जन्मदिनको खर्च कटाएर माझीबस्ती बनाउन दिइएको ५० हजार स्वेतालाई हस्तान्तरण

  • ४ आश्विन २०७५, बिहीबार

पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चलिसेका नाती अस्ट्रेलिया निवासी सुशिल चालिसे र  धर्मपत्नी  अनिता भण्डारी चालिसेले आफ्ना छोरीद्धय  शायना  र  समिकाको जन्मदिनको अबसरमा नायिका स्वेता खड्काको बस्ती निर्माण अभियानका लागि ५ सय अस्ट्रेलियन डलर अर्थात करिब ५० हजार रुपयाँ सहयोग गरेका छन् ।

चालिसे दम्पतिले आफ्नी छोरी शायना चालिसेको पहिलो जन्मदिन मनाउँदा  समाजसेवी दिक्षा चापागाईं आबद्ध भएको पबित्रा समाज नेपाल मार्फत सहयोग गरेका हुन् ।   दुबै छोरीको जन्मदिन एक्कै दिन परेकोले दुबै छोरीको जन्मदिन मनाउने क्रममा यो बर्ष ५ सय  डलर सामाजिक कार्यमा योगदान दिने निर्णय गरेको चालिसे दम्पतीले जनाएका छन्  ।

उनीहरुले एक कार्यक्रम बीच अगस्ट २० का दिन लुम्बिनी कपिलबस्तु दिवस विश्व अभियानका संयोजक रामकुमार श्रेष्ठलाइ सो रकम हस्तान्तरण गरेका थिए  । सो रकम असोज पहिलो साता नायिका तथा माझी नमूना बस्ती निर्माणकी अभियन्ता स्वेता खड्कालाई हस्तान्तरण गरिएको छ ।

सो समुदायमा १ सय ८४ महिला छन् भने सो समुदायका १५% मात्रै साक्षर छन । निर्माणाधिन नमूना बस्ती बहुसंख्यक नेपालीको सरदर हैसियतभन्दा सुबिधायुक्त ब्यबस्थित बस्ती हुनेछ । रकम हस्तान्तरणकै समयमा माझी बस्तीका प्रतिनिधिहरुसंग छलफल पनि भएको थियो ।

देशमा आएको महाप्रलयकारी भूकम्प ब्यबस्थापन कार्यमा लाग्ने प्रण गरेकी नायिका स्वेता खड्काले स्व. श्रीकृष्ण श्रेष्ठको जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १४ को झोलुङ्गेस्थित माझी बस्तीमा एकीकृत नमूना बस्ती  निर्माण गरिरहेकी छिन् । नमूना बस्ती निर्माणका लागि रकम अभाब भएको समाचार बेला बेलामा आउने गरेको छ ।

“स्वेता-श्री फाउण्डेशन” को पहिलो उदेश्य भूकम्पले भत्काएको ‘माझी बस्ती’ निर्माण गर्ने उद्धेस्य अनुरुप सो समुदायको ५६ परिवारका ३ सय ७५ जनाको लागि करीब १७ रोपनी जग्गामा एकीकृत बस्ती बनाउने कार्यमा जुटिरहेकोले सो परियोजनामा केही  सहयोग हुने अपेक्षा गर्दै  सो सहयोग हस्तान्तरण गरिएको हो ।