माघ १९, २०६१ को शाही कु पछि गठित मन्त्रिपरिषदमा सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी दिइएको थियो टंक ढकाललाई ।
राजनीति नै छाडेर भक्तपुरमा जग्गा दलाली गर्दै आएका ढकालका लागि सञ्चार मन्त्रालय भारी थियो । निजी लगानीका पत्रपत्रिका र टेलिभिजनले सुरुमा घुमाउरो भाषामा र पछि प्रत्यक्ष नै शाही शासनको विरोध गरिरहँदा उनीमाथि सरकारी मिडियामार्फत अन्यलाई तह लगाउने जिम्मेवारी आए पनि उनले त्यो काम पूरा गर्न सकेनन् ।

दरवारले आफ्ना प्रिय मन्त्री टंक ढकाललाई मन्त्रिपरिषदबाट बिदा त गर्न सकेन तर, सञ्चार मन्त्रालयमा ल्यायो पत्रकार श्रीष शमशेर राणालाई । ढकाललाई स्थानीय विकासको जिम्मेवारी दियो ।
खान्दानी राणा भएर पनि शोखको रुपमा पत्रकारिता पेशा अपनाएका श्रीष शमशेरले दरवारप्रतिको आफ्नो भक्तिमा कुनै कसर बाँकी राखेनन् । नेपाल टेलिभिजन, रेडियो नेपाल, रासस र गोरखापत्रमा राजा र शाही शासनका भक्तिगान गाएका समाचारहरुको अलि व्यवस्थित रुपमै आयो ।
एफएम रेडियोमाथि समाचार बजाउन प्रतिबन्ध अघिल्ला सञ्चारमन्त्रीले नै लगाइसकेकाले राणाले यसलाई थप कसिलो बनाए । राजाबादी पत्रकारहरुको संगठन नै जन्माएर पत्रकार महासंघको विकल्प दिने प्रयाश गरे भने उनीहरुको जीवन निर्वाहका लागि वितरण गरिएको रकम (जसलाई अझै पनि हण्डीका रुपमा चर्चा गर्ने गरिन्छ) वितरणमा उदार देखिए ।

यसरी शाहीकालीन राज्यमन्त्री श्रीष शमशेर राणाले आफ्नो क्षमताले भ्याएसम्म शाही शासनलाई माथि उठाउने प्रयाश गरे पनि उनको स्वभावका कारण धेरै आलोचित बने । आफूलाई पत्रकारिताबाटै आएको भनेर अन्य पत्रकारलाई पटक्कै नगन्ने राणासँग सरकारी सञ्चारमाध्यमका पत्रकार त्राहिमाम हुन्थे ।

कतिपयले त राजाको शासनप्रति त्यतिचाँडै जनताको वितृष्णा जाग्नुमा सञ्चार राज्यमन्त्री श्रीषशमशेर राणा लगायतको स्वभाव र कार्यर्शलीलाई कारण देखाएर पछि लेख रचना नै प्रकाशित गरेका छन् ।

ति राणा यी बाँस्कोटा
केपी ओली नेतृत्वमा नेपालको इतिहासमा अहिलेको पुस्ताले देखेको सबैभन्दा शक्तिशाली सरकार गठन भएको छ । यो सरकारले बाँडेका सुशासन र समृद्धिका सपनाप्रति सुरुको १ सय दिनमै संशय उत्पन्न भइसकेको पनि छ ।

ओली सरकारमा उनका अत्यन्त विश्वासपात्र गोकुल बाँस्कोटालाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ । तत्कालीन एमालेको केन्द्रीय सदस्य नभएकाले सुरुमा राज्यमन्त्री र हाल नेकपाको केन्द्रीय सदस्यमा मनोनित गरी फुलमन्त्री नै बनाइएको छ बाँस्कोटालाई ।

मन्त्री बाँस्कोटा ओली निवास बालकोटमै बसेर थप चर्चित पनि छन् । तत्कालीन एमालेकै प्रचार विभाग प्रमुख तथा लोकप्रिय नेता योगेश भट्टराईलाई पन्छाउँदै मन्त्री बन्न सफल हुनुमा उनी ओलीको कोटरीका नेता हुनुबाहेक अरु क्षमता थिएन नै ।
ओलीका बाँस्कोटा र राजा ज्ञानेन्द्रका ति राणाबीच अनेकौं समानता छ । फरक यत्ति हो कि बाँस्कोटाले काभ्रेबाट चुनाव जितेर मन्त्री भए भने राणा मनोनित ।

तर, दुवैको स्वभाव भने उस्तै छ । दुवैले आफूलाई पूर्वपत्रकार भन्न रुचाए पनि पत्रकारितामा उनीहरु दुवै चिनिएका पत्रकार भने होइनन् ।
राणा त खान्दानी स्वभावअनुसार अरुलाई हेप्ने आफ्नो प्रशंशा सबैले गरिदिओस् भन्ने चाहना राख्ने भइहाले । उनको नियुक्तिको पृष्ठभूमिले पनि यसलाई त्यति अस्वभाविक भन्न सकिँदैनथ्यो । तर, अहिलेका मन्त्री बाँस्कोटा पनि राणाभन्दा रत्तिभर कम छैनन् ।
सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने र आफ्नो भजनमन्डली बनाउने काममा दुवैबीच सबैभन्दा ठूलो समानता छ ।

लाइभ अन्तर्वार्ताका क्रममा आफ्नै धोती खुस्किएपछि उनले १२ वर्षदेखि नेपाल टेलिभिजनमा चर्चित रहेको सिधा प्रश्न कार्यक्रम नै बन्द गराए । सम्पत्ति विवरणमा सामसुङको आइफोन साथिबाट उपहारमा प्राप्त भन्दै प्रविधिसम्बन्धी आफ्नो शून्य ज्ञान प्रष्ट्याइसकेका बाँस्कोटाले अन्तर्वार्ताका क्रममा देखाएको हर्कत अहिलेसम्म कोही कसैबाट महसुस नगरेको सञ्चालक राजु थापाले फेसबुकमा लेखेका छन् ।

बाँस्कोटाको क्रियाकलापको अहिले सर्वत्र आलोचना भइरहेको छ । राजाको शासनलाई जनतामाझ चाँडै नै अलोकप्रिय बनाउन भूमिका खेलेका श्रीष राणाले जस्तै ओलीका प्रियपात्र बाँस्कोटालाई पनि ओलीलाई त्यही नियतिमा नपुर्याउलान् भन्न सकिन्न । – GDPnepal बाट

1,066 total views, 6 views today

तपाईको प्रतिक्रिया