मोरङ ।सरकारले झापाको शान्तिनगरबाट मोरङको मधुमल्ला, लेटाङ, केराबारी अनि सुनसरीको धरानबाट उदयपुर, सिन्धुली, हेटौंडा हुँदै महाकालीसम्म पुग्ने चुरेफेदी मार्ग निर्माण गर्ने भएको छ ।

आइतबार  बसेको मन्त्रिपरिषद्को बैठकले करिव १२ सय किलोमिटर लामो सो राजमार्ग बनाउने निर्णय  गरेको हो । भौतिक मन्त्रालयको प्रस्तावअनुसार यो निर्णय भएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

यो राजमार्ग झापाको शान्तिनगरबाट सुरु भइ मोरङको मधुमल्ला, लेटाङ, केराबारी हुँदै सुनसरीको धरानबाट, चतरा, गाइघाट, कटारी, सिन्धुलीमाढी, हेटौंडा, गैंडाकोट, रामपुर, रिडी, तम्घास, शिमलटारी, प्युठान, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बड्डीचौर, सिमचौर, वीपीनगर, सहजपुर, बुडर, जोगढुवा र रुपालसम्म पुग्नेछ ।

यो राजमार्ग निर्माण भएमा पुर्व पश्चिम राजमार्गको विकल्प तयार हुनेछ । पूर्वपश्चिम राजमार्गमा बन्द–हडताल भएको अवस्थामा विकल्पको रुपमा यो राजमार्गलाई प्रयोग गर्न सकिन्छ ।

करिब १० बर्ष अघि उत्तरी मोरङ र धरानका स्थानीय बासिन्दाको पहलमा चुरे फेदी राजमार्गको अबधारणा ल्याइएको थियो । त्यसबेला चुरे फेदी सडक निर्माण समिति गठन भएपछि स्थानीय र केन्द्रिय बजेटबाट सडक निर्माणको काम भइरहेको छ । सो सडकको लेटाङबाट पश्चिमतर्फ एक दुई किलोमीटर पिच समेत गरिएको छ । सो सडकका  विभिन्न खण्डहरु यसअघि निर्माणाधिन अवस्थामा छन् ।

चुरे फेदी सडककै अबधारणा अनुसार उत्तरी मोरङको लेटाङ पश्चिमपट्टी चिसाङ खोला, मधुमल्ला पुर्वको खोला, केराबारी र पानमाराको सिमानामा रहेको खोलामा  पुल निर्माणाधिन छन् भने चतारास्थित सप्तकोशी नदीमा पुल समेत निर्माण भइसकेको छ ।

यो मार्ग निर्माणका लागि झापा, मोरङ र सुनसरीको उत्तरी क्षेत्र तथा उदयपुरबासीले दशकभन्दा एक लामो समयदेखि पहल  गर्दै आएका थिए । चुरे फेेदी राजमार्गको अबधारणा अनुसार मोरङको लेेटाङ, केराबारी हुदै धरानसम्मको कच्ची सडक बनिसकेको छ । त्यतिमात्र होइन,   यो सडकलेे चुरे तथा भित्री मधेसको उपत्यकालाई जोड्नेछ । यो राजमार्गको नाम मदन भण्डारी राजमार्ग राखिएको  छ ।

4,173 total views, 2 views today

तपाईको प्रतिक्रिया