अम्बिका भण्डारी, बिराटचोक ।  जिल्लाकै उत्कृष्ट भनी प्रचारबाजी गरिदै आएको मोरङको सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव ढकालको मनोमानी प्रवृत्तिप्रति बाम गठबन्धनको स्थानीय नेतृत्व रुष्ट बन्दै गएको छ  ।

नगरपालिकाले बिज्ञहरुसंग समन्वय र नगरसभाबाट पारित गर्नुपर्नेमा सरकारी मापदण्डलाई मात्र आधार मानी हचुवाको भरमा कर निर्धारण गरी जनताको ढाड सेकेको भन्दै अन्य कतिपय बिषयमा बाम गठबन्धन चिढिएको हो ।  जनताले चौतर्फी विरोध गरिरहे पनि सुनुवाइ नगरेको भन्दै बाम गठबन्धनले आइतबार मेयर शिव ढकाललाई तीन बुंदे ज्ञापनपत्र बुझाएको छ ।

आइतबार  नेकपा एमाले र नेकपा माओवादी (बाम गठबन्धन) ले सयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमा दुई नगरपालिका हुँदा आ आफ्नो तरिकाले निर्धारण गरेको  कर ब्यबस्थालाई  बढी निर्धारण भएको करका आधारमा पुरानै ब्यबस्था अनुसार लागू गरिएकोले त्यो अबैज्ञानिक र अब्यबहारिक भएको आरोप लगाइएको छ । स्थानीय तहको निर्वाचनपछि प्रथम नगर परिषदमा समेत सो बिषयमा पुनरावलोकन नगरेको भन्दै ज्ञापनपत्रमा बिज्ञहरुसंग परामर्श गरी  करका दायरा फराकिलो बनाउदै करको दर घटाउन माग गरिएको छ ।

त्यसैगरी अर्को बुंदामा जनताले सुबिधाको अनुभुति गर्न नपाएकोले नगरपालिकाको सेवा प्रवाह चुस्त दुरुस्त, पारदर्शी र उत्तरदायी बनाउन माग गरिएको छ । ज्ञापनको अर्को बुंदामा नगरसभामा व्यापक छलफल नगरी अपारदर्शी र आसमान बितरण प्रणाली अपनाएर वडाहरुमा समान रूपमा योजना नदिइएको उल्लेख गरिएको छ । वडाका सिलिङ बजेट वृद्धि गर्न र विधि, पद्धति र पारदर्शी निर्णय प्रक्रिया अपनाइ नगरस्तरीय योजना संचालन गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ  ।

नेकपा माओवादी केन्द्रका नगर संयोजक अरुण सुन्दास र नेकपा एमालेका नगर संयोजक केदार गुरागाइद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझ्दै मेयर शिवप्रसाद ढकालले कतिपय बिषयमा कमी कमजोरी भएको स्वीकार गरे । उनले बाम गठबन्धनले दिएका सुझावलाई अक्षरस: कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाए । तर असमान र अपारदर्शी बितरण प्रणाली अपनाइएको र नजिक भएकाहरुलाइ बढी योजना पारेको आरोप भने अवीकार गरे । उनले हालसम्म भएका कार्यपालिकाका सबै बैठकमा सर्वसम्मत निर्णय भएको दाबी गर्दै बजेटमा आफ्नो हस्ताक्षर जचल्ने भएकोले आफुले सिलिङ बजेटको रकम हेरफेर गर्न नसक्ने जिकिर गरे ।उनले  प्रदेश सरकार नबनेसम्मका लागि भन्दै करका दायरा घटाइएकोले आफ्नो मजबुरी बुझिदिन आग्रह गरे । नगरपालिकामा बुझाइएको ज्ञापनपत्रको बोधार्थ जिल्ला समन्वय समिति मोरङ र नगरपालिकाका सबै वडाहरुमा दिइएको छ । सुन्दरहरैंचामा कांग्रेसले मेयर जितेपनि उपमेयर सहित बाम गठबन्धन बहुमतमा छ ।

ज्ञापनपत्र बुझाउन झण्डै सय नेता कार्यकर्ता गएका थिए । ज्ञापनपत्र बुझाउन गएकाहरुले नगरपालिका कार्यालय सलकपुरमा सार्ने बिषयमा जिज्ञासा राखेका थिए । सो बिषयमा मेयरले माथिल्लो निकायबाट स्वीकृत भएर आउनासाथ भवनको निर्माण थाल्ने जवाफ दिएका थिए । गछिया र बुढीखोला नियन्त्रण र तटबन्धका लागि पहल नभएको गुनासोको जवाफमा ढकालले  अनियन्त्रित रुपमा उत्खनन भइरहेकोेले आफुले केही गर्न नसक्ने भन्दै लाचार जवाफ दिएका थिए ।

ज्ञापनपत्र बुझाएपछि मेयरले दिएका कतिपय जवाफ चित्त नबुझेका कारण बाम गठबन्धनका नेताहरुले केही पत्रकारसंग भेटघाट गरेर असन्तुष्टि पोखेका थिए । नेता केदार गुरागाइले आफुहरुले कसैका विरुद्ध नभइ सुन्दरहरैंचाको बिकास र समृद्धि चाहेको बताए । उनले नगरसभाले अधिकार नदिएपनि मेयरले बिषेशाधिकार प्रयोग गरिरहेको बताए ।

ज्ञापनपत्रका मागहरू (जस्ताको तस्तै) 

१) कर सम्बन्धमा – विगतमा दुई नगरपालिका (कोशीहरैचा र सुन्दरदुलारी) ले आ-आफ्नो नगरपालिकामा निर्धारण गरेको कर व्यवस्थालाई हाल एकीकृत बनेको सुन्दरहरैचा नगरपालिकाले लागू गरेको छ । जुन अवैज्ञानिक र अव्यावहारिक छ । दुवै नगरपालिकाले आ-आफ्नो नगरपालिकामा विभिन्न क्षेत्रमा लगाएको कर मध्ये जुन जुन क्षेत्रमा बढी कर लगाइएको थियो, त्यसलाई नेपाल सरकारको निर्णय बमोजिम सुन्दरहरैचाले कार्यन्वयन गर्दै आएको कुरा सर्वविदितै छ । हाल सम्म स्थानिय तहको निर्वाचन र नगरको प्रथम परिषद समेत सम्पन्न भैइसकेका छन । गत परिषदबाटै उक्त अवैज्ञानिक तथा अव्यावहारिक करलाई वैज्ञानिक तथा जनपक्षिय रुपमा संशोधन गरि कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्नेमा उक्त कार्य नगरी पुरानै कर कार्यान्वयन गर्दै आएको यस नगरपालिकालाई विज्ञहरु सग अन्तर्क्रीया तथा परामर्श गरि करका दायराहरुलाई फराकिलो बनाउदै करको दररेट घटाउन नगरपालिका समक्ष जोडदार माग गर्दछ ।

२) सेवाप्रवाह सम्बन्धमा –  स्थानीय तहको निर्वाचनका समयमा सिंहदरबार घरघरमा भन्ने नारालाई व्यापक बनाईएको थियो  । निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिहरुको आगमन भएसगै जनतामा ठूलो उत्साह छाएको थियो तर साधनस्रोतको अभाव भएर हो वा आवश्यक जनशक्ति को व्यवस्थापन नभएर हो , जनताले सुविधाको अनुभूति गर्न पाएका छैनन । कर्मचारीहरुको जिम्मेवारीलाई परिभाषित गरि सेवा प्रवाहलाई चुस्तदुरुस्त पारदर्शी र उतरदायी बनाउन हामी जोडदार माग गर्दछौ ।
३) असमान तथा अपारदर्शी  बितरण – सुन्दरहरैचाको वितरण प्रणाली असमान रहेको छ । नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत कुनै वडाहरुमा धेरै योजना र कुनै वडाहरुमा नगण्य योजना मात्रै पारीएको छ भन्ने सेवाग्राही जनताको निष्कर्ष रहेको छ । नगरसभामा व्यापक छलफल नगरीकन असमान र अपारदर्शी ढङ्गले योजना वितरण गर्ने परिपाटीले जनतामा व्यापक आक्रोश पैदा भएको छ । मुख्यत: वडामा विकासको योजना सहज ढङ्गले अगाडि बढाउन वडाको सिलिङ बजेटमा वृद्धि गरि नगरस्तरीय योजनाहरुलाई पनि विधि, पद्धति र पारदर्शी निर्णयमा पुगि कार्यान्वयन गर्न आवश्यक देखिन्छ। यस तर्फ नगरपालिकाको ध्यान जोडदार रुपमा आकर्षित गर्न चाहान्छौ ।
अत: पारित करको दरमा वैज्ञानिक र जनपक्षिय रुपले आवश्यक संशोधन गरि कार्यान्वयन गर्न, सेवाग्राहिलाई चुस्तदुरुस्त,पारदर्शी र उतरदायी सेवासुविधा प्रदान गर्न र वितरणको सम्बन्धमा सुन्दरहरैचाका सबै वडाहरुमा जनताहरुको चितबुझ्दो वितरण प्रणाली कायम गरि वितरण गर्न संयुक्त वाम गठबन्धन सुन्दरहरैचा नगरपालिकालाई गम्भीर ध्यान आकर्षित गराउदै जोडदार माग गर्दछ ।

यो पनि पढ्नोस –

14,587 total views, 6 views today

तपाईको प्रतिक्रिया