संघर्ष, सफलता र समाजसेवाको पर्याय : यी हुन् समाजसेवी सुन्दर श्रेष्ठ

  • २० भाद्र २०७५, बुधबार
  • 1491 पटक पढिएको

 भनिन्छ, जीवन संघर्ष हो । सुन्दरको नाम समाजसेवीका रूपमा सुन्दर अक्षरले लेखिनुमा उनको संघर्षले ठूलो भूमिका खेलेको छ । मोरङको साबिक राजघाट ७ अर्थात् हाल उर्लाबारी ९ का सुन्दर श्रेष्ठले आफ्नो निजी खर्चमा गाउँको विकास गरिरहेका छन् । सडक बत्ति जडान वा विद्यालयमा विविध सहयोग, सुन्दरको नाम सहयोगीका रूपमा जोडिएकै छ । त्यति मात्र नभएर खेलकुद, बाटोघाटो निर्माणमा पनि उनै सुन्दरलाई गुहार्छन् जनताले ।
त्यसो त हामीमाझ चुनाव आएपछि ‘यो गर्छु र त्यो गर्छु’ भन्ने नेताहरुको कमी छैन । सुन्दरले जनताबाट कुनै स्वार्थ नराखी गरिरहेको सेवा एउटा चुनाव सकिएपछि आर्को चुनाव नआएसम्म नदेखिने ती नेता अनुहारहरुको लागि गतिलो झापड नै भएको छ । सुन्दरलाई जान्ने बुझ्नेहरु भन्छन् –उनले गाउँको लागि महत्वपूर्ण सहयोग गरेका छन् । धन पनि मन पनि भएका व्यक्ति हुन्, सुन्दर ।
गाउँको विकास गर्न इच्छाशक्ति र सहयोगी मन भएका व्यक्ति चाहिन्छ । सुन्दरलाई आफ्नै लगानीमा गाउँ सुन्दर बनाउन भ्याइनभ्याइ छ । यो यात्रामा निरन्तर लागि रहने उनको प्रण झन सुन्दर छ ।
सुन्दरले विद्यालयहरुमा सहयोग गर्नेदेखि लिएर गाउँमा सडकबत्ति जडान गरिदिएका छन् । आफ्नै लगानीमा बाटोघाटो निर्माण गरिदिएका छन । विभिन्न समयमा हुने खेलकुलदेखि विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा पनि मन लगाएर सहयोग गरेका छन् । उनी भन्छन् –‘सकारात्मक सोच बोकेर आएका कसैलाई पनि खाली हात फर्काएको छैन ।’
उर्लाबारी ९ को प्रभात निमाविमा उनले मञ्च निर्माण र घेराबारामा सहयोग गरेका छन् । चिटिक्क देखिने विद्यालयमा रङरोगन पनि सुन्दरकै सहयोगमा भएको हो । यस्तै उर्लाबारी ९ कै राजघाट निमाविमा विद्यालयको घेराबारापछि गेट निर्माण गरिदिएका छन् । हाल सोहि विद्यालयका १० जना विद्यार्थीको पठनपाठन खर्च सबै आफै बेहोर्ने भएका छन् सुन्दरले ।
सुन्दरको सहयोग यतिमै सीमित छैन । गाउँको कीर्तन मण्डली मठमन्दिर, खेलकुदमा पनि उनको सहयोग उच्च छ । सुन्दर भन्छन् –‘धन भन्दा पनि मन भएर सहयोग गरेको हुँ । म त्यस्तो धनी मान्छे पनि होइन । यति हो खान लगाउन र समाजमा अलिकति सहयोग गर्न गाह्रो छैन् ।’ हाल उनले आफ्नो गाउँमा एकल लगानीमा बाटो खोलिदिएपछि खेतभित्रसम्म बाटो बनेको छ ।
सुन्दरको यात्रा
घरमा हातमुख जोर्न धौधौ परेपछि २०४९ सालमा किशोर अवस्थामै काठमाडौं हानिएका थिए सुन्दर । खोपीडाँडामा जन्मेहुर्केर काठमाडौंमा ठेक्कापट्टा र हाउजिङ्ग व्यवसाय गरिरहेका श्रेष्ठले गाउँको विकासका लागि लाखौं रूपैयाँ खर्चेका छन् ।
सुरुमा काठमाडौं पुगेर उनले दैनिक ५० रुपैयाँ पारिश्रमिक लिएर ज्यालामजदुरी गरेका थिए । निर्माण क्षेत्रमा ज्यालामजदुरीदेखि मिस्त्री हुँदै ठेकेदार बनेपछि उनको जीवनमा आर्थिक क्रान्ति भएको हो । हाल उनी निर्माण र हाउजीङ्ग व्यवसायमा संलग्न छन् । उनी नहिच्किचाई भन्छन् –‘आज पनि म आफूलाई एउटा लेबर हुँ भन्न रुचाउछु ।’
परालको छानो र सण्ठीको बेरा भएको झुप्रोमा जन्मेहुर्केका सुन्दरको बाल्यकाल चरम आर्थिक अभावमा बितेको थियो । तीन दाजुभाइमध्ये कान्छा उनी पढाईमा असफल भएपछि एसएलसी दिएर काठमाडौं हानिएका थिए । आर्थिक रूपले सवल भएपछिको उनको अनुभवलाई सुन्दरले यसरी सुनाए –‘सुरुमा आफ्नो कमाईले पुरानो झुप्रोको छेऊमा काठको घर बनाएँ । त्यसपछि भक्तपुरमा र खोपिडाँडाको आफ्नै खेतबारीमा पक्की घर बनाएको छु ।’
श्रेष्ठलाई यतिबेला खानलाउन पुग्दो छ । तर उनलाई समाजसेवाप्रति ठूलो लगाव छ । गाउँको विकासमा सदा चिन्तित उनी भन्छन् –‘हाम्रा सन्ततीले हामीले जस्तो दुःख नपाउन् । श्रेष्ठले समाजमा गरेको आर्थिक सहयोगप्रति उनकी आमा भद्रकुमारी र पत्नी सुनिताले पनि खुशी व्यक्त गर्ने गरेका छन् । – तेजेन खड्काबाट