पथरीशनिश्चरे  । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा उत्तरी मोरङका पत्रकारहरूले बिहीबार बिहान पथरी बजारमा प्रभातफेरि गरेका छन् ।
नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार मञ्च र मिडिया समाज मोरङ (बेलबारी) को संयुक्त आयोजनामा भएको प्रभात फेरी स्थानीय जन आन्दोलन चौकबाट सुरु भई रत्न चौक–बुद्ध चौक–मन्दिर लाइन हुँदै पुन जनआन्दोलन चौकमा आएर समापन भएको थियो ।
समापनका क्रममा आयोजित कोण सभामा बोल्दै नेपाल पत्रकार महासंघका मोरङ सह सचिव सन्तोष राईले प्रेस स्वतन्त्रता संविधानको प्रस्तावनामा लेखिए पनि कार्यान्वयन हुन नसकेको बताउनु भयो । पथरीशनिश्चरे नगर पालिकाका प्रेस संयोजक भुपेन्द्रराज तिम्सिनाले प्रेस स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा बुधबार विराटनगरमा पत्रकार माथि प्रहरीका निलम्वित अधिकृतले गरेको दुब्र्यबहारको भत्र्सना गर्नुभयो ।

मिडिया समाज बेलबारीका अध्यक्ष अम्विका भण्डारीले प्रेस स्वतन्त्रताको रक्षाका लागि राज्य गम्भीर नभएको आरोप लगाउनु भयो । उहाँले अदालत परिसरमा नै पहरीले पत्रकार माथि आक्रमण गर्नु विधिको शासन विरुद्ध रहेको वहाँले उल्लेख गर्नुभयो । क्षितिज मिडिया प्रालिका सचिव तुलसी ढकालले प्रेसलाई मर्यादित र जिम्मेवार बनाउन सञ्चार माध्यम आफै सक्रिय हुनु पर्नेमा जोड दिनु भयो ।
शक्तिको निगरानी,मिडिया न्याय र विधिको शासन भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रभात फेरिमा उत्तरी मोरङका ४० बढी पत्रकारको सहभागिता रहेको थियो । प्रभात फेरीको आयोजना गर्नु पूर्व पत्रकारहरूले हातमा कालो पट्टी बाँधेर पत्रकार माथि भएको प्रहरी ज्यादतीको सांकेतिक बिरोध गरेका थिए । प्रेस स्वतन्त्रता दिवस हरेक वर्षको मे ३ तारिखको दिन मनाउने गरिन्छ ।

3,053 total views, 2 views today

तपाईको प्रतिक्रिया