पथरीशनिश्चरे /  नेदरल्याण्ड सहितका ५ देशका अधिकारीहरुले मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका कुष्ठरोग निवारणको प्रभावकारिताका बारेमा अध्ययन अवलोकन गरेका छन् ।
कुष्ठरोग निवारण अभियानमा सघाएको नेदरल्याण्ड लेप्रोसी रिलिफ (एनएलआर) ले सञ्चालन गरेको कार्यक्रमको प्रभावकारिता अध्ययन अवलोकनका क्रममा लेदरल्याण्ड, ब्राजिल, इन्डोनेशिया, मोजाम्बिक र भारतका अधिकारीहरु सहभागी भएका हुन् ।

नेपालस्थित कुष्ठरोग नियन्त्रण महाशाखा निर्देशक मोहमद दाउदको अगुवाईमा आएको टोलीले नगरमा पछिल्लो पटक फेला परेका ९ जना कुष्ठरोगीका बारेमा जानकारी लिँदै वडा नम्वर १ की एकजना ६० वर्षीय महिला कुष्ठरोगीलाई भेटेको छ । जटिल प्रकारको कुष्ठरोगको लक्षण देखिनासाथ गत वैशाख ३० गतेबाट औषधि खान सुरु गरेकी ती महिलाको बारेमा जानकारी लिने काम भएको नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाउनु भएको छ ।

नगरपालिकाले सञ्चालन गरेको कुष्ठरोग निवारण अभियान अन्तर्गत कुष्ठरोगी, उसको परिवार तथा आसपासका छिमेकीलाई रोग लाग्न नदिने अभियान (एलपेप) अन्तर्गत औषधि खुवाउने काम सम्पन्न भएको टोलीलाई जानकारी गराइएको छ । नगर प्रमुख दिलीपकुमार राईले टोलीलाई त्यसबारेमा जानकारी गराउनु भयो । कुष्ठरोग निवारणका लागि नगर प्रमुखको चासोमा नगरपालिकाको सक्रियता रहेकोप्रति टोलीले खुसी व्यक्त गरेको छ ।
८० वर्षमाथिकाहरुका लागि घरघरमै चेकजाँच, ७० वर्षमाथिकालाई १ नम्वर प्रदेशभरी उपचारमा एकतर्फी एम्वुलेन्स भाडा, अवकासप्राप्त महिला स्वास्थ्य स्वयमसेविकालाई जनही ५० हजार प्रदान, ५ प्रकारका जटिल रोगीका लागि जीवनमा एकपटक १५ हजार सहयोगका नगरका स्वास्थ्यका कार्यक्रम जानकारी गराइएको थियो । स्वास्थ्य क्षेत्रमा सञ्चालन गरेका यसप्रकारका कार्यक्रमहरु नमूना प्रकारको भएको विदेशबाट आएका संस्थाका अधिकारीहरुले व्यक्त गरेको एनएलआर नेपालका निमित्त कार्यकारी निर्देशक नन्दुलाल वास्तोलाले जनाउनु भयो ।

संघीयता कार्यन्वय इकाई प्रमुख समेत रहनु भएका कुष्ठरोग नियन्त्रण महाशाखाका निर्देशक मोहमद दाउदले पथरी स्वास्थ्य चौकीलाई ५० शैयाको अस्पताल वनाउन भएको मागमाथि आफुले सहयोग पुर्याउने बताउनु भयो । नगरपालिकाले सो टोलीलाई वडा नम्वर २ मा बनेको स्वास्थ्य चौकीको नयाँ भवन र त्यही वन्ने योजना अघि बढाइंदै गरेको ५० शैयाको अस्पतालको बारेमा अवलोकन गराएको थियो ।
टोलीले झापाको कमल गाउँपालिकास्थित लखनपुरका २ ठाउँमा पनि कुष्ठरोग निवारणको प्रभावकारिता अध्ययन अवलोकन गरेको छ ।

5,718 total views, 2 views today

तपाईको प्रतिक्रिया