स्थानीय तहलाई पहिलो पटक खोला ठेक्का लगाउन अनुमती दिइएपछि केराबारी गाउँपालिकाले एउटा ठेक्काबाट चालू आर्थिक बर्षमा ७४ लाख आम्दानी गरेको छ ।

वन बिभागले वन कार्ययोजना बमोजिम जिल्ला वन कार्यालय मोरङ मार्फत वन क्षेत्रलाई असर गर्ने भन्दै खोला ठेक्काको अनुमती दिएपछि गाउँपालिकाले एक महिनाभित्र नै ७४ लाख आम्दानी गरेको हो । जिल्ला समन्वय समितिले आर्थिक बर्ष २०७४/ ०७५ को लागि भुमि कन्स्ट्रक्सनलाई १८ करोडमा खोला ठेक्का दिएकोले त्यसको अनुपात अनुसार भ्याट सहित ७४ लाख ठेक्का निर्धारण भएको र सोही अनुसार ठेक्का लगाइएको केराबारी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत डम्बरु बल्लभ बरालले जानकारी दिए ।

बरालका अनुसार सरकारले वन क्षेत्रको रूपमा परिभाषित गरेको केराबारीस्थित कदम खोलाको तल्लो नाकाको १ किलोमिटर लामो क्षेत्रमा हालै गाउँपालिकाले यसअघि जिल्ला समन्वय समितिले खोला ठेक्का दिएको ठेकेदार कम्पनी भुमि कन्स्ट्रक्सनले नै थप ठेक्का पाएको छ । खोलामा थप ठेक्का लागाउनुपरे साबिक ठेकेदार कम्पनीलाई नै दिने जिल्ला समन्वय र ठेकेदारबिचको सम्झौता बमोजिम नै ठेक्का दिइएको बरालले बताए । उनका अनुसार ठेक्काबाट प्राप्त आम्दानी गाउँपालिकाको राजस्व खातामा जम्मा हुनेछ ।

असार १ देखि भदौ मसान्तसम्म खोला पस्न निषेध हुने भएकोले ठेक्का अनुसार ठेकेदारले यही जेठ मसान्तभित्र  खोलाबाट गिटी वालुवा निकालिसक्नुपर्नेछ । त्यस हिसाबले ठेकेदारले करिब दुई हप्ताको लागि ठेक्का पाएका छन् । एक किलोमीटर क्षेत्रमा ५५ मीटर चौडाइ र १.१० मीटर गहिराई मात्रै उत्खनन गर्न पाउने गरी ठेक्का दिइएको गाउँपालिकाले जनाएको छ । जेठ १९ गतेदेखि उत्खननमा हाल जिल्ला वन कार्यालयका प्राबिधिक बसेर च्यानलाइज गराउने काम भइरहेको छ ।

खदम खोलामा प्राकृतिक दोहन भएको र मापदण्ड मिचिएको भनी बारम्बार बिवाद हुदै आएको छ । तर समय समयमा जिल्ला समन्वय समितिका प्राबिधिकहरुले पनि अनुगमन गर्ने र जिल्ला वनका  प्राविधिक बसेर मात्रै उत्खनन गर्ने अनुमति दिइएकोले सो ठेक्कामा मापदण्डको पुरा पालना हुने गाउँपालिकाले दाबी गरेको छ । – अम्बिका भण्डारी 

7,262 total views, 2 views today

तपाईको प्रतिक्रिया