प्रदेश १ को सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले शुक्रबार प्रदेशसभामा ३५ अर्ब ९३ करोड ६० लाखको बजेट प्रस्तुत गरेका छन्  ।

बजेटमा चालु खर्च १४ अर्ब ९२ करोड १८ लाख रुपयाँ र  पूँजीगत खर्च १८ अर्ब ५० करोड ९२ लाख र अन्तर सरकारी हस्तान्तरण २ अर्ब ५० करोड ५० लाख रुपयाँ बिनियोजन गरिएको छ ।
प्रदेश सरकारले २ अर्ब ६६ करोड ७८ लाख आन्तरिक राजश्व संकलन गर्ने  लक्ष्य राखेको छ । बजेटमा केन्द्रिय  सरकारबाट आउने वित्तीय समानीकरण र सर्शत अनुदान १८ अर्ब ८८ करोड ७० लाख रुपयाँ , राजस्व बाँडफाँटबाट ९ अर्ब १८ करोड ११ लाख रुपयाँ र चालु आवको बचत २० करोड रुपयाँ समाबेश छ ।

आवास तथा भौतिक पूर्वाधार विकासका लागि ९ अर्ब ५० करोड

प्रदेश सरकारको बजेट वक्तब्यमा  आवास तथा भौतिक पूर्वाधार विकासका लागि ९ अर्ब ५० करोड बजेट छुट्याइको छ ।
भेडेटार-मिक्लाजुङ-रबी -राँके पर्यटकीय मार्ग र दमक-चिसापानी-रबी फाल्गुनन्द मार्गलाई प्रदेश गौरव आयोजनाका रुपमा विकास गरिने बजेटमा उल्लेख छ । ‘बराह विजयपुर सर्किट’ र शक्तिपीठ सर्किट बनाउने, बृहत विराट क्षेत्रको अवधारणा अघि सार्दै चक्रपथ निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने पनि बजेटमा उल्लेख छ ।

त्यसैगरी उदयपुर, खोटाङ, संखुवासभा र सोलखुम्बु गरी हिमाल पहाड र तराईका ५ जिल्लालाई जोड्ने रानीटार-पाँचा-चखेवा-साल्पासिलिचुङ्ग हुँदै सगरमाथा र मकालु वेसक्याम्प जोड्ने सडक बनाइने बजेटमा उल्लेख छ । त्यस्तै इटहरीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र धरानमा प्रदर्शनी स्थल निर्माणका लागि अध्ययन थाल्ने योजना अघि सारिएको छ । बजेटमा ५ वर्षमा प्रदेशका सुकुम्बासी समस्या समाधान  गर्ने दाबी गरिएको छ ।

युवा तथा खेलकुद क्षेत्रमा ४३ करोड बजेट

युवा तथा खेलकुद क्षेत्रमा ४३ करोड बजेट छुट्याएको प्रदेश सरकारले प्रदेशस्तरीय खेलकुद परिषद् गठन र बिराटगरको रंगशाला स्तरोन्नती गरी फ्लड लाइट राख्ने बताएको छ । संघीय सरकारसँगको सहकार्यमा इटहरीमा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउने पनि बजेटमा उल्लेख छ ।
स्वास्थ्य क्षेत्रमा १ अर्ब ४४ करोड र शिक्षा क्षेत्रको पूर्वाधार विकासमा १ अर्ब ३५ करोड बजेट छ । मनमोहन पोलिटेक्सिकलाई प्राविधिक विश्व विद्यालय बनाउने, गरिबका छोराछोरीलाई एमबीबीएस अध्ययन गर्न विना धितो सुलभ रुपमा ऋण उपलब्ध गराउन ‘जनता चिकित्सा शिक्षा कोष’ स्थापना गरिनेछ ।
उद्योग क्षेत्रमा १ अर्ब ३० करोड बजेट छुट्याइएको छ । मुख्यमन्त्रीको अध्यक्षतामा लगानी बोर्ड बनाउने र प्रदेशभित्र विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्ने बजेटमा उल्लेख छ । उर्जा विकास र जलस्रोत क्षेत्रमा ७१ करोड छुट्याइएको छ । सौर्य शक्तिबाट २०० मेगावाट विद्युत उत्पादन गर्न बजेट विनियोजन गरिएको छ ।

सांसदलाई २ करोड
प्रदेश १ सांसदलाई बजेटमार्फत २ करोड दिएको छ । प्रदेशसभा सदस्यहरुलाई विकाससँग जोड्न ‘प्रदेश निर्वाचन क्षेत्र कार्यक्रम’ चलाइने प्रदेश सरकारको बजेटमा उल्लेख छ । प्रदेश निर्वाचन क्षेत्रमा २ करोडका दरले १ अर्ब १२ करोड बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री आङ्बोले  बताए ।

5,931 total views, 8 views today

तपाईको प्रतिक्रिया