अम्बिका भण्डारी / पुर्व पश्चिम सडक बिस्तारका क्रममा बेलबारीमा रहेको पुरानो सार्वजनिक शौचालय र मलामी खाजाघर भात्काइएपछि बेलबारी बजारमा दुवैको अभाव खड्किएको छ ।

बेलबारी नगरपालिकाको पश्चिम सिमाना किस्ती पुलदेखि साढे ८२ फुटभित्रका घर टहरा लगायतका संरचना भत्काउंदै पुर्व जाने  क्रममा बुधबार बेलबारी बजारको पश्चिमपट्टी लोहोन्द्रा खोला छेउमा रहेको शौचालय स्काबेटर लगाएर भत्काइएपछि बेलबारीको राजमार्ग क्षेत्र सार्वजनिक शौचालयबिहिन बन्न पुगेको छ ।

धेरै पहिले बनाइएको भएपनि सो शौचालय दुई चार बर्षयता मर्मत अभावमा अलपत्र अबस्थामा थियो । अरु दिन दैनिक दुई चार जनाले शौचालय प्रयोग गरेपनि हरेक सोमबार लाग्ने सोमबारे हटियाका दिन भने दिशा पिसाब गर्नेहरूको भिड हुन्थ्यो । सो शौचालयको रेखदेख र सरसफाइका लागि छेउमा टहरा बनाएर राधा मल्लिकको परिवार बस्दै आएको भएपनि उनीहरूले परिवार धान्न पनि धौ धौ परेको बताउने गरेका थिए । त्यसबाट  नगरपालिकाले एक सुको पनि आम्दानी लिएको थिएन । पुर्व पश्चिम् सडक नजिकै रहेको शौचालय र टहरा भत्केपछि मल्लिकको परिवार बिस्थापित भएको छ । त्यसैगरी रांगा, भैंसी आदि पशुको बध र  सोमबार मासु बेच्न बनाइएको बधशाला पनि भत्काईएको छ ।

अर्को शौचालयमा हटियाको दिन मात्र भिड

त्यसो त बेलबारीमा अर्को शौचालय पनि नभएको होईन तर सोमबार लाग्ने सब्जी बजार नजिकै रहेको सो शौचालयमा धेरै बटुवा र सर्वसाधारणको नजरबाट टाढा छ । त्यहाँ चर्पी भएको थाहा भएपनि त्यो राजमार्ग भन्दा केही भित्र र मुख्य बजारबाट अलि टाढा भएकोले त्यहाँ धेरै मानिसहरु पुग्दैनन् ।

भत्काइयो मलामी खाजाघर पनि

त्यसैगरी लोहोन्द्रा खोलाको पश्चिमपट्टि लोहोन्न्द्रा पुलदेखि दक्षिणपट्टी रहेको मलामी खाजा घर पनि स्काबेटर लगाएर भत्काइएको छ ।

लोहोन्द्रा खोलामा मलामी आएकालाई बस्न केही बर्षअघि बनाइएको मलामीघर भत्काइएको छ । मलामीघर सडकलाई असर गर्ने स्थानमा नभएकोले सो भत्काएकोमा धेरैले नगरपालिकाले गलत काम गरेको टिप्पणी गरेका छन् ।

भत्किए मन्दिर र घर पनि

त्यसो त सडक बिस्तारका क्रममा इलाका प्रहरी कार्यालय अगाडि रहेको मन्दिर पनि भत्काइएको छ । सडक क्षेत्रमा पर्ने प्रहरी कार्यालयका टहरा भत्काउने क्रममा मन्दिर भत्काइएको हो ।

त्यसो त राजमार्गको क्षेत्र सफा गर्ने क्रममा लालभित्तिदेखीका केही घर पनि भत्काइएका छन् । थापा चोकको फलैंचा भत्काइए पनि संगै रहेको शिवालय मन्दिर  स्थानीय लक्ष्मण थापाले केही दिनमा भत्काउने शर्त गरेपछि छाडिएको छ । लोहोन्द्रा पुल छेउमा मलामी घरको उत्तरपट्टी लालालभित्तिका  केही घर बेलबारी २ का वडाध्यक्ष घनश्याम गौतमले जिम्मा लिएर तत्काल भत्काइएका छैनन् । त्यसबाहेक लालभित्तिमा प्रदिप गुरुङ र लोकनाथ ढकाल लगायतका घरका अगाडि जोडेर कर्कटपाता हाली बनाइएका संरचना भत्काइएका छन् । बुधबार बेलबारी बजारको पश्चिमपट्टी उत्तरका केही घरका अघिल्ला भाग भत्काइएका छन् । सडक बिस्तारको काम बुधबार बेलबारीको पेट्रोल पम्पसम्म पुर्याइएको छ ।बिस्तारका क्रममा पेट्रोलपम्पको छानोको केही भाग काटिएको छ ।

महत्वपूर्ण संरचना पुनर्निर्माण गरिने

बेलबारी नगरपालिकाका प्रकाशकीय अधिकृत गणेश दाहालले सार्वजनिक शौचालय, मलामी खाजा घर, मठमन्दिर जस्ता संरचना उपयुक्त स्थानको ब्यबस्थापन गरी नगरपालिकाले पुनर्निर्माण गर्ने बताउनुभयो ।

यो पनि …

13,861 total views, 2 views today

तपाईको प्रतिक्रिया