अनलाइनमा फष्टाएकोे ‘विलयन गजल लेखन’ —केशु विरही

गजल दशौँ शताब्दीमा इरानी अन्धा कवि रौदकीबाट जन्मिएको विश्वास गरिन्छ । यो विधा अरवी माटोबाट सुरु भए पनि यसको प्रथम प्रयोग भने फारसी भाषामा भएको पाइन्छ । गजलले फारसी भाषामै फष्टाउने अवसर पनि पाएको देखिन्छ ।

गजल अरबी, फारसी, हिन्दी–उर्दू हुँदै नेपाली माटोमा भित्रिएको हो । यसरी हिन्दी–उर्दू हुँदै नेपाली माटोमा भित्रिएको यो विधाले एउटा लामो कालखण्ड नै विताइसकेको छ । यो अवधीलाई हेर्दा गजलले नेपाली माटोमा एउटा लामो कालखण्ड विताएको छ भन्न सकिन्छ ।

स्थापना काल (आधुनिक काल) देखि आजको (विकाश काल) समयसम्म आउने क्रममा गजलले धेरै आरोह अवरोह पार गरिसकेको छ । अनेक वाधा व्यवधानसंग जुध्दै ती वाधा व्यवधानलाई परास्त गर्दै गजल आजको यो अवस्थामा आइपुगेको हो ।

गजलले मोतीराम भट्ट (वि.स.१९२३ –१९५३) देखि ज्ञानुवाकर पौडेल, ललजिन रावल, घनश्याम परिश्रमी, मनु ब्राजाकी, रवि प्राञ्जल हुँदै आजको यो अवस्थामा आइपुग्दा आफूलाई एउटा लोकप्रिय विधाको रुपमा चिनाउन सफल भएको देखिन्छ । पछिल्लो समयमा यसको लोकप्रियता झन् झन् वढ्दो छ । गजलको आकर्षणले सवै पुस्तालाई तानिरहेको छ । गजलको मोहफिलमा रमाउन सवै आतुर छन् । यसरी पनि वुझ्दा वेस होला सवै साहित्यप्रेमी मन आज गजलको आकर्षणबाट टाढिन सकेका छैनन् । कुनै न कुनै माध्यमबाट भए पनि उनीहरु आफूलाई गजलमा समायित गरिहेका छन । र गर्ने क्रममा छन ।

आजको नेपाली गजल कुनै एउटा भाषामा मात्र सिमित छैन । नेपाली गजल देवनागरी भाषाका अलावा अन्य सवै भााषा भाषीमा लिपिवद्ध हुदै आएका छन । पछिल्लो समयमा गजल लिम्बु, राई, मगर, नेवारी, थारु, मैथिली, हिन्दी, संस्कृत लगायतका अन्य दर्जनौ भाषामा लेखिएका छन । यति धेरै भाषामा लेखिने नेपाली साहित्यिक विधामा गजल नै पहिलो विधा वन्न सफ भएको छ ।

यस स्तम्भमा नेपली गजलमा पछिल्लो समयमा विभिन्न खाले प्रयोगहरु भित्रिदै आएका छन । यहाँ नेपाली गजलमा भित्रिएको विलयन गजल लेखनको वारेमा सङ्क्षिप्त रुपमा चर्चा गर्ने जमर्को गरिएको छ ।

के हो विलयन गजल लेखन ?

विलयन शब्दको वास्तविक अर्थ – कुनै पनि कुराको अन्त्य हुनु वा हराउनु हो । यसलाई संयुक्त लेखन पनि भनिन्छ । सोझो अर्थमा भन्ने हो भने धेरैजना मिलेर एउटा गजलको सिर्जना गरिने परम्परा नै विलयन गजल हो भन्न सकिन्छ । नेपाली साहित्यमा विलयन साहित्यको सुरुवात त्यति पुरानो छैन । यो परम्परालाई नेपाली साहित्यमा सन् २००५ बाट भित्र्याएको पाइन्छ । गजलकार कृसु क्षेत्री र मनोज न्यौपाने लगायतका केही महानुभावहरु मिलेर यो परम्पराको थालनी गरेको भेटिन्छ । कान्तिपुर, हिमालय टाइम्स, र नेपाल समाचारपत्र दैनिकमार्फत यो परम्पराको वारेमा अवधारणा आएको भए पनि विलयन गजलको सुरुवात भने ‘आरोहण’ (२०६३) बाट मात्र आधारिकारिक रुपमा भएको पाइन्छ ।

विलयन साहित्यको आवधारणा भित्र रहेर संयुक्त अरव इमिरेट्सबाट २०६३ सालमा ‘आरोहण’ गजल सङ्ग्रह प्रकाशित भएको पाइन्छ । यो नै विलयन गजल परम्पराको प्रथम गजल कृति हो । यसमा दलबीर सिंह बराइली ‘घायल’, चन्द्र तामाङ, भानु दुलाल, जैकी मोजाहु (मोेहम्बद जाकिर हुसैन) र शान्तराम थापामगर गरी पाँच जनाका गजलहरु समावेस छन् ।

केही साल अघि नै सिन्धुलीका पवन विमानेली, अमृत विमानेली र देवान वेवारिसेको ‘मुटुको चिनो’ नामक विलयन गजल कृति प्रकाशित भएको छ ।

त्यस्तै संयुक्त अरब इमिमरेट्सबाटै चेतन कार्की ‘चन्द्रकेत’ु, कृष्ण देवकोटा ‘दयाल’ु, दिपक नेयोङहाङ, दीपक अधिकारी र अन्जान बोहोरा ‘चतुरे’को ‘संयुक्त यात्रा’ नामक अर्को कृति तयार भएको देखिन्छ । सन् २०११ मै आफूले भूमिका समेत लेखिदिएको तर सो कृति बाहिर आए नआएको वारेमा आफू समेत अनविज्ञ रहेको गजकलकार दलबीर सिंह बराइली ‘घायल’ बताउछन् । गजलकार कृशु क्षेत्रीले पनि सो कुरालाई पुष्ठी गरेका छन् ।

पछिल्लो समयमा विलयन परम्परामा गजल लेखनका केही ब्लगहरु र अनलाइन पत्रिकाहरु पनि निर्माण भएका देखिन्छन । यस्ता ब्लग वा साहित्यक पत्रिकाले यो मान्यताको साहित्य लेखनलाई प्रश्रय दिने काम गरेका छन् । तीमध्ये गजलकार परिहास सुब्बा पनि एक हुन् । उनीद्वारा संपादित ‘गोरेटो साहित्यिक’ पत्रिकामा पनि यो परम्पारामा आधारित लेखिएका गजलहरुले स्थान पाएका छन् । साथै अन्य विभिन्न अनलाइन पत्रिकाहरुमा पनि यस्ता गजलहरु प्रसस्त मात्रामा पाउन सकिन्छ ।

विलयन मान्यतामा आधारित भएर सिर्जना गर्दा सर्जकको उपस्थिती देखिदैन । यस परम्परामा सर्जकभन्दा पनि सिर्जनालाई बढी महत्व दिइन्छ । पछिल्लो समयमा सिर्जनालाई भन्दा पनि सर्जकलाई बढी महत्व दिने परम्परा फष्टाएको छ । पछिल्लो समयमा के लेखियो भन्दा पनि कसले लेख्यो भन्ने कुरालाई बढी महत्व दिइन्छ । समालोचनामा पनि त्यही कुरा झल्किएको पाइन्छ । सिर्जनाको मूल्याङ्कन भन्दा पनि सर्जकको मात्र मूल्याङ्कन हुनु आफैमा ठिक होइन । तसर्थ कसले लेख्यो भन्दा पनि के लेखियो र सर्जकलाई भन्दा पनि सिर्जनालाई महत्वदिने यो साहित्यिक परम्परालाई सकारात्मक रुपमा लिन सकिन्छ । र लिनु पर्छ भन्ने मान्यता रहेको छ ।

यो मान्यतामा आधारित भएर गरिएका सिर्जनाले गजलले आत्मसाथ गरेका मूल्य र मान्यतालाई पनि पूर्ण रुपमा परिपालन गरेको देखिन्छ । तर यसमा फरक फरक गजलकारका सेरहरूको संयोजन हुने हुँदा कहि कतै भावको सघनतामा भने केही परक देखिन जान्छ नै । तर सिर्जनाको स्तरीयता सर्जकको शीर्जनशीलतामा पनि भर पर्ने हुँदा त्यसतर्फ विचार पुर्याउन सकेमा यो साहित्यिक लेखन एउटा राम्रो प्रयोगको रुपमा स्थापित हुनसक्छ ।

[email protected]

568 total views, 10 views today

तपाईको प्रतिक्रिया