विराटनगर/ पत्रकार महासंघ प्रदेश समितिमा तीन दलिय गठबन्धनको प्यानल नै बिजयी भएको छ ।

शनिबार भएको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार गोपाल देवानलाई पराजित गर्दै प्रेस यूनियन, प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानलका उम्मेद्वार अध्यक्ष विक्रम लुइटेल निर्वाचित भएका छन् । लुइटेलले ९३१ मत प्राप्त गरेका थिए भने देवानले १६२ मत प्राप्त गरेका थिए । प्रेस चौतारीको केन्द्रीय लेखा आयोग संयोजक समेत रहेका लुइटेल लामो समयदेखि विराटनगरमा रहेर पत्रकारिता क्षेत्रमा कृयासिल छन् ।

महासंघको उपाध्यक्षमा इलामका सोमनाथ सुसेली,महिला उपाध्यक्ष धनकुटाकी स्मीता निरौला, महासचिवमा बिराटनगरका बिबेक गौतम निर्वाचित भएका छन् ।

शुसेली  प्रेस युनियनबाट उपाध्यक्षको उम्मेद्वार बनेका थिए । संयुक्त प्यानलबाट  उपाध्यक्षका उम्मेद्वार सुसेलीले ९२३ मत प्राप्त गर्दा स्वतन्त्रका उम्मेद्वार बिजय खतिवडाले १५६ मत प्राप्त गरेका थिए । महिला उपाध्यक्षमा निरौलाले ८५४ मत प्राप्त गरेकी थिइन् । स्वतन्त्र उम्मेद्वार ममता चाम्लीङले २१० मत प्राप्त गरेका थिइन् ।

महासचिवमा संयुक्त प्यानलका विबेक गौतमले ८८४ मत प्राप्त गरेका थिए भने स्वतन्त्र उम्मेद्वार कमन देवानले १९० मत पाएका थिए ।  प्रेस सेन्टरका केन्द्रीय सचिव गौतम विराटनगरबाट प्रकाशित हुने जनविद्रोह दैनिकका प्रधानसम्पादक हुन् ।

खुला सचिबमा हरिकुमार राई यसअघि नै निर्बिरोध निर्वाचित भइसकेका छन्  । समावेशी सचिवमा संयुक्त प्यानलका बुद्धविर राई निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा अम्बिका भण्डारी पनि निर्बिरोध भइसकेकी छन् ।

सदस्यहरुमा संयुक्त गठबन्धनको खुला तर्फ डिल्लीराम खतिवडा, तिर्थ सिग्देल बुद्धिप्रसाद लामिछाने, बिपेन्द्र गौतम र शशि कोइराला बिजयी भएका छन् । समाबेसी मधेसी तर्फ ब्रम्हदेव यादव र जयकिसन यादव निर्वाचित भएका छन् । २१ सदस्यीय समितिमा अन्य सदस्यहरु निर्बिरोध भइसकेका थिए  ।

2,891 total views, 2 views today

तपाईको प्रतिक्रिया