पथरी, मोरङ /  सुनचाँदी व्यवसायी संघ पथरीशनिश्चरे नगर समिति मोरङले सरकारले सुन व्यवसायको नीति नवनाएर अनाहकमा दुःख दिँदा परम्परादेखि चल्दै आएको व्यवसायलाई संकटमा पारेको आरोप लगाएका छन् ।

संघले आज पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो लेनदेनको कारोवार मिलाउन धरान गएको बेला संघका नगर अध्यक्ष नरेशकुमार विश्वकर्मा घतानी र छोरा सुशान्तलाई पक्राउ गरिएको घटनाप्रति खेद व्यक्त गर्दै सरकारलाई नीति वनाउन माग गरेको छ ।
घतानीले जेठ २१ गते धरान १० मुनालपथका आफ्नो कारोवारका साहु प्रेम चोङ्वाङलाई ०७३ भदौ १० गते इटहरीस्थित फाइभ स्टार वुलियन्सबाट खरिद गरेको ५ सय ग्राम र बाँकी आफ्ना पुराना गरगहना जम्मा गरेर रिफाइन गराई ७ सय १२ ग्राम बुझाउनु भएको थियो । चोङ्वाङले नै धरान २ को किसन बम्बैयाकोमा रिफाइन गर्न लगाएर आफुले पाउने रकमबाट सुन नै लिइसकेपछि इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले घतानीलाई पक्राउ गर्नुभएको थियो । लामो सयमदेखि इमान्दारितापूर्वक व्यवसाय गर्दै समाजसेवामा सक्रिय घतानीलाई त्यसरी पक्राउ गरी समग्र व्यवसायिलाई नै त्रसित वनाउनु निन्दनीय काम भएको संघका नगर उपाध्यक्ष डम्बरबहादुर थापा र सचिव रमेश खत्रीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । साढे ३३ किलो सुन तस्करी काण्डको चर्चाको फाइदा उठाउँदै वैधानिक पसल खोलेर लामो समयदेखि व्यवसाय गर्नेको सुनमा भएका ससाना समस्या खोजेर सुन व्यवसायिलाई त्रसित वनाउन खोज्नु सुरक्षाकर्मीको रवैया भएको संघले टिप्पणी गरेको छ ।
विज्ञप्तिमा, सुन व्यवसायको नीति बनाउन माग गरिरहँदा पनि सरकारले नीति नवनाएर आफुहरुलाई व्यवहारिक रुपमा हुने तिरोभरोको कारोवारमा समेत विल विनाको कारोवार भन्दै अप्ठेरो पार्न नहुने जिकिर गरिएको छ ।
यसैवीच, पथरी उद्योग वाणिज्य संघले पनि एक विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानविन गरी घतानीलाई रिहाई गर्न र व्यवसायिलाई त्रास सिर्जना नगरी आफ्नो व्यवसाय गर्ने वातावरण वनाउन सम्बन्धित पक्षसँग माग गरेको छ । अध्यक्ष दीपक वस्नेत र महासचिव अशोककुमार राईले विज्ञप्ति जारी गर्दै त्यस्तो माग गर्नुभयो ।

2,722 total views, 4 views today

तपाईको प्रतिक्रिया