अरु समाजसेवा र राजनीति गरेर पैसा कमाउंछन, म आफ्नो कमाइबाट राजनीति र समाजसेवा गर्छु – हस्त लिवाङ

  • १५ भाद्र २०७५, शुक्रबार
  • 2613 पटक पढिएको

राजनीति, गीत संगीत, चलचित्र निर्माण  र समाजसेवामा सक्रिय बहुप्रतिभाशाली ब्यक्तित्वको नाम हो हस्त बहादुर लिवाङ (लिम्बू) । मोरङ जिल्लाको लेटाङ ७ स्थित एक गाउँको सामान्य परिवारमा जन्मेका लिम्बू अहिले कुनै गाउँ समाजमा मात्रै होईन, विभिन्न रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म परिचित छन् ।  एसएलसीसम्म मात्र पढेका उनले पढाइपछि बिवाह गरेर मोरङकै केराबारीमा बस्न थालेका थिए । त्यस समययता केराबारीलाइ नै आफ्नो मुख्य थलो मान्दै आएका उनी अन्यत्र समेत घर भएपनि  केराबारीलाइ नै आफ्नो घर मान्छन्  । 

हालसम्म विभिन्न खाले गरी करिब आधा दर्जन चलचित्र निर्माण गरिसकेका लिम्बु २०७४ सालमा भएको स्थानीय निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट केराबारी गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवार भएका थिए । स्थानीय चुनावमा विभिन्न कारणले तेस्रो स्थानमा आएको बताउने लिम्बु सो हारबाट अलिकति पनि बिचलित छैनन् । दु:खी गरिब, असहाय, रोगी लगायतलाई आर्थिक सहयोग गरेर एक उदार र सहयोगीका रूपमा प्रख्याती कमाइसकेका लिम्बुले केराबारी लगायतका दर्जनौं संघ संस्थामा लाखौंको सहयोग गरिसकेका छन् । प्रस्तुत छ यिनै बहुप्रतिभाशाली ब्याक्तित्व हस्त लिवाङसंग संयन्त्र डटकमका सम्पादक अम्बिका भण्डारी ले लिनुभएको अन्तरबार्ता :

तपाइंको राजनीतिक यात्रा चाहिँ कसरी शुरु भयो ?

 बिवाह गरेपछि म आफ्नो जन्मथलो लेटाङबाट केराबारी सरेर बसोबास गर्न थालें । त्यसपछि बैवाहिक जीवनका क्रममा २०३६ सालतिर बहुदल पक्षधरबाट  तत्कालीन माले सम्बद्द युवा संगठन केराबारीको अहुवाइ गरियो । त्यसबेला शिव थापा, दिलबहादुर भण्डारी आदि कमरेडहरु सहकर्मी हुनुहुन्थ्यो । साथै नवीन थापा मगर लगायतसंग पनि काम गरियो । यसरी कम्युनिस्ट सिद्दान्तमा लागियो ।

२०३९ सालको चुनावमा मैले तत्कालीन केराबारी गाउँ पन्चायतको वडा सदस्यका लागि चुनाव लडें । त्यसबेला गोबिन्द बहादुर थापा प्रधानपन्च थिए । पन्चायत कालमा राजनीतिक रूपमा सक्रिय नै भइएको थियो तर २०४६ सालमा बहुदल आएपछि कम्युनिस्ट फुटेर माले र एमाले भए । त्यसपछि केही बर्ष निष्क्रिय बसियो । त्यसैक्रममा २०५१ सालमा मेरो घर आगलागी भएर सखाप भयो ।  त्यसपछि मैले भएको घरजग्गा पनि बेच्नुपर्ने अवस्था आयो । त्यही संकटको समयमा २०५२ सालमा म हङकङ गएं ।

त्यसबेला तपाईं राजनीतिबाट पलायन भएर हङकङ पुग्नुभएको हो ?

त्यस्तो होइन । घरमा आगलागी भएर घर न घाटको भएको बेला आफ्नो र परिवारको लागि बाध्यताबस म हङकङ गएको हुं । तर बिदेश गएपनि मेरो आउने जाने क्रम चलिरहन्थ्यो । मैले त्यहाँ रहंदा पनि म तत्कालीन नेकपा माओवादीको एक कार्यकर्ता नै थिएं । त्यसैले मैले  नेपालमा चलेको जनयुद्दका क्रममा पार्टीलाई आर्थिक सहयोग गर्नेदेखि आन्दोलनका धेरै घाइते र पीडित परिवारलाई सहयोग गरें । म २०५२ देखि २०६४ सालसम्म हङकङ रहेपनि बर्षमा एक दुई पटक नेपाल आउँदा पसिना र कमाइको हिस्सा पार्टी र जनताको लागि खर्चेको थिएं  ।

त्यसैले २०६४ सालमा हङकङको बसाईबाट यता आएपछि पार्टीले विभिन्न जिम्मेवारी दिदै आएको छ । त्यही क्रममा मुलुक संघिय संरचनामा गएपछि  २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले याङ्सिला, पाटी, बोगटेनी, सिंहदेवी र केराबारी गाबिस मिलेर बनेको केराबारी गाउँपालिका अध्यक्षका लागि उम्मेदवार बनाएको थियोे ।  पटकपटक चुनाव सारिएको लगायतका कारण तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो तर हार भएपनि मैले पार्टी र जनताप्रति अझै जिम्मेवारी थपिएको महशुस गरेको छु ।

स्त लिवाङले पार्टीमा गरेको योगदानभन्दा पनि पैसा र पहुँचका भरमा केराबारी गाउँपालिकाको अध्यक्षमा टिकट पाएको हो भन्ने टिप्पणी पनि सुनिने गरेको छ, त्यसबारे के भन्नुहुन्छ ?

 

हो, मैले हङकङमा रगत पसिना बगाएर आफ्नो लागि पर्याप्त सम्पत्ति कमाएको छु । यसमा कुनै दुबिधा छैन तर म हङकङ बसेर आएपछि राजनीतिक रूपमा सक्रिय भएको होइन । मैले बिगतदेखि नै पार्टी र जनताको मुक्तिका लागि सकृय रूपमा काम गर्दै आएको थिएं  र छु । त्यसैले मेरो वास्तविकता नबुझेका वा ईष्र्या पालेका कसैले त्यस्तो टिप्पणी गरेका हुन सक्छन् । म केराबारीमा अध्यक्षको उम्मेदवार बन्नु अगाडिदेखि नै पार्टीको संगठित सदस्य थिएं । अहिले पनि म पार्टीको ललितपुर डिसिएम छु तर मैले त्यसलाई मोरङमै सार्ने प्रक्रिया अगाडि बढाइसकेको छु । म यसअघि लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय सदस्य हुँदै केन्द्रिय कोषाध्यक्ष पनि भइसकेको छु ।

नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर नेकपा पार्टी बनेपछि पनि नेपाल चलचित्र संघको केन्द्रिय सदस्य भएको छु ।

अर्को कुरा के हो भने मसंग सम्पत्ति नै थिएन भने न मैले राम्ररी राजनीति गर्न सक्थें न त समाजसेवा नै । त्यसो नहुंदो हो भने म कुनै अनकन्टार गाउँमा हलो जोतिरहेको हुन्थें होला । त्यसैले म जसरी अगाडि बढिरहेको छु, त्यसमा सम्पत्तिको पनि भुमिका होला तर म सम्पत्ति कमाएपछि होईन, हङकङ जानूअघि अझ पन्चायत कालदेखि नै राजनीतिमा लाग्दै आएको मान्छे हुं । अरुले राजनीतिमा लागेर सम्पत्ति कमाउछन । म आफ्नो कमाइले राजनीति गर्छु ।  त्यसैले त्यस्तो टिप्पणी र आलोचनामा कुनै सत्यता छैन । मैले गाउँपालिकामा चुनाव लड्दा निकै खर्च भयो । चुनाव पनि जित्न सकिएन । तर मैले चाहेको भए त्यसपछि भएको प्रादेशिक चुनावमा पनि टिकट पाउन सक्थें तर मैले त्यसो गरिन, किनभने मैले स्वार्थी राजनीति गरेको छैन ।

लगानी गर्न सक्ने क्षमताका कारण पनि म चलचित्र निर्माता भएको छु । तर म सम्पत्ति कमाउन होईन, देश, गाउँ  समाज र जनताको लागि केही योगदान गर्न सकिएला कि भनेर राजनीति र समाजसेवामा लागेको हुं ।

अहिले पनि मेरा छोराछोरी र परिवार कोही हङकङ त कोही युकेमा छन् । मैले चाहेमा आरामले म पनि त्यहाँ गएर बस्न सक्छु तर मुलुकमा रहेर मुलुक र जनताको लागि केही योगदान गर्न सकिएला कि भनेर म आफ्नै देशको माटोमा कृयाशील रहंदा कसैले मेरो नियतमा शंका गर्छ भने त्यस्तालाई मेरो भन्नु केही छैन ।  मैले आफ्नो रगत पसिना बगाएर आर्जन गरेको सम्पत्ति देश, समाज र जनताको हितमा लगाउन पनि नपाउने ?

एउटा गाउँपालिकाको अध्यक्षका लागि चुनाव लड्नु अघि र पछिको अनुभव कस्तो हुदोरहेछ ?

देशभर माओवादी आन्दोलनका शक्तिहरू फुटेर छिन्नभिन्न भएकोे  अबस्थामा मैले टिकट पाएपनि ५ वटा गाबिसहरु मिलेर बनेको केराबारी गाउँपालिका क्षेत्रमा पार्टीको सांगठनिक  अवस्था कमजोर थियो । संघिय संरचनामा जानेबित्तिकै पार्टीले मलाई उम्मेदवार बनाएपछि प्रत्येक वडा र टोल टोलमा संगठन बनाइयो । जब सांगठनिक अवस्था अलि राम्रो बन्यो, बैशाख ३१ गते गर्ने भनिएको चुनावको मिति सारियो । त्यतिमात्र होईन, सारेर जेठ ३१ गते गर्ने भनिएको चुनाव फेरि सर्यो । सार्दा सार्दै  असार १४ मा चुनाव गरिंदा विभिन्न खालका चलखेल भए र माओवादीलाई पाखा लगाउन विभिन्न शक्तिहरु लागिपरे । तर पनि सम्मानजनक नतिजा आयो । संगठन राम्रो नभएको ठाउँमा चुनाव लडेर हारेपनि मलाई गुनासो होईन, गर्बकै मसशुस भएको छ । र अझै जिम्मेवार बन्न प्रेरित पनि गरेको छ ।

अनि तपाईं चलचित्र क्षेत्रमा चाहिँ कसरी लाग्नुभो ?

मैले  गीतहरु पनि लेख्ने गरेको छु । हालसम्म मैले करिब डेढ सय जति गीतहरू लेखेको छु । तीमध्ये करिब ४० वटाजति गीतहरु त रेकर्ड पनि भइसकेका छन्  । त्यतिमात्र होईन, मैले म्युजिक भिडियो सहितका केही एल्बमहरु पनि निकालेको छु र अभिनय पनि गर्छु । मेरा लिम्बु भाषाको गीत समेटिएको हापा चुरुरु (रुन्छु धुरुरु), पुर्वेली लोक भाका ‘लै लै मायालै, ‘सिङ्जाङ्गो फुङ’(असल फुल) एल्बमहरु पहिले नै बजारमा आइसकेका छन् । अहिले पनि ‘सुनको वालैमा’ नामक  एल्बम निकाल्ने तयारीमा छु ।

२०६४ सालमा स्वदेश फर्केपछि गीत संगीत गर्दागर्दै म चलचित्र क्षेत्रमा प्रबेश गरेको छु ।

हालसम्म कतिवटा चलचित्र निर्माण गरिसक्नु भो ?

मैले फिचर फिल्म र अन्य गरी आधा दर्जन चलचित्र निर्माण गरिसकेको छु । ती मध्ये मेरो पहिलो चलचित्र ‘खुर्पा ‘ हो । किशोर सुब्बाको निर्देशनमा बनेको यो फिल्म २०७३ सालमा रिलिज भएको थियोे । हालसालै  चलचित्र ‘रेस ‘ पनि निर्माण भएको छ । हङकङ, युएई, मलेसिया लगायत तेह्रथुममा पनि यसको प्रिमियर शाे भइसकेको छ । तर यो चलचित्र हालसम्म रिलिज भैसकेको छैन । मंसिरमा यो देशभरका हलहरुमा प्रदर्शन हुनेछ ।

त्यसबाहेक मैले सर्ट मुभी र लिम्बू भाषाका चलचित्र पनि बनाएको छु । आफ्नै कथा लेखनमा परदेशी र गाउँघरका कथालाई समेटिएको लघु चलचित्र ‘माङ्घालाजे’ निर्माण सकिएपनि प्रदर्शनमा आएको छैन किनभने यो चलचित्र अमेरिकाको एक अन्तर्राष्ट्रिय अवार्डको लागि पठाइएको छ । त्यसैगरी आफुले समेत अभिनय गरेको चलचित्र ‘अदालत’ पनि  बनिसकेर ट्रेलर सार्वजनिक गरिएको छ । लिम्बु कथानक चलचित्र ‘साम’ (आत्मा) पनि तयार भइसकेको छ । सो चलचित्रको यही भदौ २९ गते शुक्रबार पहिलोपटक पुष्पान्जली हल जडिबुटी (कोटेश्वर) मा प्रीमियर शो हुदैछ । पहिले पाथीभरा फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा चलचित्र बनाउने गरेकोमा अहिले आफ्नै कम्पनी लिवाङ फिल्मस प्रोडक्सन प्रालिको ब्यानरमा चलचित्र बन्न थालेका छन् । निकट भबिश्यमा प्रदर्शनमा आउन लागेको ‘रेस’ यही ब्यानरमा बनेको चलचित्र हो ।

प्रसंग बदलौ, तपाईं एउटा समाजसेवीका रूपमा पनि परिचित हुनुहुन्छ, समाजसेवामा चाहिँ कसरी लाग्नुभो ?

हुन त म समाजसेवी बन्छु भनेर मैले  अरुलाइ सहयोग गरेको होइन । हङकङ रहंदा र स्वदेश फर्केपछि मैले दुखी गरिब, असहाय, रोगीहरुलाइ आर्थिक सहयोग गर्न थालेको हुं । त्यसैले सर सहयोग गर्दागर्दै समाजले मलाई एक समाजसेवीका रूपमा स्थापित गराएको हो । हुन त मैले त्यस्ता सैयौंलाइ सहयोग गरेको छु । अझ दर्जनौं संघसंस्थाहरुलाइ पनि आर्थिक सहयोग गरेको छु । एउटा ब्यक्ति वा संस्थालाई मैले ५ हजारदेखि १ लाख १८ हजारसम्म सहयोग गरेको छु । हुन त सहयोग गरेको सबैजसो रेकर्ड मैले राखेको छु । तर हालसम्म कतिजना ब्यक्ति वा कति संघसंस्थालाई सहयोग गरियो भन्ने कुरा ठ्याक्कै भन्न सक्दिन । मैले सहयोग गरेका रसिद र अन्य कागजातले मेरो दराजको एउटा कोठा भरिएको छ । त्यसैले समाजका लागि   लाखौं सरसहयोग गरेको छु ।

सहयोग माग्न आएका मात्र होईन, आफैंले सहयोग गर्नुपर्ने जस्तो देखेका ठाउँमा आर्थिक सहयोग गरेको छु । सकेसम्म सहयोग माग्ने कसैलाई पनि खाली हात पठाएको छैन ।

घमण्डी, बेइमान र दादागिरी मलाई पटक्कै मन पर्दैन । त्यसैले सहयोग गर्नुपर्ने र अन्यायमा परेकाहरुलाइ सहयोग गर्न पाउँदा आनन्दित हुन्छु । तर मैले कुनै स्वार्थ हेरेर सहयोग गर्ने होईन । त्यसैले हालसम्म कति जनालाई र कति सहयोग गरिसकियो भनेर हिसाब गर्न धेरै गाह्रो छ ।

हङकङ बस्दाको कमाइ मात्रै हो कि अरु कमाइको माध्यम पनि छ अहिले ?

मेरो मुख्य कमाइ त पहिले हङकङमा बगाएको रगत पसिना नै हो । २०५२ सालमा हङकङ गएपछि करिब १ बर्षसम्म त मैले २४ घण्टा नै काम गरें । त्यसबाहेक मैले  दश बाह्र बर्षे बसाइमा गरेको दुख पनि कम पिडादायी छैन । तसर्थ मैले धेरै रगत पसिना बगाएर सम्पत्ति आर्जन गरेको छु ।

मेरो लेटाङ, केराबारी, धरान र ललितपुरमा पनि घर छ । मैले हङकङ रहेको बेला मेरा छोराछोरी र सन्तानमध्ये कसैलाई हङकङ त कसैलाई युकेमा पुर्याएको छु ।

तर अहिले म बर्षमा एक दुइपटक त्यसमा पनि एक दुई हप्ताको लागि मात्रै  हङकङ जान्छु । त्यसैले अहिले मेरो आफ्नो ठूलो कमाइको स्रोत नभएता पनि आर्थिक समस्या पर्ने अवस्था पनि छैन ।

राजनीति र समाजसेवा त निरन्तर रहन्छ नै तर त्यसको लागि आफ्नो कमाइ खर्च गर्नुपर्ने भएकोले मैले अहिले चलचित्र क्षेत्रलाई ब्यबशाय बनाउन थालेको छु । मैले चलचित्र निर्माण गर्नुको उद्देश्य पनि त्यही हो । अहिले मैले लिवाङ फिल्म प्रोडक्सन प्रा.लि. नामक कम्पनी स्थापना गरिसकेको छु । त्यसैले अब यो एउटा ब्यबशायको रूपमा स्थापित हुने क्रममा छ ।

तर हालसम्म तपाईंले बनाएका चलचित्र त्यति सफल देखिदैनन् नि ?

त्यस्तो पनि होइन । म पैसा मात्रै कमाउने उद्देश्यले चलचित्र क्षेत्रमा लागेको होइन । आफ्ना कला, संस्कृति, रितिरिवाज,  रहन सहन, आदिको संरक्षण र संबर्धन गर्न र बिकृती बिसंगती हटाउन पनि म यस क्षेत्रमा लागेको हुं । पैसा मात्रै कमाउन भए त म उतै बसिहाल्थें नि । त्यसैले बिदेशमा आर्जित साधन स्रोत आफ्नो सीपलाइ स्वदेशमा लगाएर देश र समाजको लागि केही गर्ने नै मेरो लक्ष्य हो । यसमा म सफल भएको पनि छु ।

तर एउटा सत्य कुरा के हो भने मैले पनि फाइदा लिने उद्देश्यले नै चलचित्र बनाएको हुं । चलचित्र सफल हुंदा धेरै कमाइ मात्र हुदैन, लाखौं माझ चलचित्रले दिन खोजेको सन्देश पुग्छ । त्यसले निर्मातालाई उत्प्रेरित पनि गर्छ । मैले  निर्माण गरेका फिचर चलचित्र मध्ये ‘खुर्पा’ ले नाफा दिन नसके पनि खर्च उठाएको थियोे । अर्को चलचित्र ‘रेस’ प्रदर्शनमा आइसकेको छैन । त्यसैले मैले बनाएका चलचित्र सफल / असफल भएको भनेर मुल्यांकन गर्ने बेला आइसकेको छैन । निरन्तर लागिरहेपछि एक दिन अबश्य सफल भइन्छ भन्ने मेरो बुझाइ छ ।

अन्त्यमा केही भन्नुछ कि ?

अन्त्यमा मेरा भोगाइ, अनुभव र बिचार राख्ने अबसर दिनुभएकोमा संयन्त्र मिडिया प्रा.लि. को सिङ्गो टिम सहित संयन्त्र डटकम र संयन्त्र त्रैमासिक पत्रिकालाई आभार व्यक्त गर्दछु । साथै केराबारीका जनता, चलचित्रकर्मी, मलाई चिन्नुहुने मेरा शुभचिन्तक र देश बिदेशमा रहनुभएका सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा यसै संयन्त्र डटकम मार्फत मेरो अन्तरवार्ता पढेर मलाई हौसला दिनुहुनेछ भन्ने बिश्वासका साथ  धन्यवाद ज्ञापन गर्दछु ।