नाटक खेलेर कलाकार बन्दै जनप्रतिनिधिहरु

  • १८ भाद्र २०७५, सोमबार
  • 275 पटक पढिएको

पथरीशनिश्चरे, मोरङ /मोरङको पथरीशनिश्चरे नगरका जनप्रतिनिधिहरु सन्देशमुलक नाटकका कलाकार बनेका छन् ।

नगरपालिकाका महिला जनप्रतिनिधिहरुद्धारा भदौ २१ मा तीजको अवसरमा आयोजित नगरस्तरीय कार्यक्रममा प्रदर्शन हुने ‘घाँटी हेरी हाड निलौं’ नामक नाटकमा उनीहरुले अभिनय गर्नेछन् । सो नाटकमा अभिनयका लागि उनीहरु अभ्यास गरिरहेका छन् ।

त्यहाँ अतिथिको स्वागतका लागि महिला जनप्रतिनिधिहरुबाटै सामुहिक नृत्य समेत प्रस्तुत हुने कार्यक्रम संयोजक अरुणा राईले जनाउनु भयो । उहाँले नगरका महिलाहरुलाई सृजनशील बनाउन उत्साह भर्ने क्रममा यसखाले कार्यक्रम बनाइएको उल्लेख गर्नुभयो ।

भूपेन्द्र तिम्सिनाको लेखन र निर्देशन रहेको नाटकमा कार्यपालिका सदस्य गीता विश्ववकर्मा, नगरपालिका सदस्य सृजना भट्टराई सहितले अभिनय गर्नुहुनेछ । साथमा भूपेन्द्र तिम्सिना, कमला घिमिरे नेपाल, भिष्म न्यौपाने, मेनुका कुलुङ, जानुका आचार्य, टीका लुइटेल र अंकिता कुलुङ रहनु भएको छ । कार्यपालिका सदस्य मैनादेवी फुयाँल आचार्य, निर्मला गदाल, मैनाकुमारी राई लिम्वू, गीता विश्वकर्मा र नगर सदस्य सृजना भट्टराईले स्वागत नृत्य गर्नुहुनेछ ।

नगरको महिला लक्षित कार्यक्रम अन्तर्गतको तीज कार्यक्रममा नाटक, नृत्यका साथै ३० वर्ष उमेर कटेका महिलाहरुको एकल नृत्य प्रतियोगिता र नगरमा रहेका सवै जातजातिको जातीय सांस्कृति प्रस्तुति समेत रहने छ ।