गल्फका नेपालीले एनआरएनलाई हेर्ने दृष्टिकोणमा ठुलो परिवर्तन ल्याईसकेका छौं – भुसाल

  • ७ भाद्र २०७१, शनिबार
  • 57 पटक पढिएको

गैर आवासीय नेपाली संघ यूएईका अध्यक्ष कृष्ण प्रसाद भुसालसंग एनआरएनए आइसीसी मिडिया टास्कफोर्स सदस्य उत्तम अधिकारीद्वारा लीइएको अन्तरवार्ता :

  • यूएईमा एनआरएनएको मुभमेन्ट कस्तो छ, यहाँ रहेका नेपालीहरुको निश्वास कत्तिको आर्जन गरेको छ एनआरएनए यूएईले ?

धेरै कुरा गर्न चाहदा चाहदै र महसुस हुँदा पनि गर्न सकिएको छैन । तर एनसिसि यूएई मातहतका बिभिन्न क्षेत्रीय कमिटिहरु सक्रियताका साथ लागिपरेका छन् । दुबई, आबुधाबी, फुजिराह, रासअलखेमा लगायत कमिटीहरु चलायमान अवस्थामा रहेका छन् । हामीले गएको कार्यकालमा अनुमानित ६२ लाख लगानीमा इन्डोर क्रिकेट ग्राउण्ड बनाउन जर्सी अभियान संचालन गर्यौं । यूएईमा अनिस खालिंग राई बचाऊ सचिवालय एनआरएनकै संयोजकत्वमा गठन भयो र रकम संकलन कार्य सकियो । हामीले सिन्धुपाल्चोकका बाढी पिडित नागरिकका लागि यूएईबाट सहयोग संकलनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरेका छौं । काठमाडौँमा बन्ने एनआरएनए आइसीसीको भवन निर्माणको लागि रकम संकलन अभियान अन्तरगत २ लाख जम्मा गराइसकिएको छ भने बाँकि संकलन गरिदै छ । समय समयमा जनमानसलाई आकर्षित गर्ने खालका केन्द्रिय र क्षेत्रीय स्तरका बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेका छौं । अचेत अबस्थामा रहेका बुद्धि बहादुर कार्कीको बालबच्चाको सहयोगार्थ, पनौतीमा रहेको सामुदायिक पुस्तकालय भवन निर्माण सहयोगार्थ र चितवनको सहाराको घरमा रहेका केटाकेटीको शिक्षा दीक्षाका सहोगका लागि दुबई कमिटीले आर्थिक सहयोग गरेको छ । अन्य क्षेत्रहरुले पनि यथासक्य बिभिन्न क्षेत्रमा आर्थिक सहयोग उपलब्ध गराएका छन् 

हामीले बिभिन्न समस्यामा अल्झिएका नेपालीहरुलाई बिगत देखि नै निरन्तर रुपमा सहयोग गर्दै आइरहेका छौं । यूएईमा हामीले नेपालीहरुको बीचमा राम्रो भूमिका निर्वाह गरेकै कारण बिगतमा भन्दा अहिले एनआरएनलाई आफ्नो ठान्ने र यसमा आबद्ध हुनुपर्छ भन्ने भावनाको बृद्दी भएको मैले पाएको छु । यहाँका अधिकाम्स बैचारिक, सामाजिक, क्षेत्रीय तथा जातीय संस्थाहरु पनि अहिले एनआरएनप्रति आकर्षित भएको र यसलाई सबैको साझा चौतारीको रुपमा हेर्ने बातावरण बनेकाले हामी धेरै भन्दा धेरै नेपालीको बिश्वास जित्ने क्रममा छौं जस्तो लाग्छ । तर जति हामी यहाँका नेपालीहरुबीच पुगिसक्नु पर्थ्यो त्यति पुग्न नसकेको यथार्थतालाई पनि हामीले स्विकार्नु पर्छ ।

बिगतमा एनआरएन भनेको धनिहरुको मात्रै संस्था हो र यो युरोप अमेरिकावासी नेपालीहरुले दोहोरो नेपाली नागरिकता कायम गराउनका लागि मात्रै स्थापित भएको संस्था हो भन्ने जुनखाले मानसिकता जनमानसमा रहेको थियो त्यसलाई हामीले यस अबधिमा चिर्न सफल भएका छौं । स्थानीय समस्याहरु समाधानका लागि एनआरएनले अग्र पंक्तिमा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने मान्यता यसबीचमा स्थापित भैसकेको छ । त्यसकारण मलाई लाग्छ हामी यूएईका नेपाली समुदायको बिश्वास जित्दै आफ्नो पहिचान स्थापित गर्दै अघि बढ्दैछौं ।

 

  • खाडी क्षेत्रमा रहेका नेपालीहरु श्रमिक हुन् जो केहि समय पश्चात नेपाल फर्कन्छन । त्यसैले यस क्षेत्रमा कार्यरत श्रमिक एनआरएन होइनन् भन्ने आवाज पनि ठुलो रुपमा उठ्ने गरेको छ र यहाँका नेपालीहरुले एनआरएन प्रति खासै चासो नदेखाउनुले पनि यो प्रष्ट हुदैन र ?

हो, हामी मध्यपूर्वमा बस्ने नेपालीहरु श्रमिक नै हौ । युरोप अमेरिका जस्तो स्थायी बसोबासको लागि अधिकार प्राप्त गर्ने प्रावधान छैन यहाँ । तर हामी नेपालीहरुले रोजगारकै क्रममा पनि यस क्षेत्रका राष्ट्रहरुमा २०-२५ बर्ष बिताउने गरेका छौं, यस्ता थुप्रै उदाहरण छन् । जबसम्म हामी बलियो संगठनमा आबद्ध हुदैनौ तबसम्म आफ्ना समस्याका बारेमा सम्बन्धित निकाय सम्म आफ्नो माग र आवाज पुर्याई आफुलाई स्थापित गर्न सक्दैनौ । नेपाल सरकारले बिदेशमा बस्ने नेपालीलाई हेर्ने दृष्टिकोण र गैर आवासीय नेपाली संघको बिधानको परिभासाले नै सार्क राष्ट्र बाहेकका देशमा बस्ने नेपालीहरु एनआरएन हुन् भन्ने स्पष्ट उल्लेख गरिसकेकाले यस क्षेत्रमा बस्ने नेपाली एनआरएन होइनन भन्ने कुरालाई म मान्दिन । हामी गैर आवासीय नेपाली हौँ तर युरोप र अमेरिकी राष्ट्रका नेपाली भन्दा भिन्न परिश्थिति, परिवेस र समस्याहरु हाम्रा अगाडी छन् । संगठनमा आबद्ध भएर यहाँ कार्यरत नेपालीहरुको समस्यालाई सिंगो संगठनको तर्फबाट निराकरण गराउनका लागि हामी निरन्तर प्रयत्नरत छौं र धेरै मात्रामा हामीले यस बिषयमा प्रगति हासिल पनि गरिसकेका छौं ।

  • तीन लाख भन्दा धेरै नेपालीहरु रहेको यूएईमा जम्माजम्मी एक हजार जनाले मात्रै एनआरएनको सदस्यता लिनुलाई कसरी हेर्नुहुन्छ ?

हामीले संगठनलाई जुन किसिमले परिचालित र बिस्तार गर्न सक्नु पर्थ्यो त्यो हुन नसकेको सत्य हो । हजारौंको संख्यामा लेवर क्याम्पहरुमा बस्ने र दुर दराजमा बस्ने नेपालीहरु बीच हामी पुग्न नसकेको तथा संगठनको महत्व दर्शाउन नसकेको पक्कै हो । गैर आवासीय नेपाली संघ बिदेशमा बस्ने तमाम नेपालीहरुको एउटा त्यस्तो संगठन हो जसको मध्यमद्वारा हामीले विश्वभर सामना गरिरहेका चुनौती र समस्याको गहिराई सम्म पुगेर समाधानका लागि उचित व्यवस्था गर्न सक्छौं र अवसरहरुलाई नियाल्दै त्यसलाई प्राप्त गर्न समेत सक्दछौं । तर गल्फ क्षेत्रमा रहेका धेरै नेपालीहरु संगठनमा आबद्ध हुने इच्छा हुँदाहुँदै पनि यहाँको ड्युटी गर्ने स्थानीय नियम कानुनका कारण, छुट्टी नमिल्ने कारण, दैनिक ८-१० घण्टा काम गर्नुपर्ने तथा काम गर्ने स्थान र बासस्थान टाढा टाढा हुँदा हुनेगरेका समय अभावका कारणले गर्दा संगठनमा सक्रिय रुपले समाहित हुन नसकेको यथार्थ हो । जे जसरी यहाँ अधिक शारीरिक परिश्रमयुक्त क्षेत्रमा कार्यरत श्रमिक बीच हामी पुग्नु पर्थ्यो त्यहाँ पुग्न नसकेकै हो तर त्यसका पनि कारणहरु छन् । अभियान संचालन गर्न आर्थिक अभाव, ड्युटी गरेर बचेको समयले संगठन संचालन गर्नुपर्ने हुँदा यथेष्ट समयको अभावका कारण बिशेष क्याम्पेन चलाउन नसक्नुले गर्दा केहि समस्या आएका पनि छन् । तर हामी हिजोको तुलनामा हेर्ने हो भने धेरै फैलिरहेका छौं । हिजोका दिनमा गल्फ क्षेत्रका नेपाली एनआरएन होइनन् भन्दै बिरोध गरि हिड्नेहरु पनि आज आएर समस्या समाधानका लागि एनआरएन आवस्यक छ भन्दै वकालत गर्दै हिडेका र स्थानीय समस्यालाई एनआरएनले बढी संबेदनशीलताका साथ उठाउनु पर्ने सुझाव प्रस्तुत गर्ने गरेकाले हामी खुम्चिएको भन्न मिल्दैन । हामीले यस क्षेत्रमा कार्यरत नेपालीको एनआरएनलाई हेर्ने सोचमा ठुलो परिवर्तन ल्याइसकेका छौं ।

  • एनआरएनले आफ्ना मौलिक अभियानाहरुलाई छोडेर नेपाली समाजले गर्ने गतिविधिमै आफुलाई सिमित राख्ने गरेको गुनासाहरु सुनिन्छ नि, तपाईंलाई के लाग्छ ?

मौलिक अभियान छोडेको भन्ने कुरा म स्विकर्दीन । एनआरएन सबै प्रवासी नेपालीहरुको साझा संस्था भएकाले समस्यामा परेका व्यक्तिबाट आउने गुनासालाई हामी सामाजिक प्राणी भएकाले नाताले पनि त्यतिकै छोड्ने वा वास्ता नगर्ने कुरा पनि आउदैन । त्यसरी समस्या लिएर आउने नेपालीलाई यो बैचारिक संस्थाले गर्ने, सामाजिक वा जिल्लागत संस्थाले गर्ने, जातिगत संस्थाले गर्ने काम हो हामी गर्दैनौं भनेर पन्छाउन मिल्दैन । हामीले जहाँ जहाँबाट सक्छौं त्यहाँ त्यहाँबाट सक्नेसम्मका साना-ठुला सबैखाले समस्या समाधान गर्न निरन्तर पहल गरिरहेका छौं । यसबाहेक आइसीसी बाट प्राप्त हुने निर्देशन अनुसारका कार्यक्रम र अभियानहरु पनि हामीले संचालन गर्दै आइरहेका छौं । यस अर्थमा मूल मुद्धा वा अभियानबाट पन्छिएको भन्न मिल्दैन भन्ने कुरा म यहाँहरुको यसै अन्तर्वार्ता मार्फत मार्फत यस क्षेत्रमा रहनु भएका तमाम नेपालीहरुमा बाड्न चाहन्छु ।

  • नेपाली संघसंस्थाले बिभिन्न अभियानको शुरुवात तामझामका साथ गर्ने तर धेरैजसो अभियानलाई ब्यबस्थित रुपले सम्पन्न गर्न नसकेका थुप्रै उदाहरण छन् । एनआरएन यूएई पनि यसबाट अछुतो रहेको छैन । किन यस्तो हुने गर्दछ ?

अभियानहरु अल्पकालीन र दिर्घकालिन हुन सक्दछन । तपाईंले एनआरएन यूएईको क्रिकेट इन्डोर प्राक्टिस ग्राउण्ड निर्माण सहयोगार्थ संचालित क्रिकेट टिमको जर्शी अभियानलाई इंगित गर्न खोज्नु भएको भए यो अभियान अघिल्लो कार्यकालमै शुरु गरिएको हो । अहिलेका मध्यपूर्व संयोजक चन्द्र रोकाहा जी, जो त्यतिबेला एनआरएन यूएईको अध्यक्ष हुनुहुन्थ्यो उहाँले अधिबेसन अगावै उक्त अभियान चाहिं आफ्नै संयोजकत्वमा अघि बढाई सम्पन्न गर्छु भन्ने इच्छा देखाउनु भएकाले रोकाहा जी कै संयोजकत्व रहने गरी एनआरएन यूएई भित्रकै केहि र कमिटी बाहिरका केहि साथीहरु सम्मिलित एक समिती बनाइएको थियो । त्यसकारण उक्त अभियान सोहि समितीले हेरिरहेको छ ।

त्यसैगरी अनिश खालिङ राईको बिषयलाई कोट्याउनु भएको हो भने यस बिषयमा हामीले गरेका प्रयासहरुको सफलता वा असफलताको जस वर्तमान कमिटी र नेतृत्वको हिसावले मेरो जिम्मा ठहर्छ नै । हामीले कतिपय प्रसंगमा समयको उचित पर्खाई गर्ने पर्ने रहेछ । यस सन्दर्भमा हामीले यूएईबाट पैसा संकलन गर्ने, एकत्रित गर्ने, नेपालमा रहेको अनिस बचाऊ समितिमा पठाउने, त्यहाँबाट अदालतले तोकेको रकम नेपालका सम्बन्धित निकायको प्रकृया पुरा गरी यूएई दुतावास झिकाउने लगायत कार्यमा निकै नजिक रही काम गर्यौं । दुतावासबाट पैसा अदालत बुझाउने क्रममा उक्त रकम अन्यत्रबाटै चुक्ता भइसकेको पाइयो जुनकुराको बिभिन्न मिडिया मार्फत पनि बाहिर आइसकेको छ । विश्वभरबाट यस अभियानमा संकलित ३ करोड १९ लाख भन्दा बढी रकम बिदेशमा रहेर दुख पाएका नेपालीहरुलाई अनिसकै नामबाट कोष स्थापना गरी सहयोग गर्ने कुरामा अनिस बचाऊ समिती नेपालका अध्यक्ष समेत तयार हुनुहुन्छ, हामी अहिले निरन्तर सम्पर्कमा रहेका छौं । तर जबसम्म अनिस जेलमुक्त हुदैनन् र सकुसल नेपाल फर्कने वातावरण बन्दैन तबसम्म यस बिषयमा हामी धैर्य गरौँ भन्ने उहाँहरुको धरणा रहेको छ । अनभिज्ञताका कारण घटना हुनगई अदालतले २ लाख दिर्हाम ब्लड मनि तोकेको यूएईमै कार्यरत नेपाली थमबहादुर कुँवरको सहयोगका लागि उक्त रकममध्येको आवस्यक रकम प्रयोग होस् भन्ने एनआरएन यूएई, अनिसको लागि यहाँ गठित सचिवालय र व्यक्तिगत रुपमा मेरो पनि इच्छा हो जसको लागि हामी प्रयासरत छौं ।

एनआरएन भवन निर्माणतर्फ तपाईंले संकेत गर्नुभएको हो भने हामीले प्रतिबद्धता गरेको ३ लाख रुपैया मध्ये २ लाख रुपैया संकलन भएर बुझाइसकिएको छ । मध्यपूर्व संयोजकले बहराइनमा भएको क्षेत्रीय भेलामा ५ लाख घोषणा गरेको जानकारी गराउनु भएको छ । प्रतिबद्धता गरीए बमोजिमको रकम हामी उपलब्ध गराउनेछौं । हामी यहाँ सबै रोजगारीमा संलग्न भएको र ठुलो संख्यामा थोरै तलब बुझ्ने ठाउँमा संगठन संचालन गर्दै गरेकाले अन्यत्र भन्दा केहि बढी समय लाग्नु स्वाभाविक हो । भवन निर्माण कार्य पनि तत्कालै शुरु भएर चाडै सम्पन्न नहुने हुँदा हामी आफ्नो लक्ष्य पुरा गर्छौं ।

तपाईंले संस्था दर्ताको लागि हामीले गरेका निर्णयतिर पनि प्रश्न गर्नुभएको जस्तो मलाई लग्यो । यस सदर्भमा हामीले शुरु तिरैका बैठकमा बरिष्ट उपाध्यक्ष बिकाश अधिकारीको संयोजकत्वमा एक समिती बनाएका हौँ । यसका लागि उक्त समिती कृयाशील छ । यो प्रकृयामा सबै नेपाली संघ संस्थाले साथ दिनुपर्ने र सबैको बिगत देखिका गतिबिधि उल्लेख हुनुपर्ने लगायतले गर्दा समय लाग्ने नै भयो । भर्खरै फिलिपिन्सको कम्युनिटीको एउटा क्लब दर्ता भएको छ । उक्त कम्युनिटी संग पनि समन्वय र परामर्श गरी के कस्ता प्रावधान छन् सो अनुसार अघि बढ्न सल्लाह लिनुपर्ने अवस्था छ । यो लामो प्रकृयाको कुरा भएकाले यहि कार्यकालमै हुन्छ भन्ने अवस्था पनि छैन तर प्रयास ठुलो कुरा हो, हामीले प्रयास गरेका छौं । ढिलोचांडो यसले मूर्तरुप पाउने आशा गरौँ ।

  • यूएईमा प्रतिदिन नेपाली श्रमिकहरुको संख्या बढेसंगै समस्याहरु पनि थपिंदै गएका छन् । यस्ता समस्या समाधानका लागि एनआरएनए यूएईले कुनै ठोस योजना बनाएको छ कि ?

मध्यपूर्वमा रहेका नेपालीहरुलाई अप्ठेरो परेको बेलामा सहयोग गर्ने उद्देस्यका साथ एनआरएनए आइसीसीले एक कोषको स्थापना गरेको छ । त्यसमा अध्यक्ष शेष घलेले १ करोड सहयोग गरिसक्नु भएको छ । उक्त कोषमा मध्यपुर्वका एनसिसिहरुले अभियानकै रुपमा सकेसम्मको रकम थपेर कोष वृद्धि गर्नेतिर लागिरहेका छौं । एनसिसि यूएईको हकमा चाहिं हामीसंग आर्थिक अभावका कारण सहयोगको दिर्घकालिन योजना बनाउन सकिएको छैन । नेपालीलाई आइपरेका समस्या तत्काल समाधानका लागि हरतरहले सहयोग गरि नै रहेका छौं तर आर्थिक सवलता बिना योजनाबद्ध तरिकाले सहयोगको आधार  तयार गर्न चाहिं अलि कठिन हुने महसुस गरिएको छ । हामीले एनसिसि यूएईको आर्थिक कोष वृद्धिका लागि केहि कार्यक्रम पनि आयोजना गरियो तरपनि आशातित सफलता प्राप्त भएनन् । अझै बिबिध कार्यक्रम ल्याएर कोष वृद्धिका लागि हामी क्रियाशील छौं ।

  • तपाईं अध्यक्षमा निर्वाचित भएपछी बितेको एक बर्षको अवधिलाई फर्केर हेर्दा कसरी मुल्यांकन गर्नुहुन्छ ?

यहाको स्थानीय नियम कानुन, सामाजिक परिवेस, संस्थाको आर्थिक अवस्था, सामाजिक कार्यका लागि खर्चिन सक्ने समय जस्ता कुराहरुलाई मध्यनजर गरेर हेर्दा बितेको एक बर्ष हाम्रा लागि उपलब्धिपूर्ण र राम्रो रहेको ठान्दछु । म केहिसमय अघि मात्रै काठमाडौँमा रहंदा युरोप, अमेरिका लगायत मध्यपूर्वकै अन्य एनसिसि र आइसीसीका साथीहरुले पनि बिभिन्न कार्यक्रम र छलफलका क्रममा बिगतको तुलनामा अहिले एनसीसी यूएईले निकै रचनात्मक र सर्हानिय कार्य गरेको बताउनु भएको जानकारी पाएँ । एनसीसी यूएईप्रति सबैको सद्भाव रहेकाले अझै शसक्त भएर लागिपर्न सुझाव पनि सोहि क्रममा बिभिन्न एनआरएनए अभियन्ताहरुबाट प्राप्त भएको छ । हामीले गर्नुपर्ने र गर्न चाहेका थुप्रै कामहरु बाँकि रहंदा रहँदै पनि साथीहरुबाट प्राप्त प्रशंसनीय र सकारात्मक टिप्पणीले गर्दा अझै जिम्मेवारी थपिएको मैले महसुस गरेको छु ।

  • यूएईको नेपाली दुतावास र यहाँ क्रियाशील अन्य नेपाली संघसंस्थासंग एनआरएनए यूएईको आपसी सम्बन्ध कस्तो छ ?

दुतावास र एनआरएनए यूएई बिचको सम्बन्धको कुरा गर्दा म के स्मरण गराउन चाहन्छु भने बिगतमा दुतावास भित्र एनआरएन भनेर प्रवेश गर्न पनि हिच्किचाउनु पर्ने अवस्था थियो । केहि अघिसम्म खासगरी पुर्व राजदुत अर्जुन बहादुर थापाको समयमा दुतावास र एनआरएनएले एक अर्कालाई शत्रुतापूर्ण रुपले हेर्ने परिस्थितिको श्रीजना भएको थियो । मेरो नेतृत्वमा नया कार्यसमिति बन्ने बित्तिकै मैले राजदुत धनन्जय झा ज्यूसंग भेटेर परामर्श गरें । यहाँहरुलाई थाहै छ हाम्रो पुरानो कमिटीले मेरो नेतृत्वमा गठित नया कमिटीलाई औपचारिक बुझबुझारथको कार्यक्रम दुतावास भवनमै राखिएको थियो । सोहि समयदेखि अहिलेसम्म दुतावाससंग हाम्रो सुमधुर र मित्रतापूर्ण सम्बन्ध रही आएको छ । राजदुत झा देखि दुतावासका सबैबाट आवस्यक सहयोग प्राप्त हुदै आइरहेको छ ।

यहाँका सबै नेपाली संघसंस्था र समाजसेवीहरु संग पनि हामीले राम्रो मित्रतापूर्ण व्यवहारको बिकाश गरेका छौं । हिजो एनआरएनएबाट अलग बसेका साथीहरु पनि अहिले आकर्षित भैरहनु भएको छ र बिशेष चासो देखाईरहनु भएको छ । यहाँका सबै संघसंस्थाहरुले एनआरएनए युएइलाई माया गर्नु भएको छ, सद्भाव प्रदर्शन गर्नु भएको छ । हामीले पनि यस बिचमा सबैको बिश्वास जित्ने आधार खडा गरेका छौं ।

  • एनआरएनए यूएईको अध्यक्षका हैसियतले तपाईंले नेपाली श्रमिकहरुको समस्यालाई नजिकबाट बुझ्ने प्रयास गर्नुभएको होला । यूएईमा नेपाली श्रमिकहरुले भोगेका र भोगिरहेका समस्याहरु चाहिं के के रहेछन त ?

समस्याको कुरा गर्दा सर्वप्रथम त नेपालबाट त्यहाँका म्यानपावर कम्पनीले एक किसिमको आकर्षक समझौता गरेर कामदार पठाउने तर यहाँ आएपछि उक्त सम्झौता अनुसारको तलब तथा सेवा, सुबिधा प्राप्त नभएको, तोकिएको भन्दा फरक किसिमको काम र धेरै समय काम गर्नु परेको प्रशस्तै भेटिएको छ । ट्याक्सी चालकको रुपमा कामदार पठाउदा यहाँको केहि कम्पनीले ६ महिना भन्दापनि बढी समय कोठामै बस्न लगाएको, लाइसेन्स, रोड टेष्टका लागि अत्याधिक समय प्रतिक्षा गराउन लगाएको भेटिएको छ । केहि स-साना कम्पनीहरुले नेपाली कामदार ल्याउने र ब्यबशाय गरेर नाफा कमाउनु भन्दा पनि बैंक र फाइनान्स कम्पनीबाट रकम असुलेर फरार मालिक भैदिने अनि कामदारहरु अलपत्र पर्ने गरेका घटना पनि बेलाबेलामा देखिदै आएको छ । घरेलु कामदारको समस्या जो सबैले जाने बुझेकै छन् । अन्य बिबिध समस्याका कारण नेपाली श्रमिकहरु पिडित बन्दै आइरहेका छन् 

  • रोजगारीका बावजुद विश्वभरी संजाल रहेको एनआरएनए जस्तो संगठनको एउटा शाखाको नेतृत्व गर्न कत्तिको सजिलो महसुस गर्नुभएको छ ?

यो निश्चित रुपमा सजिलो त छैन नै । सबैलाई समेटेर सबैको बिश्वास जितेर अघि बढ्नु आफैंमा सजिलो कार्य होइन । हाम्रो आइसीसीसंगको सम्बन्ध र समन्वय, मध्यपूर्वका संगठनहरुसंगको समन्वय र सहकार्यलाई सन्तुलित रुपले अघि बढाउनु पर्ने र नेपाली श्रमिकले व्यहोरेका स्थानीय समस्या समाधानमा खटिरहनु पर्ने हुँदा सोचे जस्तो सहज त छैन । तर सजिलो छैन भन्दैमा हामीले यसबाट पछी हट्ने कुरो आउदैन । नेतृत्व गर्नका लागि अनेकौं कठिनाईलाई सामना गर्नसक्छु भन्ने आत्मविश्वासका साथ नेपाली समुदायको अगाडी सपथ लिएर नेतृत्व सम्हालेपछि उचित रुपले पदीय भूमिका निर्वाह गर्नैपर्छ र मेरो हकमा मैले सकेसम्मको पहल र प्रयत्न गरिरहेको छु ।

काम गर्दै जाने क्रममा सबैको चित्त बुझाउन नसकिएको पनि होला, सबै साथीहरुको हरेक दृष्टिकोणलाई सम्बोधन गर्न नसकिएका कारण कहीं कसैको सानातिना असन्तुष्टि पनि हुनसक्ला । ठुला संगठनमा सकारात्मक नकारात्मक टिप्पणी र प्रतिक्रिया चली नै रहन्छन, यो सामान्य हो जस्तो लाग्छ मलाई । यसका बावजुद हामी सबै नेपालीहरुको बीच लोकप्रिय बन्दै सबैका सामुहिक समस्या समाधानमा अघि बढेका छौं । हामीले गरेका कामलाई नेपाली दाजुभाई दिदीबहिनीहरुले सकारात्मक रुपमा लिएको मैले अनुभव गरेको छु । यहि नै त्यो शक्ति हो जसले सबै कठिनाईको सामना गर्दै सामाजिक क्रियाकलापमा लागिरहन प्रेरित गरिरहेको हुन्छ ।