक्छ । तर, सरकारमा भने इच्छाशक्ति देखिँदैन । मन्त्री आउने र आश्वास दिने तर काम सिन्को नभाचिने पुरानै शैली हो ।
प्रविधिले रातारात उकालो टेकीरहेको विश्वसन्दर्भमा बक्राहा–नूनसरीमा आकाश धमिलो हुने बित्तिकै अब भगवान भरोसा भनेर बस्नुपर्ने बाध्यता छ । यसपटक पूर्वीमोरङ साँच्चै खतरामा छ । मधुमल्ला, राजघाट, गोविन्दपुर, हसन्दह, अमरदह, इटहरालगायतका क्षेत्रमा बक्राहामा बाढी आउनु र कटान गर्नु बर्सेनि बढ्दो छ । खतरा रहेको स्थानमा भरपर्दो रोकथाम मर्मत तथा कटान प्रयास गर्ने इच्छाशक्ति नहुँदा भने पक्कैपनि समस्या नै मान्नुपर्छ ।