मेयर ज्यू,

कामले व्यस्तै हुनुहुन्छ होला, तैपनि यो सानो पत्र पढ्न झर्काे मान्नु हुनेछैन ।
धनकुटा नगरपालिकाले धनकुटालाई एभोकार्डाेको राजधानी बनाउने घोषणा गरेछ । यो नगरपालिका पोहर साल नेपालकै सुन्दर सहरमा पनि गनियो भन्ने सुन्ने मौका पाएं ।

धनकुटा त्यसै सुन्दर र सफा गनिएको होइन । यसका लागि यहाँका जनताको पनि त्यतिकै सहयोग र सद्भाव छ । यसवर्ष पनि धनकुटालाई सफा र हरियालीपूर्ण बनाउनका लागि यहाँका सरकारी, गैरसरकारी, व्यक्तिगत र साझदारी सबै तहबाट यो वर्षाको मौका छोपी व्यापक रुपमा फल फूल विरुवाहरु रोपिएको खवर प्राप्त भएको छ ।
तर ती विरुवाहरु सदाझैं संरक्षण र मलजलको अभावमा त्यसै मर्ने र सीमित वाख्रापालकका बाख्राका खाजा भएर वर्षेनी विरुवा मात्र रोपिरहनु पर्ने विरुवा भने नहुर्किने संभावना त्यतिकै छ । मैले सुनेको छु यस बर्ष   व्यापक मात्रामा नगर प्रहरीहरु नियुक्ती गरिएका छन् । ती प्रहरीलाई वाख्रा गोठालो वनाइने छैन ।

मैले पनि मेरो वसोवास र आवत जावतको क्षेत्रलार्इृ सुन्दर र सफा वनाउने उद्धेश्य लिएर केही वर्षदेखि सफाइ कार्यक्रम गर्दै आएकोमा यस वर्ष केही सहयोगी हातहरुको साथ लिएर आँखा अस्पतालदेखि कचिंडेसम्मको किनारमा विभिन्न प्रजातिका फूलहरु रोपि त्यसको संरक्षणका लागि लागि परेको कुरा थाहा पाउनु भएकै होला । मेरो काम झिनो मसिनो अवश्य हो तर यसको दीर्घकालीन महत्व छ ।
ती विरुवाहरु अहिले छाडा वाख्राले खाएर विमाख गरिरहेको पाएको छु । वाख्रालार्इृ नगर प्रहरी लगाएर लखेट्नुस् म भन्दिन । वाख्रापालक किसानलाई आफना खसी वाख्रा खोरमा थुनेर व्यवस्थित तरिकाले पाल्न हामीले प्रोत्साहित गर्यौं भने उनीहरुलाई आफ्ना खेतवारीमा पोसिला घाँसका विरुवा लगाउन प्रेरित गर्याै भने खोरमा वाख्रा पाल्नाले सामुहिक रुपमा धनकुटाको हरियाली र सुुुन्दरता वढाउने कुरामा किसानको भूमिका पनि महत्वपूर्ण हुने थियो धनकुटा हाम्रो पनि हो ती किसाानलाई समेत लाग्दो हो ।
मैले देख्दै छु एकाध सय विरुवा र फूलको संरक्षण गर्न लाखौंका फलामे पाइप र तीनलाई टाङ्न श्रमिक खर्च लागेको छ । तर वाख्रापालक किसानलाई वाख्रा नछोड्न उत्प्रेरित गर्ने प्रकारका कुनै प्रकारका कार्यक्रमहरु वनिदैनन् र वर्षेनी विरुवा किनिन्छन् रोपिन्छन् र समाचारका विषय वन्छन् तर धनकुटा सुन्दर हुदैन । डम्पिङ साइटमा रोपिएका केही फूलहरुको हल्लाले मात्र धनकुटा कहाँ सुन्दर वन्छ र ? यसरी नै विरुवा ंसरक्षणमा वेवास्ता गर्ने हो भने धनकुटा कथा र कहानीमा मात्र सुन्दर वन्छ ।

कृपया वाख्रा पालक र विरुवा रोप्नेहरुलाई प्रेरित गर्ने एक अर्कामा सहयोग हुने कुनै कार्यक्रम राख्दा राम्रो हुन्थ्यो कि प्रभो । त्यति गरिएन भने वृक्षारोपण गरेको हल्ला पत्रिकामा फिंजाउनु यसो फोटो छाप्नु वाहेक केही हुँदैन । धनकुटालाई सुन्दर र हरियालीपूर्ण वनाउने तपाईं हाम्रो सपना दिवा सपना मात्र हुन्छ । श्राद्धमा यसो विरालो वाँध््ने चलन जस्तो मात्र वन्छ कि ?

केही दिन अगि एक जना बन्दीपुरे पर्यटकसंग एकछिन कुराकानी गर्ने मौका मिलेको थियो । उनले भने “धनकुटाले विकास गर्ने नाममा मौलिकता गुमाए छ । धनकुटाका नीति निर्माताको उद्धेश्य र कामले ठ्याक खाएको भेटिएन । उनीहरु पर्यटक भित्र्याउने उद्धेश्य लिन्छन् तर पर्यटकले रुचाउने कुराहरु नास्दै जान्छन् । मौलिक घरहरु भत्काएर नयाँ घर बनाउँदा रहेछन् ।

पर्यटक त नयाँ घरवाट वाक्कै भएर पुराना घरमा रमाउन आउने गर्दछन् । यहाँ सुन्तलाका वोट मासिए छन् सुन्तले रङले सिंगारिएका घर वनेछन् । यहाँ कागते पोखरी र वरपरका परम्परागत आहाल पोखरी मासिएछन् र हरियालीका नाममा ग्रीन सिटी भनेर कागते वरपरका घरहरु हरियो रङले पोतिएछन् ।

यहाँ वजारका सडकमा भएका ढुङ्गा उक्काएर सिमेन्ट र कालो पत्रे गरिएछ । पर्यटकहरु त ढुङ्गे सडक पो हेर्न आउँछन् त उनीहरु कहाँ कालो पत्रे र सिमेन्टेड सडक नदेखेर आएका हुन् ? यहाँका वरपीपलको हरियाली मासियो । पानीका मूलहरु सुके ।
सडकका नाममा र लोकप्रियताका नाममा जताततै पहाडलाई कोतरियो । खै मौलिकता ? जभाभावी सडक कोत्र्याउँदा पानी धमिलो भयो । धनकुटेहरुले लाखांै खर्च गरेर वनाएको योजना निष्प्रयोजन भयो । नीति निर्मातामा कुकुद्धि आए पछि विकास होइन विनास हुन्छ । विकास भनेको त निकास दिेने पो हुन पर्छ । हेर्दै जानुस् यस्तै हो भने धनकुटामा पर्यटक होइनन् श्याल पनि कुद्न छोड्छन् ।”
ती वन्दीपुरे पर्यटकले भनेको ठीकै पो होकि ,वास्तवमा नीति निर्माण र विकासका काम गर्दा सोच्नै पर्ने हो कि ?

तपाईको सुभेच्छुक
ठाकुर बराल
धनकुटा ६ कचिंडे

मिति २०७५/३/२०

3,458 total views, 10 views today

तपाईको प्रतिक्रिया