शरणार्थी शिविरको खानेपानी पिउन पाउने पाए नजिकैका गाउंलेले पनि

  • ८ भाद्र २०७५, शुक्रबार
  • 287 पटक पढिएको

पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे १० मा भूटानी शरणार्थीका लागि व्यवस्थापन गरेको खानेपानी वस्तीमा समेत वितरण हुने भएको छ ।

शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) मार्फत लुथरन विश्व फेडेरेशनले शनिश्चरे शिविरमा रहेको खानेपानी नजिकको वस्तीमा विस्तार गर्ने सम्झौता गरेको छ ।

नगरपालिका कार्यालयमा शुक्रबार आयोजित  एक कार्यक्रमकाबीच यृूएनएचसीआरकी दमक प्रमुख अन्ना फेलोसी, लुथरनका पूर्वाञ्चल प्रमुख राजेन्द्रकुमार राउत, नगरपालिका प्रमुख दिलिपकुमार राई र खानेपानी उपभोक्ता समिति अध्यक्ष चन्द्र तामाङबीच सम्झौतापत्र आदान प्रदान भएको छ ।

शिविरमा रहेको खानेपानी ट्याङ्कीबाट त्यसभन्दा दक्षिण र पश्चिमका वस्तीमा पानी विस्तारका लागि ३५ लाख ५३ हजार ७ सय ३४ रुपैयाँको लागतमा पाइप विस्तार सहित मर्मत संहारको काम गर्ने सम्झौतामा उल्लेख छ । जसमध्ये नगरपालिकाको तर्फबाट ११ लाख ४३ हजार ७ सय २८ रुपैयाँ व्यहोरिने जनाइएको छ । त्यहाँ ४ हजार ८ सय ७९ मिटर पाइप विछ्याइने छ । डिसेम्वरभित्र सो काम सम्पन्न हुनेछ ।

शिविरमा १ लाख ७० हजार लिटर क्षमताका २ ट्यांकी छन् । २४ हजार जनसंख्याबाट तेस्रो मुलुक पुनर्वास भएपछि शिविरमा हाल १ हजार ४ सय शरणार्थी मात्रै रहेका छन् । उनीहरुबाट उव्रिनगएको पानी वस्तीका ७ सय घर परिवारका लागि वितरणको योजना बनाएको लुथरनका क्षेत्रीय प्रमुख राजेन्द्रकुमार राउतले उल्लेख गर्नुभयो ।

त्यसपछि आयोजित कार्यक्रममा लुथरनले पथरीशनिश्चरे १ स्थित पञ्चायत माविका लागि ११ लाख ८४ हजार २ सय ४८ रुपैयाँ बराबरको लागतमा कक्षाकोठा निर्माण गरिदिने सम्झौता समेत भएको छ ।