दमक । झापाको कन्काई नगरपालिका ५ तुलसीबारीको एक परिवारले आफ्नै बुहारीलाई छोरीकै रूपमा विवाह गरी अन्माएका छन् ।
आजभन्दा ६ वर्ष अघि विवाह गरेर घरमा भित्र्याएकी बुहारीलाई छोरीका रूपमा दोस्रो विवाह गरि अन्माइएको हो । स्थानीय धनपति पौडेल र टिकामाया पौडेलका छोरा प्रकाश पौडेलको झापाको साविक पथरिया गाविस (हाल कचनकवल) का हरिप्रसाद काफ्ले र विष्णुमाया काफ्लेकी छोरी धनमाया (आशा) काफ्लेसंंग ६ बर्षअघि  विवाह गरिएको थियोे  ।

तर प्रकाशकाेे अल्पायुमै निधन भएपछि आशा एक्लिएकी थिइन् ।
पौडेल परिवारले सोही ठाउँमा घर भई हाल धनकुटामा व्यापार(व्यवसाय गर्दै आएका लेखनाथ मिश्रसँग बुहारीलाई बिवाह गरिदिने निधो गरे ।

बुधबार काेटीहोमस्थित मिश्र समाज सेवा समितिको मन्दिर परिसरमा आधुनिक शैलीमा टिका टालो लगाएर आशीर्वाद दिँदा मुक्तकण्ठले प्रशंसा गर्दै गडगडाहड ताली बजाउने धेरै थिए । बुहारीलाई बेहुली बनाएर छोरीका रुपमा दोस्रो विवाह गरिदिन पाउँदा आफूलाई सन्तुष्टि मिलेको आशाका ससुरा पौडेलले बताए ।
उनले भने, ’नहुनुपर्ने घट्ना भइदियो बुहारीले छोराको साथ लामो समय पाउन सकिनन् । यो उमेरमा त्यसै राख्नुभन्दा उनको भविष्यलाई हेरेर विहे गरिदिने निधो गरें,’ पौडेलले भने ।

बेहुला मिश्रकी पहिलो श्रीमति मुनाको करिब अढाई महिना अघि पाठेघरको क्यान्सरका कारण मृत्यु भएको थियो । दुवैजना सहाराविहीन भएर बस्नु भन्दा विहे गरेर दुवैको पारिवारिक जीवन सुखयम हुने आशा र विश्वासका साथ काफ्ले परिवारको समेत सहमति र समझदारीमा पुरातन संस्कार र मान्यतालाई तोड्दै आफूहरूले बुहारीको विवाह गरिदिने निधो गरेको पौडेलले बताए ।

1,254 total views, 142 views today

तपाईको प्रतिक्रिया