धनजीत पराजुली ,लक्ष्मीमार्ग, मोरङ / यहि बैशाख १४ गतेदेखि शुरु भएको कक्षा १२ को परीक्षामा एकजना  परीक्षार्थी एकमन, एकधुनमा धमाधम लेखिरहेका देखिन्छन । उनी दायाँबायाँ कतै नहेरी खाली आफ्नो उत्तरपुस्तिका मात्र केन्द्रित छन् । त्यहाँ अरु जोसुकै निरीक्षक आओस्, एक नजर उनीमाथि नगई छाड्दैन ।

परम्परावादी अन्धविश्वासले जकडिएको यहाँको समाज  एक उमेर समूहका विद्यार्थी बाहेक अन्य विशेष विद्यार्थीलाई टिकाटिप्पणी गर्ने, हियाउने, निरुत्साहित गर्ने गर्दछन् । तर त्यस्तो नकारात्मक टिकाटिप्प्णी र चुनौतिलाई चिर्न बेलबारी नगरपालिका वडा नं. ११ लक्ष्मीमार्ग अवस्थित लक्ष्मी मावि केन्द्रमा शान्ति भगवती मावि लेटाङका ५३ वर्षको उमेरमा परीक्षा दिइरहेका  छन् ध्यानबहादुर राई ।

लेटाङ नगरपालिका– ३ कमलपुर निबासी खीराबहादुर र वर्मालक्षी राईका जेठा छोरा हुन् उनी । उनी श्री शान्ति भगवती उमाविको मानविकी संकायका कक्षा– १२ का नियमित विद्यार्थी भएकाले उनी अहिले नियमित परीक्षार्थी हुन् ।

मानिसको जीवनमा केही गर्ने इच्छा र पढाइलाई उमेरले छेक्दोरहेनछ भन्ने ज्वलन्त उदाहरण बनेका छन् ध्यानबहादुर  । खोटाङको पत्करुको स्कुलमा प्रारम्भिक शिक्षा आर्जन गरी गरिबीका कारण बाबुआमासंगैै टाङमा बसाइँ सरी सानै उमेरमा यहाँ झरेको उनी सम्झिन्छन् । बस्दै, रहँदै जाँदा पढाइमा मिहिनेत गरेर पहिलोचोटि नै राम्रो अङ्क ल्याई उनले लेटाङबाटै एसएलसी उत्तीर्ण गरे ।

त्यसपछि उनलाई उच्च शिक्षा हासिल गर्ने प्रबल इच्छा हुँदाहुँदै पनि व्यवहारिक कठिनाइ र गरिबीका कारण उच्च शिक्षामा लम्किन नसकेर  महाभारत प्रावि गुवाबारी, लेटाङमा साढे पाँच वर्षसम्म शिक्षकका रुपमा काम गरे । त्यसबेला शिक्षण पेशाबाट सहज रुपमा जीविकोपार्जन हुन नसक्ने स्थिति देखेपछि शिक्षण आयोग भिडेर उत्तीर्ण गरिसकेर पनि नियुक्ती नलिई उनी विदेश हानिए । विदेशमै केही कमाइ हुन थालेपछि २० वर्षसम्म उनी कुबेतमा रोजगारी गरी बसे । त्यसपछि नेपाल फर्किए ।

आफुले केही कमाई गरेकोले गरिबी उन्मुलनमा सहयोग त पुग्यो तर चाहे बमोजिम छोराछोरीले शिक्षा हासिल नगरेको पाए उनले । नानीहरुलाई पूर्णरुपमा सुविधा दिँदा पनि पढाइप्रति प्रगति नभएको देख्दा र विगतमा पढाइबाट आफु बन्चित हुनुपर्दाको चोटका कारण ‘किन पढ्न सकिँदो रहेनछ ? पढ्न कत्तिको अप्ठ्यारो हुँदोरहेछ’ भनेर परीक्षणका लागि पनि उनी पढ्न थालेको बताउँछन् ।

तपाईप्रति गाउँका मान्छेको कस्तो प्रतिक्रिया छ भनेर सोध्दा उनी भन्छन्– ‘गाउँका मान्छेहरुको मिश्रित प्रतिक्रिया छ, प्रायःजसोले नकारात्मक दृष्टिकोण लगाउँछन् अनि निरुत्साहित वचनबाण हान्छन् । ‘मर्ने बेलामा हरियो काँक्रो’ सम्म भन्न छोडेका छैनन् । तथापि साथीभाइ, शुभचिन्तक, गुरुहरुले भने मलाई जहाँसम्म हौसला दिइरहेका छन् ।’

परिवारले पनि पूर्णरुपमा साथ दिएका छन् उनलाई । दैनिक रुपमा कक्षामा उपस्थित भएर प्रत्यक्ष सहभागितामा अध्ययन गर्न सुझाउँछिन् उनकी श्रीमती । आफ्नो इच्छा अनुसार अगाडि बढ्न र शैक्षिक योग्यता हासिल गर्नका लागि जीवन सँगिनीले कुनै बाधा व्यवधान हुन दिएकी छैनन् ।

तत्कालिन कट्टर परम्परावादी समाजलाई चुनौति दिँदै अन्तरजातीय विवाह गरेर समाजलाई आधुनिकतातर्फ डाहो¥याउन सहयोग पु¥याएका छन् उनले । अहिले उनकी श्रीमती पनि समाजमा केही गर्नुपर्छ भन्ने मान्यताका साथ समाज सेवामा ब्यस्त छिन् ।उनी सामुदायिक वन उपभोक्ता समितिमा रहेर सामुदायिक वन विकासमा सहयोग पु¥याउनुका साथै विभिन्न सामाजिक संघसँस्थामा पनि आवद्ध रही समाजसेवामा रमाएकी छन् । सामाजिक सेवा गर्दै आफ्नो पेशासँगसँगै अध्ययन कार्यलाई अघि बढाएका छन् ध्याबहादुरले पनि  । उनी इच्छाशक्ति भए जे गर्न सकिन्छ भन्ने मान्यता बोकेर अघि बढेका छन् ।

उनले  पढेर योग्यता प्राप्त गरेर जीवनको उत्तरार्दमा समाजको सेवा गर्न चाहेका छन् । देशमा कोही नपढेको मान्छे नहोस्, शैक्षिक दर उच्च भएर जावस् भन्ने चाहन्छन् उनी ।

बेलबारी नगरपालिका वडा नं. ११ लक्ष्मीमार्ग अवस्थित लक्ष्मी मावि केन्द्रमा शान्ति भगवती मावि लेटाङका आंशिक र नियमित गरी करिब ३०० जना कक्षा १२ का विद्यार्थीहरु अहिले परीक्षामा सम्मिलित छन् ।

12,786 total views, 2 views today

तपाईको प्रतिक्रिया