तेजन खड्का , उर्लाबारी । अलिकति कमयो,जमायो भने धेरै जसो मानिसहरु आफ्नो गाउँ ठाउँ नै बिर्षिन्छन्,बसाई छोडेर सुविधा खोज्दै अन्यत्र जान्छन् । तर उर्लाबारी—९ का युवा समाजसेवी सुन्दर श्रेष्ठ त्यसमा अपवाद भित्र पर्छन्, जो जहाँ रहेपनि गाउँकै यादमा अनि विकासमा चिन्तित हुन्छन् ।

भक्तपुरको सल्लाघारीमा बस्दै आएका सुन्दर काठमाडौंमा कडा परिश्रम गर्छन्,अनि परिश्रमको केहि प्रतिफल आफ्नो गाउँको विकासमा खर्चिन्छन् । आफ्नो जन्मथलो आउजाउ गरिरहन्छन् । शहरकै जस्तै गाउँमा ठुलो पक्की घर बनाएका छन् ।

गाउँमा सडक बत्ति जडान र विद्यालयहरुमा सहयोग गर्दै आएका सुन्दर एउटा गीत सम्झदैं भन्छन्, जति भुलु शहरको रमझममा,मन त आखिर आफ्नै गाउँमै हुन्छ । सुन्दर काठमाडौंमा भएपनि उनलाई गाउँको विकास निर्माण,खेलकुद तथा विविध काममा सहयोगको लागि फोन आउछ । ‘अस्ति भर्खरै उर्लाबारी—९ को पोखरीबाधमा सडकबत्ति जडानमा २० वटा बत्ति र तार सहयोग गरेको थियौ । अझै केहि तार र बत्ति अपुग भएको कुरा आएको छ,सुन्दरले भने ‘गाउँ फर्किदा पुनः सहयोग गर्नेछु ।

तत्काल सहयोग गरिहाल्नुपर्ने ठाउँमा सहयोग गरिहाल्ने सुन्दर गाउँमा आफ्नो प्रत्यक्ष सहभागितामा सहयोग गर्न पाउँदा खुशी लाग्ने बताउछन् । सुन्दरले भोटेपुलमा बिश्राम स्थल निर्माण गरिदिएर पत्रपत्रिका पढ्ने व्यवस्था मिलाएपछि अहिले वरपरहरु पत्रिका पढिरहेको भेटिन्छ ।

गाउँको पीडामा सक्दा मल्हम पट्टी लगाउने प्रयास हो मेरो,सुन्दर भन्छन्‘ इच्छा शक्तिको साथ सबै लागिपर्ने हो भने समृद्धी खोज्न अन्त जानु पर्दैन जस्तो लाग्छ । ’ गाउँको विकास निर्माणमा सक्रिय सुन्दर गाउँ आउदा सामाजिक काममा ब्यस्त रहन्छन् । पहिल्यै निक्कै संघर्ष गरेर स्थापित भएका सुन्दर धन भएर भन्दा पनि मन भएर सहयोग गरेको बताउछन् । राजधानीलाई संघर्षभुमी बनाएका सुन्दरले आफ्नो गाउँमै बसेर केहि गर्ने योजनाहरु बनाएको बताए । सुन्दरले भने,‘ माछापालन,कुखुरा पालन गाउँमा सुरु गरिसकेको छु । ’ उनले पछि गएर् गाउँमै कृषि तथा पशुपालन व्यवसाय गर्ने आफ्नो सोच रहेको बताए ।

नामले मात्र हुदैन्,नामको लागि काम पनि गर्नुपर्छ,सुन्दर भन्छन्,अथक मेहेनत परिश्रम गर्नेहरु नै सफल हुन्छन् । श्रेष्ठले स्थानीय स्तरमा सडक बत्ती जडान, विद्यालयहरुमा विविध सहयोग, खेलकुद तथा बाटोघाटो निर्माण लगायत थुप्रै सामाजिक गतिविधीमा सहयोग गर्दै आएका छन् ।
को हुन सुन्दर ?
घरमा हातमुख जोर्न धौधौ परेपछि ०४९ सालमा किशोर अवस्थामै काठमाडौं हानिएका थिए । खोपीडाँडामा जन्मे हुर्केर काठमाडौंमा ठेक्कापट्टा र हाउजिङ व्यवसाय गरिरहेका श्रेष्ठले गाउँको विकासका लागि लाखौं रुपैयाँ खर्चेका छन् ।

सुरुमा काठमाडौं पुगेर उनले दैनिक ४० रुपैयाँ पारिश्रमिक लिएर ज्याला मजदुरी सुरु गरे । निर्माण क्षेत्रमा ज्यालामजदुरीदेखि मिस्त्री हुँदै ठेकेदार बनेपछि उनको जीवनमा आर्थिक क्रान्ति भएको हो । हाल उनी ठेक्कापट्टा र हाउजिङ व्यवसायमा संलग्न छन् । सुन्दर भन्छन्, ‘म अझै आफूलाई एउटा लेबर हुँ भन्न रुचाउँछु ।’

सुरुमा परालको छाना र सण्ठीको बेरा भएको झुप्रो घरमा जम्ने हुर्केका श्रेष्ठको वाल्यअवस्था आर्थिक अभावमा कष्टकर थियो । उनले सुरुमा आफ्नो कमाइले परालको छाना र सण्ठीको बेरा भएको घर छेऊमा काठको घर बनाए । त्यसपछि उनले भक्तपुर र खोपीडाँडाको आफ्नै खेतबारीमा आकर्षक पक्की घर बनाए ।
ठेक्कापट्टा र हाउजिङ व्यवसायबाट आयआर्जन गरेका श्रेष्ठ समाजसेवामा क्रियाशील छन् । गाउँको विकासमा उनको चिन्ता रहने गर्छ । ‘हाम्रा सन्ततिले हामी भन्दा दुःख नपाउन’ उनी भन्छन् ।

4,506 total views, 2 views today

तपाईको प्रतिक्रिया