धनकुटा । काम गर्नलाई कुनै पदमा बसिरहनु पर्दैन भन्ने उदाहरण बनेका छन् धनकुटा बहुमुखी क्याम्पसका सेवा निवृत्त उप–प्राध्यापक ठाकुरप्रसाद बराल । उनको कामले कहिलेकाहीँ सानो कामले पनि ठूलो महत्व राख्दछ भन्ने  कुरा सिद्द गरेको छ । 

बरालले ‘धनकुटालाई सुन्दर बनाउँ’ भन्ने एकल कार्यक्रम राखेर २ वर्षदेखि धनकुटाको सल्लेरीदेखि कचिंडेसम्मको सडक एक्लैले सफा गर्दै आएका छन् । यसै वर्षको जेठदेखि उनलेे आँखा अस्पतालदेखि कचिंडे चोकसम्मको सडकका बुट्टा आफैं सफा गर्दै आएका छन् । त्यतिमात्र होईन, उनले सो सडकमा चाँप, राजवृक्ष, इन्द्र कमल, कल्की, पारिजात, गुलमोहर, जकाराण्डा, कमिनी, चुवा, फूल अशोक, सीता अशोक, रातकी रानी लगायतका विभिन्न प्रजातिका ७० भन्दा बढी फुलका विरुवा पनि रोपेका छन् ।

उनले धनकुटाको सौन्दर्य वढ्ने र वातावरणमा अनुकूल असर पर्ने र आन्तरिक पर्यटनमा बढावा मिल्नेछ भनेर सफाई अभियान सुरु गरेको बताएका छन्  । सुरुमा उनले एक्लैले विरुवा किनेर रोप्दै आएकोमा अहिले उनले थालेको कार्यको प्रशंसा गर्दै अन्यले पनि फलफुलका विरुवा किनेर दिन थालेका छन् ।

उनले शुरु गरेको अभियानका लागि बिगेन्द्र याखा, नगेन्द्र राई, वेणु बस्नेत, मिलन खड्गी, राजेश्वरबहादुर श्रेष्ठ, रामहरि सुवेदी, पुरुषोत्तम अर्याल, भीमराज अधिकारी, तोया भण्डारी र उद्धव कटुवालले विरुवा दिएका छन् भने मिलन खड्गी, पुरुषोत्तम अर्याल, वेणु बस्नेत र रुद्र मगरले बिरुवा गोडमेलमा सहयोग गरिहेको बराल बताउँछन् ।

कुनै संघ संस्थाको सहयोग बिना एकल अभियानका रुपमा थालिएको यस्तो कार्य उदाहरणीय भएको र यसबाट हामी सबैले सिक्नुपर्ने धनकुटा नगरपालिका –६ का वडाध्यक्ष नरेश श्रेष्ठले बताउँछन् ।

धनकुटा क्याम्पस्मा कार्यरत रहँदा पनि उनकै अगुवाईमा क्याम्पस परिसरमा रोपिएका रुद्राक्ष, अम्लिसो, आँप, अमला, एभोकार्डाे जातका बोट विरुवाहरु रोपिएका थिए । उनकै पहलमा रोपिएको फूलवारीले अहिले धनकुटा बहुमुखी क्याम्पसका लागि आयश्रोत माध्यम बनेको छ भने क्याम्पस सौन्दर्यलाई पनि बढाएको छ ।

राजधानी नहुँदा धनकुटा सकियो भनेर गुनासो गरिरहनेहरुलाइ राजधानी भए पनि नभए पनि धनकुटा घुम्न लायकको ठाउँ हो भन्ने सन्देश दिन यो अभियान शुरु गरेको उप–प्राध्यापक बराल बताउँछन् ।

4,711 total views, 138 views today

तपाईको प्रतिक्रिया