धनकुटा, ४ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ। बन्दका कारण बिहानैदेखि धनकुटा भएर चल्ने लामो तथा छोटो दुरीका यातायात सञ्चालनमा आउन नसकेको धनकुटा ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए। बन्दका कारण धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरको जनजीवन बढी मात्रामा प्रभावित भएको छ। बन्दको प्रभाव तराईका जिल्लामा सामान्य मात्रामा परेपनि पहाडी जिल्लामा बढी मात्रामा परेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए। बन्दका कारण पहाडी जिल्लामा सयौं यात्रु बीच बाटो मै अलपत्र परेका छन।
यसैबीच पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरी र मोरङको सिमानामा पर्ने बुडी खोलाको पुलमा शंकास्पद वस्तु भेटेपछि केहीबेर सडक अवरुद्ध भएको थियोे। बम निष्क्रिय पार्न गएको सेनाको टोली निष्क्रिय पारेपछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक एसपी अरुणकुमार विसीले जानकारी दिए। उनका अनुसार मोरङमा बन्दको प्रभाव कम मात्रामा परेको छ।
नेकपाले केन्द्रीय सदस्य तथा कोशी व्युरो इन्चार्ज किरण राईसहित ८ नेताहरुलाई प्रशासनले पक्राउ गरी झुटा मुद्दा लगाएको भन्दै त्यसको खारेजी गरि नेताहरुको रिहाईको माग गर्दै मंगलबार पूर्वी नेपाल बन्द आव्हान गरेको हो। वर्तमान सरकारले शान्तिपूर्ण कार्यक्रम गर्न समेत रोक लगाएर धरपकड र गिरफ्तारी बढाएपछि नेकपा त्यसको बिरोधमा उत्रिएर चरणबद्धरुपमा आन्दोलनको घोषणा समेत गरेको नेकपाले जनाएको छ। पुर्व घोषित कार्यक्रम अन्तर्गत नै मंगलबार पूर्वी नेपालका जनकपुर, सगरमाथा, कोशी र मेची बन्द आव्हान गरिएको नेकपाको भनाइ छ।
गत चैत ५ गते धनकुटा हिलेको होटल हिले भ्यूमा कोशी ब्यूरोको बैठक बसिरहेका बेला पक्राउ परेका कोशी ब्यूरो इन्चार्ज राई सहितलाई जिल्ला प्रशासन कार्यालय धनकुटाले निर्दोष सावित गर्दै चैत २९ गते छोडेपनि त्यसको केही बेरमै उदयपुर प्रहरीले धनकुटाबाट पक्राउ गरेको थियो।

1,344 total views, 91 views today

तपाईको प्रतिक्रिया