बिक्रम सम्बत २०६३ बैशाख १२ गते राति बेलबारीको इलाका प्रहरी कार्यालयमै  रहनेगरी खटाइएको नेपाली सेनाको एक टोलीले स्थानीय २२ बर्षीया सपना गुरुङको बलात्कारपछि हत्या गरेको भन्दै भोलीपल्ट बिरोधमा उत्रिएका सर्वसाधारणलाइ सेना प्रहरीले अन्दाधुन्द गोली चलाँउदा  बेलबारी ३ का सुनिता ऋषिदेब, बेलबारी २ का प्रसाद गुरुङ,इन्द्रपुर ३ का फुर्बा तामाङ,इन्द्रपुर ४ का प्रभुनाथ भटराई,मृगौलिया ८ का छत्र बहादुर परियारको मृत्यु भएको थियो  ।

तत्कालै ६ जनाको ज्यान गएको सो घटनामा  पांच दर्जन सर्बसाधारण घाईते भएका थिए । सो घटनामा परी गम्भीर घाईते भएका बेलबारी ४ का गोपालचन्द्र गौतमले पिडा सहन नसकेपछि २०६६ चैतमा आत्महत्या गरेका थिए ।

तत्कालीन सरकारले घटनाको छानविन गर्न तत्कालिन सांसद परी थापाको संयोजकत्वमा गठित छानविन समिति गठन गरेको थियो । सो समितिले सरकारलाई दोषीलाइ कारबाही गर्न  मृतकका परिवारलाई १० लाख, अङभङग् भई घाइते भएकालाई ६ लाख, घाइतेलाई ७५ हजार र सामान्य घाइतेलाई २५ हजार क्षतिपूति दिन सिफारिस गरेको थियो । तर सरकारले मृतक परिवारलाई जनही ३ लाख, अङगभङ्ग भई घाइते भएका १० जनालाई जनही ७५ हजार, घाइते २२ जनालाई जनही २५ हजार र सामान्य घाइतेलाई १० हजारका दरले मात्र क्षतिपूर्ति र राहत दियो  ।

यसरी भएको थियो हत्याकाण्डको घटना 

२०६३ साल वैशाख १२ गते रातिको कुरा हो, सपना गुरुङको परिवार बेलबारीमा डेरा लिएर बस्थ्यो । राति करिव ९ बजेतिर नजिकै  हल्लाखालाको आवाज आयो । त्यतिबेलै सपना पनि घरमा देखिईनन ।  छिमेकी समेत मिलेर सपनाकी आमा शोभाले छोरीको खोजी गर्न थालिन्  । डेरा बसेको छेउमा बासबारीमा खोज्ने क्रममा सपनाको शब्हा भेटियो  ।

वैशाख १३ गते बिहानै हल्ला फैलियो, सेनाले सपनालाई बलात्कारपछि हत्या ग¥यो भनेर । निरंकुश शाही शासन अन्त्य भएको भोलिपल्टैको यो घटना सुन्नासाथ मोरङको बेलबारी, बिराटचोक, खोर्साने, गोठगाउँ क्षेत्रका मानिसहरु आन्दोलनमा उत्रिए ।१९ दिने आन्दोलन गरेर सरकार ढलाएका नागरिकमा एकातिर जीतको उत्साह नसेलाउदैको थामिनसक्नुको भीडले इलाका प्रहरी कार्यालय घेराउ गर्यो ।

मानिसको आक्रोसको रमिता अलि टाढैबाट हेरिरहेका थिए  गणेशप्रसाद दाहाल पनि ।जंगलमा गाईवस्तु छोडेर बेलबारी पुगेका दाहाल भिड भन्दा धेरै पर बसेर हेर्न लागे  । यहीबेला अचानक घुईंचो बढ्यो, अनि कोलाहाल मच्चियो । उनी पनि  नजिकैको घरको आडतिर अगाडी बढे । तर त्यत्तिकैमा चप्पल खुस्कियो, टाउकोमा लगाएको टोपी भुर्इंमा खस्यो । टिप्न खोज्दा खुट्टा चलेन । नजिकै रहेका मान्छे लडेको देखियो  ।

त्यसपछि के भयो थाहा छैन वृद्द भैसकेका  दाहाल सम्झन्छन् –‘घटना भएको ३८ दिनमा होस खोल्दा घोपा क्याम्पमा थिएँ । एउटा खुट्टोमा १० किलोको वजन झुन्ड्याइको थियो ।  ओल्टो कोल्टो फेर्न सक्ने अवस्थामा थिइन ।’

घटनामा परेर घाइते र अंगभङ्ग भएका डेढ दर्जन अझै उपचारको पर्खाइमा छन् । घटनामा ६ दर्जन मानिस घाइते भएका थिए । तर सरकारले उनीहरुलाई आश्वासन बाहेक अरु केही दिएको छैन । घाइते गणेशप्रसाद दाहाल भन्छन्  –‘उपचारका लागि २० लाख रुपैयाँ सकियो । दवाई गर्दा लागेको ऋण अहिले पनि तिरिसकेको छैन ।’ सेनाको गोली लागेर पूर्ण अशक्त बन्नुभएका भएकाहरुले  अपाङ्गताको  सामाजिक सुरक्षा वापतको भत्ता समेत पाउनु भएको छैन पाएका छैनन् ।

सपनाकी आमा शोभा गुरुङ्ग क्षतिपूर्तिबापत तीन लाख रुपैयाँ पाएको बताउदै भन्छिन – ‘यो देशमा मान्छेको ज्यानको मतलब नै नहुदो  रहेछ ।’बाह्र बर्ष दुःख र पीरमा बिताएकी  गुरुङले आश्वासन बाहेक अरु केही नपाएको बताइन्  । क्षतिपुर्तिको पैसा नपाएपनि छोरीको हत्या गर्नेलाई कारावही गरेको सुन्न पाए मनमा शान्ति मिल्थ्यो भन्छिन् शोभा  ।

हराइसक्यो न्यायको आश 

फायल तस्वीर : सपनाकी आमा र सपनाको छोरा

भनिन्छ बाह्र वर्षमा खोलो पनि फर्कन्छ । यही आशमा बेलाबारी घटनाका पीडितहरुले न्याय फर्कने आशामा दिन बिताए । राज्यले सुन्छ भनेर हरेक प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए । दोषीलाई कारवाही र पीडितलाई न्यायको माग राख्दै तत्कालीन प्रधानमनत्री गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधबकुमार नेपाललाई ज्ञापन पत्र बुझाए । जिल्ला प्रशासन कार्यालय मोरङ्गमा धर्ना र जुलुस पनि गरे

घाइतेको उपचार नै पैसाको अभावमा रोकिएपछि सडक बन्द गरे । पीडितलाई न्याय दिनका लागि अनेक छानबिन समिति बन्यो । समितिका संयोजकहरु पीडितका घर घरमा पुगे । तर माग सुनिएन । बेलबारी हत्याकाण्ड दवाब संघर्ष समितका संयोजक हेमसागर ढकाल गर्नेजति सबैकुरा गरेर थाकेको बताउछन् ।

सपनाका २ जना नानीहरुको लालनपालन गर्दै बसिरहेकी उनकी आमा शोभा गुरुङले थुप्रै आश्वासन आएको तर  राहत नपाएको बताइन्  । सोही घटनामा घाईते भएका ब्यापारी फिरोज खान अझैपनि बैशाखीबिना हिँडडुल गर्न सक्दैनन । चुरी ब्यापार गरेर जीवन धान्दै  आएका एक्ला फिरोज खुट्टामा चोट लागेका कारण अझैपनि   बैशाखीको सहारामा मात्र हिँडडुल गर्न सक्छन्  ।  आफु लामो समयदेखि बेलबारीमा बसिरहेको भएपनि नागरिकता समेत नपाएको गुनासो गर्ने उनी राज्य र दलहरुले बेवास्ता गर्दा जीवन धान्न नै मुश्किल भएको बताउछन् ।

बेलबारी काण्डमा नै घाइते भएका बेलबारी २ का गणेश दाहालको अबस्था झन् नाजुक छ । तिघ्रामा गोलि लागेर गम्भीर घाइते भै थालिएका  दाहालका दुवै खुटा चल्दैनन् । शरीरभित्र राखिएका स्टीलको भरमा बैशाखी टेकेर मुस्किलले वरपर हिडडुल गर्ने दाहाल राम्ररी उपचार समेत गर्न नपाएको गुनासो गर्छन् । उनीजस्तै अन्य केही घाइतेको गुनासो पनि उस्तै छ ।

हुन त स्थानीय सरकार बनेको पनि एक बर्ष हुन लागिसकेको छ । तर  बेलबारी नगरपालिकाले हत्याकाण्ड पिडितहरुको मागलाइ सम्बोधन हुनेगरी कुनै कार्यक्रम ल्याएको छैन । राजनीतिक दलहरुले समेत बेलबारी हत्याकाण्डका पिडितका समस्या हल गर्नका लागि गम्भीर चासो देखाएका छैनन । पहिले पहिले क्षतिपूर्ति ,राहत  र उपचारको माग राखेर पीडितले थुप्रैपटक आन्दोलन नगरेका होइनन् । पीडितहरुले तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला, माधब कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड समक्ष  पटक पटक दोषीलाई कारबाही र राहतको लागि ध्यानाकर्षण गराएपनि सुनुवाई हुन सकेन  । आफुहरुले गृह मन्त्रालय र शान्ति मन्त्रालयमा पीडितका माग  वारेमा पटक पटक ध्यानाकर्षण गराएको तर बेवास्ता भएको  बेलबारी हत्याकाण्ड पिडित सङघर्ष समिति संयोजक हेमसागर ढकाल बताउँछन् । तर केही बर्षयता भने बेलबारी हत्याकाण्ड पिडित सङघर्ष समिति समेत निष्क्रिय छ ।

को हुन्  घटनाका मुख्य दोषी , अनि  किन कारबाही भएन दोषीलाई  ?

बेलबारी घटनाको दोषी भनेर छानबिन समितिले ११ जनाको नाम सार्वजनिक गरेको थियो । संकटकालमा संवेदनशिल क्षेत्रको सुरक्षाका लागि भनेर सरकारले नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त युनिफाइड कमाण्ड बनाएको थियो । कमाण्डको नेतृत्व क्याप्टेन प्रल्हाद थापाले गरेका थिए ।

सपना गुरुङको बलात्कार पछि हत्या भएको बिरोधमा भोलिपल्ट स्थानीयको भिड उर्लियो । त्यहि भिडमाथी बैशाख १३ गते दिउँसो करिब २.३० तिर नेपाली सेनाका क्याप्टेन प्रल्हाद थापा मगरको आदेशमा गोली चलाईयो । ६ जनाको मृत्यु र सयौको हताहति पछि बिपी कोईराला प्रतिष्ठान धरानमा घाईतेको चाप थाम्न हम्मे परेपछि आकस्मिक साईरन बजाईयो । घटनाका दोषी ठानिएका नेपाली सेनाका तत्कालीन क्याप्टेन प्रल्हाद थापा मगरलाई सरकारले के कारबाही गरयो त्यो अहिले सम्म पिडितहरुलाई केही थाहा छैन ।

उनीमाथी बिभागीय कारबाही भएको सेनाले बताईरहेको छ तर उनीमाथी कस्तो कारबाही भयो र उनी अहिले कुन ओहदामा कहाँ कार्यरत रहेका छन या छैनन यो बिषय गुपचुप नै राखिएको छ । सपनाकी आमा आफु मर्नुअघि घटनाका दोषीलाई कारबाही भएको हेर्न चहान्छिन । साथै घटनाका घाईतेहरु अझैपनि न्यायको पर्खाइमा रहेका छन । र पिडितहरु अझैपनि  क्षर्तिपुर्ति र राहतको आशामा छन ।

बेलबारी हत्याकाण्डमा सुरक्षा फौजका दिलबहादुर शाही, डम्बरबहादुर कार्की, प्रदिपराज बानियाँ, वीरबहादुर महरा, निर्मलकुमार महरा, निर्मलकुमार पन्त, पदम होडा, देवसिंह धामी, बुद्धराज राई, मानलाल धामी र लोकेन्द्रराज थापालाई पनि छानबिन समितिले दोषी ठहर्याएको थियो । तर उनीहरुलाई के कार्वाही भयो भनेर अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

के भन्छन्  घटनाका जानकार  ?

स्थानीय समाजसेवी रबिन गुरुङ सरकारले बेलबारी घटनालाई प्राथमिकतामा नराखेको र पिडितहरुको माग बेवास्ता गरेको बताउँछन । स्थानीयस्तर बाट पटक पटक यस क्षेत्रका सभाषदहरुको नेतृत्वमा टोली नै बनेर घटनाको बारेमा जानकारी गराएपनि खासै यो घटनालाई राज्यले नहेरेको उनले बताए ।

बेलबारी घटनाका जानकार तथा नेकपा एमालेका मोरङ जिल्ला सदस्य समेत रहेका इरान राई बेलबारी घटनालाई राज्यले चासो नदिएको र नृषंश हत्याको बारेमा सरकारको ध्यान नगएको बताउँछन । अपराधीलाई राज्यले संरक्षण दिएको र घटनाका बारेमा स्थानीय रुपमा राजनीतिक दलको एकता समेत नभएको उनले बताए । अपराधीलाई संरक्षण गर्नु उदेकलाग्दो कुरा भएको समेत उनले बताए । घटनाका पिडितलाई क्षतिपूर्ति  दिन उनले सरकार समक्ष माग गरेका छन । – (सुमन पुरीको सहयोगमा)

 यी पनि पढ्नोस न है 

बेलबारी हत्याकाण्डको ११ बर्ष, न राहत न क्षतिपुर्ति  (२०७४)

– बेलबारी हत्याकाण्ड : १० वर्ष बित्यो तर कसैले बुझेनन् पीडितका ब्यथा  (२०७३)

5,702 total views, 4 views today

तपाईको प्रतिक्रिया