करिब २७ करोड खर्चेर थ्रीस्टार होटलको स्तर, मापदण्ड र आधार पु¥याई धनकुटा हिलेको चुच्चे डाँडामा खोलिएको पूर्वीपहाडकै ठूलो र सुविधासम्पन्न होटललाई पर्यटक कमीले खर्च धान्नै धौधौ भएको छ ।

मुगाली थापाकाजीकै खलक पूर्वएसएसपी तथा विराटनगरस्थित रत्ना होटलका साहु रेवतबहादुर थापाले खोलेको होराइजन माउन्टेन होटलको त्यस्तो अवस्था भएको हो । फाट्टफुट्ट विदेशी पर्यटक आइपुग्ने यस होटलमा हाल मासिक सरदर दुर्ई तीन सय मात्रै बास बस्ने गरेका छन् ।

नेपाली सेनाको हिले बाहिनीसँगै जोडिएको होटल जम्मा ४९ रोपनी जग्गाको कम्पाउण्डमा अवस्थित छ । ३७ वटा कोठा छन् जसमा एकैपटक ७५ जनासम्म आगन्तुक बस्न सक्छन् । हेलिप्याड पनि छ । आफ्नै तरकारी खेती भएकाले चाहिने अर्गानिक सागसब्जी परिपूर्ति हुन्छ । गाई र भैंसी पालनसमेत गरिएकाले दूध पनि बाहिरबाट किनिरहनु पर्दैन । होटलको कम्पाउण्डभित्रै आकर्षक चिया बगान र बगैंचा छ ।

पर्यटन बोर्डको पूर्व सदस्यसमेत रहेका थापाकाजीको होटलबाट कञ्चनजंघा, मकालु, सगरमाथाजस्ता धेरै हिमाल र हिमशृंखला अनि संखुवासभा, भोजपुर, तेह्रथुम, पाँचथर, इलाम, उदयपुर, खोटाङ, सोलु, ओखलढुंगा र तराईका केही भागको दृश्यावलोकन गर्न सकिन्छ । ठण्डा ठण्डा मौसममा रम्न सकिने होटलमा दुई दर्जनले रोजगारी पाएका छन् । भविष्यमा विराटनगरमा रहेको रत्ना होटलमा बस्ने पर्यटकलाई प्याकेज बनाएर हिले ल्याउने योजना छ । – अम्बिका भण्डारी (जनआस्था साप्ताहिकबाट)

5,168 total views, 2 views today

तपाईको प्रतिक्रिया