पर्यटकहरुको ढुकढुकी बन्दैछ बेतना सिमसार

  • ४ भाद्र २०७३, शनिबार
  • 143 पटक पढिएको

अम्बिका भण्डारी /  मोरङ बेलबारी बजारबाट २ किलोमिटर पूर्वमा अबस्थित बेतना सिमसार पूर्वी नेपालका मात्र नभई नेपालभरका र बिदेशी पर्यटकहरुको समेत आकर्षणको केन्द्र बनेको छ l कुल १ सय ७४ दशमलब ९१ हेक्टर क्षेत्रफल ओगटेको बेतना सिमसार क्षेत्र पर्यटकको आकर्षक गन्तब्य मात्र होइन, बन्यजन्तु र साना ठुला जी

व अनि जंगली जनावरहरुको बासस्थानको केन्द्र समेत बनेको छ l

दैनिक सरदर साढे  ५ सय भन्दा बढी पर्यटक आउने बेतना सिमसारमा हाल सेक्युरिटी गार्ड सहित दर्जनभन्दा बढी कर्मचारी छन्  l तारबेराले घेरिएको सिमसारमा चौबिसै घण्टा सेक्युरिटी बस्छन् l दुइवटा ताल रहेको पुर्व पश्चिम लोकमर्ग किनारमै अबस्थित सिमसारको पूर्वपट्टीको तालमा बोटिङ संचालन हुँदै आएको भएपनि पश्चिमपट्टीको ताल पानीझारले झाडीमय भएका कारण प्रयोजन बिहिन जस्तै छ l तर छुट्टै पिकनिक स्पोट र मनोरम दृष्यहरुको आकर्षणले गर्दा बिशेष अवसर, चाडबाड र बिदाका दिनहरुमा पिकनिक खान आउनेहरुको घुइंचो हुने गरेको बेलबारी गाबिसका पुर्व अध्यक्ष तथा बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुहका सदस्य शिव बराल बताउनुहुन्छ l

सिमसारवाला पहिलो सामुदायिक वन

पहिले बेतना सिमसार संरक्षण समितिले ब्यबस्थापन गर्दै आएको बेतना सिमसार अहिले सामुदायिक बनको स्वामित्वमा छ l घाँस, दाउरा र काठ काट्न नपाइने गरी नयाँ निर्देशिका नै बनाएर गत वर्ष सरकारले सामुदायिक वनको रुपमा विधिवत दर्ता गरेर हस्तान्तरण समेत भैसकेको सामुदायिक बन हो बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुह l तर नाम सामुदायिक बन भएपनि यसको काम भने बेतना सिमसारको संरक्षण र सम्बर्धन गर्ने मात्र हो l  बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुह अरु सामुदायिक बनहरु भन्दा बिल्कुल भिन्न भएको र सिमसार संरक्षणको मूल उदेश्यले नेपालमा दर्ता भएको पहिलो सामुदायिक वन भएको दावी गर्नुहुन्छ सामुदायिक वनका सदस्य शिव बराल l

सिमसार क्षेत्रमा आबश्यक पर्ने अर्थात आन्तरिक प्रयोजनको लागि लडे-पढेका काठ प्रयोग गर्न पाइने तर कसैलाई काठको बिक्री बितरण गर्न नपाइने प्राबधान रहेको अध्यक्ष बस्नेत बताउनुहुन्छ l त्यतिमात्र होइन, प्राकृतिक रुपमा जे छ त्यसको संरक्षण बाहेक सिमसार क्षेत्रमा रहेका बुट्यान र झाडी समेत सरकारको पुर्व स्वीकृतिबिना काट्न पाइन्न l

जीवजन्तु र जनावरहरुको आश्रयस्थल  

सिमसार क्षेत्रमा अजिंगर, चित्तल, निलगाई, बाँदर, ढेडु, हुचिल, लाटकोसेरो, बन बिरालो, पानी ओत र खरायो खोरमा राखेर संरक्षण गरिएका छन् l सिमसार क्षेत्रको तालमा जताततै साना – ठुला माछा नै माछा देखिएपनि कति माछा छन् भन्ने यकिन छैन l नेपालमा पाइने १२ प्रजाति मध्ये मयुरपंखी, सुनकछुवा र ढकनी कछुवा सहित ३ प्रजाति रहेको पुष्ठी भएपनि कछुवा बिज्ञ डा. के. आर. खम्बुले बेतना सिमसारमा ६ प्रजातिका कछुवा रहेको बताएका छन् l सिमसार क्षेत्रमा बिभिन्न प्रजातिका ३ सय भन्दा बढी कछुवा रहेको अनुमान गरिएको बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष डम्बर बस्नेतको भनाइ छ l

रैथाने र बिकाशे माछाहरुले नै सिमसार पोखरी ढाकिएको देखिन्छ l रैथाने जातका माछाहरु मार्न नपाइने भएपनि बिकाशे जातका माछा प्रसस्त भएकोले समय समयमा माछा बिक्री गरी आम्दानी भइरहेको बस्नेत बताउनुहुन्छ l मत्स्य बिकाश केन्द्रले बिगत दुइ बर्षदेखि बार्षिक रुपमा विकाशे माछाहरु सिमसार पोखरीमा छाड्दै आएको छ l  त्यस बाहेक केहि बर्ष पहिले धरानका एक लाहुरेले माछाका भुरा छाडेको र घुम्न आउने पर्यटकले समेत माछाका भुरा छाड्ने गरेकोले सिमसार पोखरीमा प्रसस्तै माछा छन् तर त्यहाँ कति माछा छन् भन्ने यकिन कसैलाई छैन l

बेतना सिमसारको अर्को आकर्षण हो ८ फुट उचाई र ६ फुट लम्बाई भएको कमिलाको मुर्ति l करिब डेढ लाख लागतमा श्रम र एकताको प्रतीकको रुपमा केहि  बर्ष अघि बनाइएको कमिला सिमसार क्षेत्रको केन्द्रमा रहेको छ, जसले सिमसारको आकर्षण मात्र थपेको छैन, पर्यटक समेत आकर्षित गर्ने गरेको छ l

पशुपंक्षी र वनस्पतिको बासस्थान केन्द्र

प्बेतना सिमसारमा कछुवा, सिपी, घुंगी, गंगटा, भ्यागुता, सर्प, बुदुना, पैया, हिले, मुंग्री, सिङगी,बुहाली, असला, सिद्रा, टिलटिले, कालीमाछा, गराही, टेङग्रा, अन्धबाम, कैइचीबाम, राजाबाम, चुच्चेबाम र कवाई लगायतका जलचर छन् l त्यस्तै चरा प्रजातिका सारस, चिल, जलकौवा, काग, बकुल्ला, लुइचे, सिमकुखुरा, चिवे, हाँडीफोर, बाज, जुरेली, हुट्टीट्याउं, रुपी, ढुकुर, गौंथली, मयुर, कोइली, उल्लु,सुगा, भंगेरा,पानीहाँस, जलेवा लगायतका चरा चुरुंगी समेत बेतना सिमसार क्षेत्रमा छन् l

त्यस्तै बँदेल, दुम्सी, सालक, अजिंगर, बाँदर, खरायो, ढेंडु, बन बिरालो, माछा खाने बिरालो, स्याल, चमेरा, हरिण, मृग, चित्तल, सुनगोहोरो र हात्ती आदि जंगली जनावरहरु पनि यस सिमसार क्षेत्रमा छन् l त्यसबाहेक पर्यटकले छोडेका आधा दर्जन हाँस पनि सिमसार क्षेत्रमा छन् l

बनस्पति प्रजातिका बेत, बेल, रुद्राक्ष, अंगेरी , धतुरो, बनआँप, हर्रो, बर्रो, असारे, भर्लासाल, सिमल , भलायो, खयर, हलुड़े, टाँकी, सत्तीसाल, टुनी, काभ्रो, औलिया, पिपरी, आंक, ओदाल, दत्रुंग, टाँटरी, कुम्भी, क्यामुना, कुसुम, छतिवन, डुमरी, गलेनी, स्वामी, कमल, मरङगे, पटेर, जिब्रिसाग, वनकेरा र अर्चल आदि बनस्पति समेत बेतना सिमसार पर्यटकीय क्षेत्रमा छन्  l

सिमसारको शुरुवात /अबधारणा  

स्थानीय कृषकहरुलाई सहज रुपमा सिंचाइको लागि पानी उपलब्ध गराउने एकमात्र उद्देश्यले विसं २०५७ सालमा एक करोडभन्दा बढीको लागतमा बेतना खोला सिंचाई जल उपभोक्ता समितिले ड्याम निर्माण गरी पोखरी बनाएपछि सिमसारको अबधारणा बनेको थियो l त्यसबेला सिंचाई विभागबाट प्राप्त ९७ लाख र स्थानीय उपभोक्ताबाट उठेको १४ लाख ५९ हजार रकम लगानी गरी ड्याम निर्माण गरिएको थियो l

बाँध बनाइएपछि पोखरीमा परिणत भएको दह आकर्षक देखिन थाल्यो र स्थानीय बासिन्दा पनि उत्साहित भए l राजमार्ग किनारमै भएकोले हेर्न र घुम्न आउनेहरु पनि बढ्दै गए l त्यहिबेला खासगरी एपेकको सक्रियतामा २०६० सालतिर त्यो दहलाई सिमसार बनाउने अबधारणा बन्यो र बेतना सिमसार नामाकरण गरियो l २०६१ सालमा नै बिष्णु बहादुर बस्नेतको अध्यक्षतामा बेतना सिमसार संरक्षण समिति बनाइएपछि सिमसारले संस्थागत रुप लिन थाल्यो l

२०६१ सालमा नै एपेक मार्फत युएनडिपीले सिमसारको निर्माण र बिकाशका लागि १९ लाख रुपयाँ लगानी गर्यो l त्यसपछि सरकार र दात्री निकायको सहयोग बढ्दै गयो र एउटा आकर्षक पर्यटकीय थलो बन्यो l २०६७ सालमा जिल्ला बन कार्यालयको स्वीकृतिमा इलाका प्रसासन कार्यालय मोरङमा बेतना सिमसार संरक्षण समिति एक संस्थाको रुपमा दर्ता भयो l तर गत बर्ष बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुह दर्ता भइ विधिवत रुपमा २०७२ असार ३१ गते हस्तान्तरण भएपछि बेतना सिमसार सोहि सामुदायिक बनको स्वामित्वमा छ l

आब २०७२/०७३ मा पर्यटन मन्त्रालयबाट विनियोजित १५ लाख रुपयाँबाट हाल सिमसार क्षेत्रमा फुट ट्रयाक (पैदल मार्ग ) बनाउने काम भएको छ l

बेतना सिमसारबाट निकाश भएको पानीले १२ सय बिघा क्षेत्रफल जमीनमा सिचाई हुँदै आएकोले स्थानीय कृषकहरु समेत लाभान्वित छन् l बिक्रम सम्बत २०२४ सालतिर राजमार्ग दक्षिणको ६० बिघे भन्ने ठाउँमा बस्ती बसाल्न हाल सिमसार रहेको क्षेत्रबाट पानी लगेर तत्कालिन सरकारले सिचाइको ब्यबस्था गरेको बताइन्छ l

पुरातात्विक महत्व सिमसारको सिमसार 

बेत बाँस प्रसस्त रहेकोले त्यसको नामकै आधारमा बेतना नामाकरण गरिएको यो सम्पदा प्राकृतिक दृष्टिले मात्र होइन, पुरातात्विक दृष्टिले समेत अहम महत्वको छ l पुरातत्व विभागले गत बर्ष बेतना सिमसार क्षेत्रमा स्थलगत अन्वेषण तथा उत्खनन् गर्दा यहाँ भेटिएका माटाका भाँडा, ढुंगा र सिलौटा आदिको अध्ययनका आधारमा २५ सय बर्ष पहिले यहाँ मानब बस्ती रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको थियो l विभागले सिमसारको दुइ सय मिटर आसपासका तीन ठाउँमा उत्खनन् गरेको थियो l फेला परेका ती भाँडावर्तनका अवशेष नव पाषाणकालीन भएको पुरातत्व विभागले जनाएको छ l

पर्यटक लोभ्याउने गुरुयोजनाको तयारी

बेतना सिमसारको बिकाशको लागि गुरुयोजनाको तयारी भैरहेको छ l त्यसैले हाल सिमसारको बिकाश र संरक्षणका लागि तीनवटा खण्ड वा क्षेत्र प्रस्ताब गरिएको छ l जस अनुसार कुल १ सय ७४ दशमलब ९१ हेक्टर क्षेत्रफल रहेको यस सिमसार क्षेत्रलाई तिन खण्डमा बर्गीकरण गरीएको छ l

वन क्षेत्र नभएको खण्ड १ अन्तरगत राजमार्ग दक्षिणतर्फको क्षेत्रमा १.८५ हेक्टर पानी, ९.०५ हेक्टर सिमसार, २.२७ हेक्टर बाँझो गरी १३.१७ हेक्टर क्षेत्रफल छ l खण्ड २ मा ४.२५ हेक्टर पानी, ११.३१ हेक्टर सिमसार, ४.१५ हेक्टर बाँझो जमीन र ४३.३३ हेक्टर बनक्षेत्र गरी ६३.०३ हेक्टर क्षेत्रफल छ l

त्यस्तै पानी नभएको खण्ड ३ मा ११.२० हेक्टर सिमसार क्षेत्र, ४.९४ हेक्टर बाँझो तथा पार्टी क्षेत्र र ८२.५८ हेक्टर बन क्षेत्र गरी ९८.७१ हेक्टर क्षेत्रफल रहेको बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुहले जनाएको छ l खाली जग्गामा पोखरी बनाई पिकनिक, बोटिङ लगायत मानवीय गतिबिधि संचालन गर्न दिने, खण्ड २ मा जैविक र प्राकृतिक सम्पदाहरुको संरक्षण स्थल सहित भ्यु टावर अनि खण्ड ३ मा जंगली जनावरको बासस्थान र अनुसन्धान केन्द्र बनाउने योजना रहेको अध्यक्ष बस्नेतले बताउनुभयो l (२०७३ )