– अम्बिका भण्डारी

कुरा आठ दश बर्ष अगाडिको हो । बसाइँ सरेर बनाएको थातथलो, सामाजिक कामको सहकार्य र पत्रकारिताको कार्यक्षेत्र आदि हिसाबले मोरङमा सक्रिय भइएको थियोे । आफ्नो सानोतिनो पत्रिका भएपनि खासगरी जमाइखाने मेलो चाहिँ  काठमाडौका पत्रपत्रिका नै हुन्थे । तथापि ग्रामीण परिवेशको बसाइ, साधन स्रोत र प्रबिधिको कमी र बजारका सहकर्मीहरुको प्रभुत्व जस्ता चुनौतीका कारण धान्न गाह्रो हुन्थ्यो । त्यस्तै असहजताका बाबजुद संघर्ष गरिरहेका अबस्थामा धेरै साथीहरू बिचलन र पलायनको शिकार भइरहेका थिए ।

त्यस्तै अबस्थामा पनि हामी बिचलित थिएनौं । त्यसैले शुरुमा म आफैंले एउटा अबधारणा बनाएं । त्यो आधारणा थियोे सन्चार क्षेत्र र सन्चारकर्मीहरुलाइ केन्द्रित गरी एउटा सहकारी संस्था खोल्ने । सहकारी खोल्न कमसेकम २५ जना  चाहिन्थ्यो, तर बेलबारी र आसपास तत्कालीन इन्द्रपुर गाबिस, लेटाङ, केराबारी र तत्कालीन डांगीहाट समेतलाई समाबेंश गर्दा पनि सहकारीको लागि पुग्ने सन्चारकर्मी थिएनन् । त्यसैले मैले नै पत्रकार लगायत शुभेच्छुक सहित करिब ४० जनालाई प्रारम्भिक भेलाको लागि ब्यक्तिगत रुपमै  पत्राचार गरें । तत्कालीन बेलबारी गाबिस ४ लालभित्तिमा त्यो भेला बोलाएको थिएं ।

ठ्याक्कै मिति त याद छैन, तर शायद २०६७ फागुन महिना थियोे र यति थाहा छ शनिबारको दिन थियो । लालभित्तिको कबिर स्कुलमा कुराकानी गरेर त्यहीं भेला बोलाइएको हुनाले  रजिस्ट्रर लिएर कबिर स्कुलमा आइयो ।

केहीबेरमा आमन्त्रितहरु आउन थाल्नुभयो । हामीलाई सहकारीबारे धेरै ज्ञान नभएको हुनाले पनि सहकारीको क्षेत्रमा क्रियाशिल गोबिन्द घिमिरेलाई मैले अलि आशावादी भएर बोलाएको थिएं । त्यसैले अरुभन्दा छिटो वहाँ आउनुभएको थियो ।

आमन्त्रितहरु मध्ये केही आउनुभए पनि एक डेढ घण्टासम्म पर्खदा आउनेहरूको संख्या आठ दश जना मात्र भयो । त्यसैले त्यही दिन सहकारी संस्था खोल्ने प्रक्रिया शुरु गर्ने कि नगर्ने भन्ने अन्योल भयो । हामीले गोबिन्द सरलाइ सोध्यौ । वहाँले लालिगुरांस सहकारीको स्थापना गर्दा पनि त्यस्तै भएको उदाहरण दिंदै संस्था स्थापना गर्न सुझाव दिनुभयो । त्यसैले मैले प्रस्ताव गरेको नाममा ५ हजारको शेयर उठाउने गरी मेरै संयोजकत्वमा बिनिमय मस्यौदा समिति र गोबिन्द सर अध्यक्ष र म सचिव रहेको तदर्थ समिति बनाएर  थालियो संयन्त्र सन्चार सहकारीको स्थापना प्रक्रिया ।

प्रक्रिया त थालियो तर न भेलाको कोरम पुगेको थियो न त पैसा नै थियो , त्यसैले बिनिमयमको मस्यौदा तयार भएपछि  कोरम पुर्याउन खिसीट्युरी सहदै धेरैको दैलो चाहरियो । संस्था खोल्न गरिएको कसरत र औचित्य खुलाउंदै घर घर चाहर्दै केही महिनाको अन्तरालमा केही पैसा उठाइयो र सही पनि गराइसकियो । र केही समयपछि २८ जनालाई समाबेश गरेर सहकारी भिभागको स्वीकृतिमा डिभिजन सहकारी कार्यालय मोरङमा सहकारी दर्ता भयो । तर सरकारले त्यसबेला भरखरै बहुउद्देश्यीय सहकारी दर्ता गर्न नदिने निति ल्याएपछि बचत र रिणको काराेबार गर्न  नपाउने गरी  संयन्त्र सन्चार सहकारी दर्ता भएको  थियोे ।  झण्डै एक तिहाइभन्दा बढीले  ५ हजारको शेयरको रकम  पनि पूरा नगरेकोले शेयर पुंजी देखाउन निकै मुस्किल परेको थियोे ।

संस्था दर्ताको केही समयपछि प्रथम साधारणसभा गरियो । त्यस साधारणसभाबट भोजपुरका पुर्व संसद खोर्साने निवासी  नरेन्द्र बनेत अध्यक्ष चयन हुनुभयो । बेलबारी ३ का गोपाल सुवेदी (डि) उपाध्यक्ष हुनुभयो ।  म पुन सचिब भएं र कोषाध्यक्ष केदार अधिकारी ।त्यसैगरी पुर्व सांसद नरेन्द्र बस्नेत, घनश्याम श्रेष्ठ, उद्दब सापकोटा, अर्जुन बस्नेत, माधवराज थापा, गोबिन्द कार्की, दिपक बुढाथोकी, रमेश बजगाइं, सरिता पोद्दार, ओमबहादुर खत्री, पुष्कर चपागाइं,  सुजा बास्तोल, योगेन्द्र ब. गुरुङ, डोलेश्वर तिम्सिना, डम्बर बिश्वकर्मा, रविन गुरुङ, नरेन्द्र बस्नेत, दुर्गाकुमार श्रेष्ठ, विष्णु रिमाल (तिम्सिना), विष्णु ओझा, मोहन सिवा, लिलाप्रसाद आचार्य, कृष्ण गुरुङ, तिर्थकुमार श्रेष्ठ, हरिबहादुर बिश्वकर्मा, भोजराज बस्नेत, लोकप्रसाद अधिकारी समेत  सहकारी दर्ता बखत  शेयर सदस्यको रूपमा थिए ।

कहिलेकाही बैठक बस्ने भएपनि संस्थाको अरु गतिविधि खासै थिएन । कार्यालय समेत नभएकोले सबै खातापाता र हरहिसाब मेरै जिम्मामा थिए ।  त्यसैले मैले सहकारीका सबै कागहात भावना टीभी रेडियोबाट आधाजती पैसा तिरेर अरु बांकी गरेर ल्याएको एउटा स्टील दराजमा राखेको थिएं । अनि त्यो दराज थियोे मैले नै सन्चालन गरेको बेलबारी २ सिनेमाहल लाइनमा अबस्थित आरती छापाखानामा ।   रेडियोको लागि सन्चार मन्त्रालयमा निबेदन दिएपछि देखाउन भएपनि साइनबोर्ड राखेर छापाखानामा नै कार्यालय बनाएको थिएं । बैठक बस्ने ठाउँ पनि त्यहीँ हुन्थ्यो ।

सहकारी संस्थाले के गर्ने भन्ने अन्योल भैरहेको बेला बिराटचोकमा रेडियो सन्चालन हुनेभयो । त्यसपछि खासगरी बेलबारीका केही साथीहरूले अब बेलबारीमा पनि रेडियो खोल्नुपर्छ भनेर आवाज उठाउन थाले । त्यही मेसोमा संयन्त्र संचार सहकारी मार्फत नै रेडियोको माग गर्ने सल्लाह भयो र त्यो प्रस्तावलाई संचालक समितिले पारित गर्यो । अनि तत्कालीन सचिवको हैसियतले काठमाडौ गएर अकोरावको सहयोगमा प्राबिधिक रिपोर्ट तयार गराइ सूचना मन्त्रालयमा एफ एम को लाइसेन्स माग गर्दै निबेदन दिएं ।

मैले सन्चार मन्त्रालयमा संयन्त्र सन्चार सहकारीको तत्कालीन सचिवको हैसियतमा निवेदन दिंदा रेडियो गोरेटो नाम प्रस्ताव गरेर निवेदन दिएको थिएं , त्यो नाम बैठकले निर्णय गरेकै नाम थियो । तर पछि बेलबारीकै कतिपयले बिकासको क्रममा गोरेटो मासेर ठुल्ठुला पिच सडक बनिरहेको बेला गोरेटो भन्ने नाम उपयुक्त नभएको सुझाव र टिकाटिप्पणी आएपछि मैले रेडियोको नामबारे छलफल गर्नकै लागि संचालक समितिको बैठक बोलाएं । सन्चार मन्त्रालयबाट समेत रेडियोको नाम हेरफेर गर्ने भए निर्णय गरेर ल्याउन भनिएकोले पनि त्यो बैठक डाकिएको थियोे ।

त्यो बैठकमा नौ मध्ये ३/४ जना मात्र उपस्थित भयौं । अर्थात कोरम पुगेन । त्यसैले फोनबाट सहमति लिएर हामीले गरेको निर्णय मान्ने कतिपय साथीहरूको भनाइ अनुसार रेडियोको नाम रेडियो बेतना राख्ने निर्णय भयो । त्यसअघि मैले डिपी राई लगायत बेलबारीका प्रतिष्ठित करिब दश बाह्र जना जतिलाइ सुझाव मागेर त्यो सुझाव समेतका आधारमा त्यो निर्णय गरिएको थियो ।  पछि अरुले पनि हस्ताक्षर गरेपछि त्यो माइन्युट मन्त्रालयमा पठाइयो ।

नाम फेरेर पठाएको सन्चालक समिती बाहिरkaa कतिपयलाई मन परेन । त्यसैले अम्बिकाले राजनीति गर्यो, रेडियोको नाम बदल्यो भनेर हल्लाखल्ला मच्चाए । तर म माओवादी निकट भनेर चिनिए पनि मैले राजनीतिक आशय राखेर काम गरेको थिइन । त्यसैले मैले त्यस्ता अफवाहको मुकाबिला गरें । डेढ दुई बर्षको ताकेतापछि रेडियोको इजाजतपत्र स्वीकृत भयो  ।

उता म कैयौंपटक र भोजराज बस्नेत लगायत केहि साथीहरू केहिपटक सिंहदरबार धाउंदा लाखौं रुपैयाँ खर्च भइसकेको थियो । रेडियोको लाइसेन्स आउने पनि कुनै ठेगान थिएन । काम संस्थाको गरेपनि खर्च आफनै गएको थियोे । त्यसैले म अलि संकटपुर्ण अबस्थामा थिएं । आफू सिंहदरबार गएर मन्त्री, सचिब र रेडियोका प्राबिधिकहरुसंग बसेर कुराकानी गरिन्थ्यो अनि प्रताप थापा मार्फत माओवादी नेता सावित्री काफ्ले देखि अखिलका विद्यार्थी नेता ऋषि रेग्मी मार्फत एमालेका केन्द्रिय नेतासम्म भिडाइयो । भोजराज बस्नेत मार्फत कांग्रेसका केही नेताहरूको सोर्स पनि  नलगाएको होइन तर कतिपय बाहिरिया मानिसहरु रेडियोको लाइसेन्स आफुले गर्दा निस्किएको भनेर जस लिन उद्दत थिए ।

रेडियोको लाइसेन्स आउने वा नआउने अन्योलपुर्ण  अबस्थामा मैले केही समय युएई घुम्न जानको लागि  प्रक्रिया अगाडि बढाएको थिएं । यता सन्चार मन्त्रालयले ९७.१ मेगाहर्ज फिक्वेन्सी दिएर रेडियोको इजाजतपत्र स्वीकृत गर्यो ।

रेडियोको इजाजतपत्र पाएपछि बृहत भेला बोलाइयो । एक भेलाले  देवराज तामाङ्को संयोजकत्वमा रेडियोको तदर्थ समिति बनायो । म त्यसमा सदस्य सचिब थिएं ।  सन्चालक समिती  बेलबारी २ स्थित ट्राफिक अफिस छेउमा एउटा सटर लिएर सम्पर्क कार्यालय खडा गरियो । र रेडियो उद्घोषण तालिम शुरु गरियो ।

उद्घोषण तालिम सकिन लागेको थियोे । काठमाडौबाट अचानक फोन आयो । फोन त्यहींबाट आएको  थियोे , जहाँ मैले युएई घुम्न जान एप्लाइ गरेको थिएं । मेरो केही लगानी फसिसकेको थियोे । त्यसैले तालिम समितिको सदस्य भएपनि तालिम  चल्दाचल्दै एक दुई दिन काठमाडौ गएर फर्किएं ।

तालिम सकिन थोरै दिन मात्र बांकी थियोे । उता मेरो भिषा लागेर टिकट नै आइसकेको खबर आयो । त्यसैले ठुलो धर्मसंकटका बाबजुद म परिस्थितिबस उतै जाने निर्णयमा पुगें ।

यता मैले म युएइ जाने कुरा सबैलाई भनेको थिइन । तर भनेर पनि सजिलै बिदा पाउने अबस्था थिएन किनभने संस्थाको ९० प्रतिशत भन्दाबढी हिसाब किताब मसंग नै थियोे । मैले मर्नुभन्दा बहुलाउनु निको भनेझैं अप्रीय निर्णय लिएको थिएं । त्यसैले दुबई उढ्नुअघि मुर्तिकार नवीन सुवेदीले बनाइदिएको रेडियो बेननाको लोगोलाइ बागबजारस्थित एउटा कम्प्युटर डेस्कटपमा गएर कम्प्युटरबाट फिनिसिङ गर्न लगाएं । नवीनले बनाएको लोगो र स्लोगनहरु सहित संस्थाको सबै हरहिसाब अघ्याबधिक गरेर इमेल गरी पठाइदिएं । हाल पनि नवीनले बनाएको लोगो र स्लोगन प्रयोग भइरहेको छ तर नवीनको सृजनालाइ संस्थागत गरिएको छैन ।

सहि भनेपनि गलत भनेपनि म त्यसबेला पलायन भएर बिदेशिएकै हो । यसमा कुनै दुबिधा छैन तर म दुबइ गएको थाहा पाएपछि एकातिर रेडियोको स्थापना प्रक्रिया केही समय रोकिएछ । तर कतिपयले अम्बिका पैसा लिएर भाग्यो, कागजात गायब पारेर भाग्यो भन्बेजस्ता अफवाह पनि फैलाएछन् । त्यतिमात्र होइन, कसैले रेडियोका लागि मैले नै मगाएका रेकर्डर गायब पारेर मलाई आरोप  लगाउने हर्कत पनि गरेछन् ।  त्यो मैले पछि सुनें । त्यस्ता कुरा सुनेपछि म तत्काल स्वदेश नफर्कने निर्णयमा पुगें । तर गद्दारी गरेर काम गर्नुथ्यो भने मैले खाडितिर पलायन हुनु पर्दैनथ्यो ।

म उता गएको करिब ६ महिनापछि सबै हिसाब किताब पठाउन भनियो । मैले पहिले नै तयार गरेको हरहिसाब इमेलमा फेरि पठाइदिएं । त्यसपछि राजकुमार लिम्बुको अध्यक्षतामा अर्को समिति बनाएर रेडियो स्थापना गर्ने प्रक्रिया अगाडि बढाएर रेडियो सन्चालनमा ल्याइएछ ।

तीन बर्षअघि दुबैबाट फर्किएं । त्यसपछि मात्र मलाई थाहा भो डेढ लाख भन्दा बढीको खर्च पेश गरिएकोमा मेरो ५० हजार रुपैयाँको शेयर कायम गराइएको रहेछ । स्थापना कालका दर्जनभन्दा बढीलाई प्रबेश शुल्क बापतको २५ सय रुपैयाँ छुट दिएर पहिलेको ५ हजारमा अरु पैसा थप्न लगाएर पछिल्लो पटक तोकिएको शेयर पूरा गराइएको रहेछ तर दर्जनभन्दा बढी संस्थापकहरुलाइ त्यसबारे पनि जानकारी नगराएर बेवारिसे बनाइएको रहेछ ।

खासगरी स्थापना कालका शेयर सदस्यहरुको लगानी फसिरहेकोले र हाल शेयर सदस्यको हैसियतबाट बन्चित गराइएकोले त्यसबारे बसेर छलफल गर्न पटक पटक संचालक समितिलाई आग्रह गरिदै आएको छ ।  सहकारी डिभिजन कार्यालयले समेत स्थापनाकालका शेयरसदस्यहरुसंग बसेर छलफल गरी समस्या समाधान गर्न पत्राचार गर्दा समेत अटेर गरिदै आएको छ ।

तीन बर्षघिको साधारणसभामा मैले उम्मेद्वारी दिदा पुर्व अध्यक्ष र सचिवलाई  सल्लाहकार समितिमा ल्याउने र स्थापनाकालका शेयर सदस्यहरुको माग सम्बोधन गर्ने शर्तमा मेरो उम्मेद्वारी फिर्ता लिन लगाइयो तर रेडियोका कर्मचारीलाई सल्लाहकार बनाइयो तर हामीमध्ये कसैलाई सल्लाहकार समितिमा पनि चयन गरिएन । चैत ३१ गते हामीले नै स्थापना गरेको संयन्त्र सन्चार सहकारी (रेडियो बेतना) को साधारणसभा हुदैछ । दर्जन भन्दा बढी स्थापनाकालका शेयर सदस्यहरूलाई  बेवारिसे बनाइ उनीहरुको लगानी र भुमिकाको नजरअन्दाज गर्नेहरुलाइ परास्त गरी संयन्त्र सन्चार सहकारी र रेडियो बेतनालाइ सबैको साझा संस्था बनाउन उदार खालको संचालक समिति आओस् यही कामना गरौं ।

(संयन्त्र डडकमका सम्पादक भण्डारी संयन्त्र सन्चार सहकारीका संस्थापक तथा पुर्व सचिव हुन् )

5,467 total views, 4 views today

तपाईको प्रतिक्रिया