बेलबारी, मोरङ । मोरङ बेलबारीस्थित युवा जागरण अभियान नेपालले एकैसाथ १५ लाख रुपैयाँको विद्यार्थी छात्रवृत्ति अक्षयकोष र अर्को  स्वास्थ्य उपचार कोष स्थापना गर्ने भएको  छ ।

गत फागुन १६ देखि २५ गतेसम्म मोरङ बेलबारीमा  लगाइएको बेलबारी शिक्षा तथा स्वास्थ्य महोत्सवको आयब्यय सार्वजनिक कार्यक्रममा शुक्रबार सो जानकारी दिइएको हो ।

महोत्सवको आयोजक संस्था युवा जागरण अभियान नेपालले शुक्रबार सार्वजनिक गरेको आय ब्यय बिवरण अनुसार महोत्सवबाट कुल ४५ लाख ३५ हजार ४ सय १८ रुपैयाँ  आम्दानी भएको थियोे  । जसमध्ये २८ लाख ३२ हजार ४ सय ९५ रुपैयाँ खर्च भएको र १७ लाख २ हजार ९ सय २३ रुपैयाँ नाफा (बचत) भएको युवा जागरण अभियान नेपालका आर्थिक समिति संयोजक जनक लिम्बुले जानकारी दिए ।

महोत्सवको आयब्यय सार्वजनिक तथा सहयोग हस्तान्तरण कार्यक्रममा दिइएको जानकारी अनुसार महोत्सवमा आयतर्फ मुख्य प्रायोजक, प्रायोजक र सहप्रायोजकबाट ३ लाख ४१ हजार, प्रवेश टिकटबाट १८ लाख ८४ हजार ८ सय, हाउजीबाट १२ लाख ६९ हजार ३ सय ५० र भिआइपी पासबाट ८३ हजार रुपैयाँ आम्दानी भएको छ । त्यसैगरी स्टल स्थलमा राखिएका बिज्ञापनबाट ३४ हजार, सहयोगी संस्थाबाट २५ हजार, बाल उद्यानबाट ३ लाख १ हजार र गेट निर्माणका लागि १५ हजार रुपैयाँ आम्दानी भएको छ ।

त्यसैगरी महोत्सवमा २८ लाख ३२ हजार ४ सय ९५ रुपैयाँ खर्च भएकोमा राष्ट्रिय र स्थानीय कलाकारका लागि ९ लाख ४५  हजार ५ सय, शैक्षिक कार्यक्रमका लागि  १ लाख ३७ हजार ८ सय १०,  साउण्ड सिस्टम, स्टेज, लाइट, जेनेरेटर, इन्धन लगायतमा ५ लाख ३ हजार ५०, महोत्सवको प्राङ्गण घेराबारा तथा स्टल निर्माण २ लाख ९१ हजार, प्रचारप्रसारको लागि यातायात, फ्लाक्स प्रीन्ट, पम्प्लेट , रेडियो र पत्रपत्रिकामा २ लाख ८ हजार ५ सय ८७, छपाइ सामग्रीको लागि ७० हजार १ सय ५० रुपैयाँ खर्च भएको छ ।

त्यस्तै स्वयंसेवक परिचालन, वैद्युतीय प्राबिधिक खर्च तथा खाना नास्तामा ३ लाख १ हजार ५३ रुपैयाँ, सुरक्षा गार्ड तथा हाउजी संचालकलाई पारिश्रमिकमा १ लाख ४७ हजार १ सय, शैक्षिक क्षेत्रको प्राबिधिक ब्यबस्थापन तथा सिसि क्यामेराको भाडा ५० हजार, बिजुली पानीको ब्यबस्थापनमा ५५ हजार ८ सय ७०, महोत्सव प्राङ्गण सम्याउन मिक्स गिटी तथा लेबरमा २२ हजार २ सय ५० र विविध अन्तरगत जग्गा भाडा तथा सरसफाइ लगायतका लागि १ लाख ५५ रुपैयाँ खर्च भएको शुक्रबार सार्वजनिक गरिएको आय ब्यय बिवरणमा उल्लेख छ ।

नाफामध्ये गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने उद्देश्यले १५ लाख रुपैयाँको अक्षयकोष बनाउने निर्णय भएको छ । बांकी दुई लाख रुपैयाँ संस्थाको कार्यालय संचालन तथा ब्यबस्थापनका लागि राखिने  युवा जागरण अभियान नेपालले जनाएको छ  ।

बोनम्यारो पीडित वालिकालाइ ५० हजार सहयोग

आयब्यय सार्वजनिक कार्यक्रममा संस्थाले बोनम्यारो  क्यान्सर पीडित बेलबारी ३ कि पाँच बर्षिया वालिका सृजना लिम्बुको उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ । कार्यक्रममा उपस्थित अतिथी तथा आयोजकले संयुक्त रूपमा सृजनाका बाबू  युवराज लिम्बलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियोे ।

सोही अबसरमा चांडै अन्य संघ संस्था र निकायसँगको समन्वयमा सृजना बचाउ अभियान संचालन गरिने युवा जागरण अभियान नेपालका अध्यक्ष सुजित बस्नेतले बताए ।

१५ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना

योजना अनुसार संस्थाले स्थापना गरेको १५ लाख रुपैयाँको शैक्षिक अक्षयकोषको ब्याजबाट बर्षेनी बेलबारी क्षेत्रमा आर्थिक कारण शिक्षा आर्जन गर्न कठिनाइ भएका  गरिब र जेहेन्दार वालवालिकालाइ छात्रवृत्ति प्रदान गरिनेछ । महोत्सवबाट प्राप्त आम्दानीको १५ लाख रुपैयाँ अक्षयकोषको ब्याजबाट बर्षेनी बिपन्न तथा  जेहेन्दार विद्यार्थीलागि छात्रवृत्ति दिई संस्थाले समाजसेवा र समाज बिकासका लागि नयाँ नजिर स्थापित गर्ने प्रयास गरेको अध्यक्ष  बस्नेतले बताए  ।

बढी ब्याज दिने बैंकमा खाता खोली अक्षयकोषको रकम जम्मा गर्ने तयारी भइरहेको संस्थाले जनाएको छ  । अक्षयकोषको रकम बढाउंदै लगिने लक्ष रहेको संस्थाले जनाएको छ ।

स्वास्थ्य उपचार कोष पनि स्थापना गरिने

त्यसैगरी युवा जागरण अभियान नेपालले स्वास्थ्य उपचार कोष समेत खडा गर्ने भएको छ ।

सो कोष स्थापना गर्ने निर्णय भइसकेको तर हालसम्म सो कोषका लागि रकम नभएकोले निकट भविष्यमा कुनै अभियान वा कार्यक्रम सन्चालन गरी कोषमा रकम बढाउंदै लगिने अध्यक्ष बस्नेतले बताए ।

कार्यक्रममा बेलबारी ३ का वडाध्यक्ष योगेन्द्र प्रसाद सुवेदी, शिक्षासेवी डीपी राई, र प्याब्सन बेलबारीका संयोजक भुपाल बस्नेत लगायतले बेलबारीमा बर्सेनि मेला महोत्सव लगाएर हिसाब सार्वजनिक नगर्ने बिगतको प्रचलनलाइ तोड्दै संस्थाले हिसाब सार्वजनिक गरेको र त्यसको आयबाट ल्याइएका कार्यक्रमले युवाहरूलाई उत्साहित गर्ने बताएका थिए ।

अन्य महोत्सवहरुमा अरुलाइ ठेक्का दिने चलन भएपनि यसपाली आयोजक आफैले महोत्सव ब्यबस्थापन तथा संचालन गरेको थियोे । महोत्सवमा नेपालकै चर्चित गायकगायिका तथा कलाकारहरु आएका थिए । उल्लेख्य मानिसहरुको सहभागिताका कारण महोत्सव अपेक्षा गरे अनुसार नै सफल भएको थियोे । अम्बिका भण्डारी

4,077 total views, 293 views today

तपाईको प्रतिक्रिया