जनप्रतिनिधि आएको  झण्डै एक बर्षपछि  बेलबारी नगरपालिकाले पहिलोपटक पत्रकार सम्मेलन गरी नगरपालिकाका कामकारबाही सार्वजनिक गरेको छ ।

शुक्रबार नगरपालिका परिसरमा एक पत्रकार सम्मेलन गरी झण्डै एक बर्षयता भए गरेका कामकारबाही सार्वजनिक गरिएको हो । बेलबारी ३ का वडाध्यक्ष तथा नगरपालिकाका प्रबक्ता योगेन्द्र प्रसाद सुवेदीले खासगरी गत पुस २९ गते भएको प्रथम नगर अधिबेशनयता कार्यान्वयन भएका योजना र अन्य गतिविधिबारे जानकारी गराएका थिए । स्थानीय क्षेत्रमा कृयाशील आधा दर्जनभन्दा बढी सञ्चारकर्मीहरुको उपस्थितिमा गरिएको पत्रकार भेटघाटमा यही बैशाख १५ गते भएको नगरकार्यपालिका बैठकका निर्णयहरु समेत सार्वजनिक गरिएको थियोे ।

सार्वजनिक गरिएको विवरण अनुसार क्षेत्रमा चालू आर्थिक बर्षको बजेटबाट १० किलोमिटर सडक पिच भएको छ । त्यसैगरी करिब १५ किलोमीटर सडक ग्राभेलभएको  र ३ किलोमीटर ७७९ मिटर सडकको स्तरोन्नति भएको छ । ती योजनाको काम भइरहेको र यसै आर्थिक बर्षभित्र सम्पन्न हुने नगरपालिकाले जनाएको छ । बेलबारी नगरले कुल योजना मध्ये करिब ७० प्रतिशत काम सम्पन्न भइ सकेको प्रबक्ता सुवेदीले जानकारी दिए ।

त्यस्तै शिक्षा क्षेत्रमा विद्यार्थी भर्ना अभियान, शिक्षक तथा विद्यार्थीलाई पुरस्कार, बाल कक्षाका विद्यार्थीलाई खाजा खर्च, विद्यालयको अनुगमन जस्ता कार्यक्रम र योजना ल्याइएको र ती कार्यक्रम कार्यान्वयनकै क्रममा रहेको जानकारी दिइएको छ । मोरङका १३ वटा स्थानीय  तहले तयार गरेको शैक्षिक कार्यबिधी पारित गर्दा हाल बिवाद देखिएकोले त्यसलाई परिमार्जन गर्दै लगिने नगरपालिकाले जनाएको छ । एक प्रश्नमा बाहिरबाट स्थानान्तरण भइ आएका स्कुललाई स्वीकृति नदिने नीति लिइएको उनले बताए ।

चाडै नगर क्षेत्रका शिक्षक र अन्य कर्मचारीका लागि बिधुतीय हाजिरी लागु गर्ने तयारी भइरहेको नगरपालिकाले बताएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा पाठेघर जांच, आङ खस्ने समस्या, कुष्ठरोग जस्ता रोगको उपचारका लागि स्वास्थ्य शिविर सन्चालन गरिएको, माइक्रोस्कोपी क्याम्प समेत संचालन गरिएको तथा स्वास्थ्य स्वयंसेविकाको भत्तामा १ हजार थप गरिएको प्रबक्ता सुवेदीले बताए ।

सबैजसो योजनाका सम्झौता सम्पन्न

नगरपालिकाद्वारा उपलब्ध गराइएको बिवरण अनुसार ११ वटा वडाहरुमा संचालित १ सय १९ योजना मध्ये १ सय ८ वटा योजनाका सम्झौता भइसकेका छन् । जस अनुसार अब ११ वटा योजना मात्र सम्झौता हुन बांकी छन् । त्यस्तै  वडातर्फ २५ लाख बजेटका ११ वटा नगर स्तरीय भौतिक पुर्वाधार मध्ये सबै योजनाको सम्झौता भइसकेको छ ।

प्रदेश १ मै पहिलोपटक सम्बन्ध बिच्छेद

त्यसो त बेलबारी नगरपालिकाले न्यायिक समिति मार्फत प्रदेश नम्बर १ मै पहिलो पटक सम्बन्ध बिच्छेद गराएको छ । गत महिना  ३ हप्ता लगाएर एक दम्पतिको सम्बन्ध बिच्छेद गराएको र यो नै स्थानीय तहबाट छिनोफानो गरिएको प्रदेश १ को पहिलो मामिला भएको नगरपालिकाले दाबी गरेको छ ।

गम्भीर प्रकृतिका बिरामीलाई सहयोगका लागि बजेट थप

त्यसैगरी नगरसभाबाट पारित नितिगत कार्यक्रम अनुसार   बोनम्यारो ट्रान्सप्लाण्ट, क्यान्सर, मुटुरोगी, मृगौला प्रत्यारोपण र स्पाइनलकर्ड इन्जुरी सहित ५ प्रकारका बिरामीमध्ये १९ जनाले जनही २५ हजारका दरले उपचार खर्च पाएका   छन् । यसअघि त्यसको लागि ५ लाख बिनियोजन गरिएको र अपुग भएपछि बैशाख १५ गतेको कार्यपालिका बैठकले उक्त शिर्षकमा थप १२ लाख रुपैयाँ बिनियोजन गरेको नगरपालिकाले जनाएको छ । त्यसैगरी बैठकले नगरपालिकाको नयाँ भवनको म्याद थप गर्ने तथा नयाँ भवनकै तला थपको लागि स्वीकृति लिनेे,  विभिन्न कार्यबिधीहरु पारित गर्ने र लक्षित बर्गको कार्यक्रमका शिर्षक निर्धारण गर्ने निर्णय समेत गरेको छ ।

सन्चारकर्मीहरुकै पहल

जननिर्वाचित प्रतिनिधि आएयता बेलबारी नगरपालिकाले स्थानीय  सञ्चारकर्मीहरुसंग खासै समन्वय र सहकार्य गर्न नसकेपछि दुई हप्ताअघि मिडिया समाज मोरङको पहल र अगुवाइमा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी र स्थानीय सन्चारकर्मीका बिच भेटघाट र छलफल भएको थियो । पत्रकारहरुले सूचना प्रवाह गर्न नगरपालिकाले कन्जुस्याइँ गरेको गुनासो गरेपछि मेयर सुवेदीले अब आइन्दा प्रत्येक कार्यपालिका बैठकपछि हरेक महिना नियमित पत्रकार भेटघाट गर्ने, स्थानीय सञ्चार माध्यमहरुलाइ बिज्ञापन उपलब्ध गराउने तथा नगरपालिकाका प्रबक्ता र सूचना संयोजक मार्फत सबैजसो सूचना उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही प्रतिबद्धता अनुसार शुक्रबारको कार्यक्रम तय भएको थियो । नगरपालिकाले अब उप्रान्त हरेक महिनामा एकपटक पत्रकार सम्मेलन गर्ने घोषणा गरेको छ । – अम्बिका भण्डारी

4,071 total views, 2 views today

तपाईको प्रतिक्रिया