यसै हप्ता बोनम्यारोबाट पीडित वालिका सृजना लिम्बुको उपचारका लागि युवा जागरण अभियान नेपाल बेलबारीको संयोजकत्वमा सृजना लिम्बु बचाउ अभियान शुरु भएको छ ।

सोमबार बेलबारीमा भएको एक भेलाले युवा जागरण अभियानका सदस्य सुरेन्द्र सुबेदीको संयोजकत्वमा बिभिन्न संघ संस्थाहरु सम्मीलित समिति गठन गर्दै अभियान थालेको हो । समितिमा बेलबारीका आधा दर्जन भन्दा बढी संघ संस्थाका प्रतिनिधि छन् ।

मंगलबारदेखि नै स्वेच्छिक सहयोग जुटाउंदै र देश बिदेशमा भएका सबैमा सहयोगको आब्हान गर्दै अभियान शुरु गरिने सृजना बचाउ अभियानका संयोजक सुरेन्द्र सुबेदीले बताए । युवा जागरण अभियानले यसअघि नै सृजनाको उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गरिसकेको छ ।

बिगत पाँच महिनादेखि बोनम्यारो क्यान्सरबाट पीडित सृजनाको हाल धरानस्थित घोपा क्याम्पमा प्रारम्भिक चरणको उपचार भइरहेको छ । बेलबारी ३ स्थित श्री आधारभूत स्कुलमा कक्षा ५ मा अध्ययनरत १३ बर्षिया सृजनालाई यसअघि काठमाडौस्थित सिभिल हस्पिटलमा चेकजाँच गरिएको र सोही आधारमा घोपामा उपचार भइरहेको सृजनाका बाबू फिफराज लिम्बूले बताए ।

सोमबार युवा जागरण अभियानको टोलीले धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गएर सृजनाको स्वास्थ्य अबस्था र उपचारबारे बुझेको थियोे । त्यहाँ उपचारमा संलग्न डाक्टरसंग भेटघाट र सर सल्लाह गरेको आधारमा सृजनाको उपचारमा १० देखि २२ लाखसम्म लाग्नसक्ने र उपचारपछि रोग निको हुने संस्थाका अध्यक्ष सुजित बस्नेतले बताए ।

त्यसैगरी युवा जागरण अभियान नेपालले  स्वास्थ्य उपचार कोष समेत खडा गर्ने भएको छ । सो कोष स्थापना गर्ने निर्णय भइसकेको र  निकट भविष्यमा कुनै अभियान वा कार्यक्रम सन्चालन गरी कोषमा रकम थप गरिने अध्यक्ष बस्नेतले बताए । सो कोष स्वास्थ्य उपचारमा समस्या भएका सबैका लागि हुनेछ ।

2,487 total views, 319 views today

तपाईको प्रतिक्रिया