तीज आउन लागिसक्यो, रमझम नै छैन यसपाली

  • १६ भाद्र २०७५, शनिबार
  • 495 पटक पढिएको

 बेलबारी , मोरङ / बिगतका बर्षहरुमा महिनादिन अघिदेखि  तिजको नाममा बिभिन्न संघ संस्थाले दर खाने सहितको  नाच्ने गाउने तथा पाटी भोजको आयोजना गर्न होडबाजी हुने गरेपनि यो बर्ष भने तीज आउन आठ दश दिन मात्रै  बाँकी हुँदा पनि तिजको रमझम देखिएको छैन ।

बिगतका  बर्षहरुमा  महिना दिन अघिदेखि  तिजको रमझम मनाएका संघ सस्थाहरुले यस बर्ष भने भखर मात्रै तिजको रमझममा चासो देखाउन थालेका छन । बेलबारीमा शनिबार एकै दिन दुइ संस्थाले तीज कार्यक्रम गरी तीज मनाएका छन्  । बेलबारी ४ मा रहेको जागरुप टोल बिकास सस्था तथा बेलबारी २ मा रहेको सिंहदेवी  भजन कृतन मन्डलीले छुटाछुटै स्थानमा कार्यक्रम गरी तीज मनाएका छन । तर तीज कार्यक्रम पहिलाभन्दा कम भड्किला देखिन थालेका छन्  ।

त्यसैगरी गत बिहिबार बेलबारीका समाजसेवी प्रताप थापाले पनि आफ्नै घरमा दरखाने सहितको तीज कार्यक्रम आयोजना गरेका छन्  । बेलबारीका चेलीबेटीदेखि धेरै दाजुभाईहरुसहित सैयौंलाई बोलाएर उनले तीज कार्यक्रम गरेका हुन ।  कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि, नेतागण, संचारकर्मी लगायत सैयौंलाई निम्त्याइएको   थियो ।  कार्यक्रममा आमन्त्रित  धेरैले सहभागी भएर थापाले गरेको कार्यक्रमको प्रसंसा गरेका थिए ।

तीज सबैको चाडपर्व हो र यसलाई तडक भडक बिकृति विसंगति हटाउँदै सबैको चाड र मानेर मनाउनुपर्छ र आपसी सदभाब कायम गर्दै समाज परिवर्तनमा सहयोग पुर्याउनुपर्छ भनेर आफुले दर खाने र नाजगान सहित तीज कार्यक्रम आयोजना गरेको थापाले बताए । कार्यक्रममा कांग्रेस नेता महेन्द्र सुबेदी, राजकुमार लिम्बु, साहित्यकार तिला लेकाली, बेलबारी २ का वडाध्यक्ष घनश्याम गौतम, ३ का वडाध्यक्ष योगेन्द्र सुवेदी, शिक्षासेवी डीपी राइ र पुर्व साँसद हर्कमान तामाङ पनि सहभागी भएका थिए । केहीबेर मन्तब्य सहितको अनौपचारिक कार्यक्रम गरिएपछि उपस्थित चेलीबेटीहरु रमाई रमाई नाचेका थिए । आफुले बिगत २५ बर्षदेखि बर्षेनी दर खाने र तीज कार्यक्रम गर्दै आएको थापाले बताएका छन् ।

यसबर्ष बेलबारीमा  दुइ वटा तीज गित छायांकन  बाहेक अन्य कार्यक्रम भएका छैनन्  । बेलबारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीले ‘भडकिलो नबनाई मनाईन्छ तिज’ बोलको गित सार्वजनिक गरेकी  छन भने दुर्गा न्यौपाने रुपाखेतीले  ‘नौ डाँडापारी’ गित सार्वजनिक गरेकी  छन । तीजका गीत सार्वजनिक भएपनि अरु बर्ष महिना दिन अगाडिदेखि चहलपहल गर्ने संघ संस्थाहरुले यसपाली तीज आउन दुइ हप्ताभन्दा कम समय बाँकी हुँदा पनि दर खुवाउने  र भेटघाट गराई नाचगान गराउने कार्यक्रम त्यति गरेका छैनन् ।
यसअघिका बर्षहरुमा मनाईने तिज बिशेष कार्यक्रममा नाच्ने गाँउने मात्रै नभएर भोज भतेर समेत गरेर मनाइने गरीएको थियो । तर यस बर्ष मनाइएका केहि तिजका कार्यक्रम भने भड्किला देखिएका छैनन । महँगा गहरगहना लगाए पनि खानपानका कार्यक्रम भने अहिले देखिएका छैनन । – (उत्तम पोख्रेलको सहयोगमा)