सामाजिक कामका लागि सरसहयोग गर्ने हेतुले गत तिहारमा चारवटा संघ संस्था मिलेर देउसी भैलो खेल्दा संकलन भएको रकममध्ये ५६ हजार रुपैयाँ बोनम्यारो क्यान्सरबाट पीडित  बेलबारी ३ की १३ बर्षिया सृजना लिम्बुको उपचारका लागि दिइएको छ ।

बिहीबार बेलबारी नगरपालिका परिसरमा एक कार्यक्रम गरी सो रकम हस्तान्तरण गरिएको हो । बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले ५६ हजार रुपैयाँको चेक हस्तान्तरण गरिन् । सो रकमको चेक सृजनाका बाबू फिफराज लिम्बु र युवा जागरण अभियान नेपालका सदस्य तथा हालै गठित सृजना बचाउ अभियानका संयोजक सुरेन्द्र सुवेदीले संयुक्त रूपमा ग्रहण गरेका छन् । सो रकम बैंक खातामा जम्मा हुने र सृजना बचाउ अभियान मार्फत उपचारका लागि दिइने बताइएको छ ।

बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीको प्रमुख आतिथ्य र नगरका प्रकाशकीय अधिकृत गणेश दाहाल, बेलबारी जेसिजका अध्यक्ष राजन प्रसाईं, युवा जागरण अभियानका अध्यक्ष सुजित बस्नेत , मिडिया समाज बेलबारी (मोरङ) का अध्यक्ष अम्बिका भण्डारी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा अन्य सन्चारकर्मी पनि हस्तान्तरण कार्यक्रममा  उपस्थित थिए ।

गत तिहारमा बेलबारी जेसिज, लायन्स क्लब बेलबारी, युवा जागरण नेपाल र बेलबारीमा कार्यरत सन्चारकर्मीले समाजसेवामा हामी भन्ने नाराका साथ संयुक्त रूपमा देउसी भैलो  खेलेका थिए । जसबाट १ लाख ४२ हजार २ सय १५ रुपैयाँ संकलन भएको थियोे ।

उक्त रकम मध्ये जेष्ठ नागरिक समाज बेलबारीलाइ २३ हजार रुपैयाँको फ्रीज र नेत्रहीन संघ बेलबारीलाइ ३४ हजारको कम्प्युटर र प्रीन्टर दिइएको , बेलबारी १ का एक आगलागी पीडितलाई १४ हजार रुपैयाँ बराबरको राहत सामग्री दिइएको र १४ हजार ८ सय १५ रुपैयाँ बिबिध खर्च भइ बचेको ५६ हजार रुपैयाँ सृजनाको उपचारका लागि सहयोग गरिएको बेलबारी जेसिजका पुर्व अध्यक्ष माधवराज थापाले जानकारी दिए ।

5,010 total views, 2 views today

तपाईको प्रतिक्रिया