सिड्नी । अस्ट्रेलियामा तिब्र रुपमा वृद्धि  भैरहेको नेपाली समुदायको इतिहासलाई सिड्नीको एक संग्राहलयले संकलन र संरक्षण गर्न थालेको छ ।

सिड्नीको दक्षिणमा रहेको हर्सभिल म्युजियम एण्ड ग्यालरीले गएको फेब्रवरी महिनादेखि नेपाली परिवारको बसाई सराई र उनीहरूको रहन सहन सम्बन्धी इतिहास संकलन र प्रदर्शन शुरु गरेको हो । “नेपाली स्पटलाइट डिस्प्ले” नाम दिइएको यो प्रदर्शनी आगामी जुलाईसम्म रहने संग्रालयद्धारा जारी रहने बताइएको  छ ।

उक्त डिस्प्लेमा सिड्नीको दक्षिण सेन्टजर्ज क्षेत्रमा करिव दुई दशक भन्दाबढी समयदेखि स्थायी रुपमा बस्दै आएको मनोहर तिवारी र पृती तिवारी परिवारको बसाईसराई सम्बन्धी कथा प्रदर्शनीमा समेटीएको छ ।

संग्रालयकी क्युरेटर डा. ब्रिजिट हेलमानको अनुसार संग्रालयमा नेपाली संस्कृति झल्कने हस्तकलाका सामन, म:म लगाएत खाना पकाउन प्रयोग हुने भाडांकुंडा, पुजाको थाली र करुवा लगाएतका सामानहरु संग्रहित छन् ।संग्रहमा तिवारी परिवारको नेपालहुँदै न्युजिल्याण्ड र अस्ट्रेलिया सम्मको बसाइसराई सम्बन्धी यात्रा बिवरण र पारिवारिक तस्विरहरु राखिएको छ ।

स्किल माइग्रेटको रुपमा अस्ट्रेलिया बसाइ सरेको तिवारी परिवारले बिदेशमा रहेर पनि नेपाली संस्कृति र परम्परालाई जिवितै राखेको कुरालाई संग्रहमा प्राथमिकता दिएको छ ।नव आप्रवासीको ब्यवस्थित बसोवासका लागि समुदायसँग काम गर्दै आएको एड्भान्स डाईभर्सिटी सर्भिसेजको सहकार्यमा हर्सभिल म्युजियम एण्ड ग्यालरीले नेपाली स्पटलाईट डिस्प्ले तयार गरेको हो ।

यसैबीच अस्टेलियन हेरिटेज फेष्टीभल २०१८ को अवसर पारेर नेपाली स्पटलाईट डिस्प्लेबारे जानकारी गराउने उद्देश्यले हर्सभिल म्युजियम एण्ड ग्यालरीले १२ मे का दिन  चियापान तथा नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

संग्रहालय रहेको जर्जेज रिभर काउन्सिलमा नेपाली चिनिया समुदाय पछि दोस्रो धेरै जनसंख्या भएको समुदायको रुपमा चिनिन्छ । सन् २०११ मा जम्मा १७ सय नेपालीको जनसंख्या रहेको यो काउन्सिलमा अहिले करिव पाँच हजार नेपालीको बसोवास रहेको छ ।

5,219 total views, 43 views today

तपाईको प्रतिक्रिया