पाथीभरा देवीको दर्शनका लागि मानव एम्बुलेन्स

  • ७ कार्तिक २०७३, आईतवार
  • 213 पटक पढिएको

लोकनाथ रिजाल
ताप्लेजुङ सदरमुकाम फुङलिङबाट १९.४ किलो मिटर पुर्वाेत्तोर तथा समुन्द्र सतहदेखि ३७९४ मिटरको उचाईमा पुगेपछि सबैको बिश्वास र आस्थाकी देवी माता पाथीभराको दर्शन गर्न पुगिन्छ ।
माताको एक झलक दर्शन गर्नकै लागि टाढा टाढा बाट दर्शनार्थीहरु अनेक कष्ट र दुःख झेल्दै पाथीको आकारमा रहेको त्यस पबित्र भूमी टेक्ने गर्दछन् । तल्लो फेदीबाट कस्सिएर हिड्न सक्नेका लागि २ घण्टाको नाक ठोकिने ठाडो र अक्करीलो भिरको यात्रा तय गरेपछि मात्र माताको काखमा पुगिन्छ । सो भिरको यात्रा तय गर्दा लेकाली अंगेरी , गोब्रे सल्लो , धुपी, बिभिन्न प्रजातीका लालीगुरांसको जंगल पार गर्दै जानुपर्छ ।
साघुरो ढुंगे बाटो , शुन्य डिग्रीको तापमान, खाने पानीको अभाव तथा लेक लाग्ने उच्च डरका साथ बाटोको यात्रा तय गर्नुपर्छ । दर्शनका लागि तल्लो फेदीदेखि नै दर्शनार्थीहरुको लावालस्कर सुरु हुन्छ । यस्तो भएपनि आफ्नो मनोकामना पुरा गर्नका लागि नेपालका आन्तरीक दर्शनार्थीसंगै भारत, बंगलादेश, भुटान लगायतका देशबाट दर्शनका लागि भक्तजनहरु पुग्ने गर्छन् ।
अत्यन्तै बिकट सो क्षेत्रमा आवश्यक सेवा सुबिधा नपुगे पनि दर्शन गर्न आउने बृद्ध बृद्धा , बालबालिका तथा अशक्तहरुका लागि काईदाको सेवा देख्न पाईन्छ । त्यो सेवा मानवीय एम्बुलेन्स सेवा हो । देबीको एक झलक दर्शनका लागि लालायीत हुने दर्शनार्थीले गंग्रेटो बाटो सहितको अक्करीलो भिरको यात्रा तय गर्न नसके भरीयाले बोकेरै देवीको काखमा पु¥याइदिन्छन् । यस बापत उनीहरु केजीको हिसाबले पैसा लिन्छन् । उनीहरु यस कार्यलाई मानवीय एम्बुलेन्स सेवा भन्न रुचाउंछन् ।
मान्छे बोक्ने भरीयाको सेवा प्रदान गर्दै आएका स्थानीय श्री खड्का आफुलाई पहाडको एम्बुलेन्स भन्न रुचाउंछन् । किन यस्तो काम गरेको भनी सोध्दा उनी भन्छन् – “ आफुलाई खर्च पनि हुने अनि धर्म पनि कमाईने ।” तर मान्छेले मान्छेलाई नै बोकेर अफ्ठ्यारो उकालो र सांघुरो बाटो हिड्दा श्वास बढ्ने गरेको उनी सुनाउछन् । खड्का भन्छन्– “सास बढे पनि तिर्थ यात्रीहरुले बाबु धर्म गनुभो, तपाइंको भलो होस् भन्छन् त्यही भएर आफुलाई सन्तोष लाग्छ ।”
अरु मानिसलाई लेक लागे पनि उनीहरुहरुलाई लेक लाग्दैन रे । दिनमा तीन चार पटक ओहोर दोहोर गर्ने भएकोले आफुहरुलाई लेक नलाग्ने गरेको खड्काले बताए । आफुहरु जस्तै अन्य थुप्रै साथीहरुले भरीयाको काम गर्दै आएको उनले सुनाए । कति संख्यामा यस्ता भरीयाहरु छन् त भन्ने प्रश्नमा खड्काले भने ३५–४० जना जति छौं ।
यस्तो प्रकारको सेवा पाथीभरा बिकाश संरक्षण समितीले भने राखेको होईन रहेछ । त्यहींका स्थानीय मिलेर यस प्रकारको सेवा दिने गरेको उनीहरुको भनाई छ । खड्का भन्छन् “ हामीलाई कसैले राखेको पनि होईन । हामी युवाहरु मिलेर यस्तो काम थालेका हौ ।“
मान्छे बोक्ने भरीयाको काम गर्दै आएका थुरुम्बुका बिकाश लिम्बुका अनुसार प्रति केजी अपको (चढाएको) १ सय रुपैया र अप एण्ड डाउनको (तलमाथीको) २ सय रुपैया लिने गरेका छन् । उनी भन्छन् –“तर दर्शनार्थी भनेर छुट दिने गरेका छांै । जस्तो कि १२ हजार रुपैया भयो भने हेरेर ९ हजार सम्म लिने गरेका छौ । “
उनका अनुसार सिजनको बेला दिनमा न्युनतम १ हजार देखि ५ हजार सम्म कमाई हुने गर्छ । उनीहरुको कमाई हुने सिजनको बेला भनेको नौरथाको समय बिशेष गरी असोज–कात्तिक र चैत्र–बैशाख हो । खासगरी सिजनका बेला बिहान चार बजे देखि बेलुका ५ बजे सम्म सो बाटोमा यस्ता मानवीय एम्बुलेन्सहरु भेटिन्छ ।
स्थानीय युवाले ज्यानको जोखीम राखेर यस प्रकारको सेवा दिईरहेपनि त्यहाको पाथीभरा संरक्षण कोषले भने खासै केही गरेको देखिदैन । बाटोमा एक दुई ठाउं शौचालय बनाए पनि त्यसको समेत उचित संरक्षण र सरसफाई हुने गरेको छैन । यतिसम्म कि मन्दिरमा दर्शनार्थीहरुले चढाएको पैसा छरपष्ट र भिजेर च्यातिएको देख्न सकिन्छ । यसरी पाथीभराको संरक्षण र बिकाशका लागि राज्य तथा अन्य क्षेत्रबाट उचित पहल नभएको कारण अन्र्तराष्टिय स्तरको धार्मीक तथा पर्यटकीय स्थल उपेक्षाको शिकार भएको छ ।