मोरङ । साझेदारी वन र प्रदेश सरकारबिच हाल भएको असमझदारी कम गर्ने र साझेदारी वन क्षेत्रमा भइरहेको बैज्ञानिक वन ब्यबस्थापनको अबस्थाबारे जानकारी गराउने उद्देश्यले मोरङको सुन्दरहरैचा र केराबारी क्षेत्रमा पर्ने लाटीझोडा साझेदारी वन क्षेत्रमा आइतबार प्रदेशसभाका सभाषद र सन्चारकर्मीहरुलाइ घुमाइएको छ ।

साझेदारी वन, इलाका वन र सेक्टर वनको समन्वयमा वन क्षेत्रको अबलोकन गराइएको हो । वन क्षेत्रको अबलोकनमा मोरङ क्षेत्र नम्बर ३ ख का प्रदेश सभाषद राजकुमार ओझा, प्रतिनिधि सभाका सभाषद लोकप्रसाद संग्रौला, पुर्व सभाषद चन्द्र बहादुर गुरुङ, सुन्दरहरैचाका मेयर शिवप्रसाद ढकाल लगायत करिब एक दर्जन सन्चारकर्मी र  सम्बन्धित वन कार्यालयका कर्मचारीहरु पनि सहभागी थिए ।

अबलोकनका क्रममा वन कार्यालयका कर्मचारीले साझेदारी वनको इतिहास, लाटीझोडा साझेदारी वनको क्षेत्रफल र त्यस क्षेत्रमा लगाइएका बिरुवाको अबस्था र बैज्ञानिक वन ब्यबस्थापनको महत्व लगायतका बिषयमा जानकारी गराएका थिए ।

अबलोकनका क्रममा दिइएको जानकारी अनुसार लाटीझोडामा वनको कुल क्षेत्रफल २७ सय हेक्टर छ । त्यसै क्षेत्रमा ७ वटा सामुदायिक वन समेत रहेकोेले लाटीझोडा साझेदारी वनको क्षेत्रफल १६ सय ८४ हेक्टर रहेको छ । त्यसमा पनि  उत्पादन दिने वन भने १५ सय ६० हेक्टरमा रहेको बताइएको छ ।

उक्त साझेदारी वनलाई ४ खण्ड र विभिन्न उपखण्ड बनाएर वन ब्यबस्थापन गरिएको र  खासगरी सालका रुख ८० बर्षमा बूढो हुने कुरालाई आधार मानेर चक्रीय प्रणालीबाट अलिअलि गर्दै काठ दाउरा पुन उत्पादनका लागि  वन ब्यबस्थापन गरिएको र ८० बर्षसम्ममा सबै वन क्षेत्रमा नयाँ बिरुवा हुर्काइसक्ने नितिले बनको बिनास नभइ बिकास हुने र त्यसले पर्यावरणमा पनि सकारात्मक प्रभाव पार्ने सभषदहरुसंग कर्मचारीले ब्रीफिङ  गरेका छन् ।

साझेदारी वनका नाममा जथाभावी जङ्गलका रुख ढालिएको र ती ढालिएका रुखबाट निस्केका काठ दाउराको निकासी तथा बिक्री बितरण पारदर्शी नभएको भनी मिडियामा समाचार आएपछि प्रदेश १ का मुख्य मन्त्री शेरधन राइले करिब १ महिना अघि प्रदेशभित्र भइरहेका सबै काम रोक्न निर्देशन दिएका थिए । त्यसयता सबै साझेदारी तथा सामुदायिक वनको रुख कटान तथा बिक्री बितरण रोकिएको छ ।

अबलोकनका क्रममा बिक्रम सम्बत २०७१ मा साझेदारी बनको शुरुवात भएयता तीन चार बर्षको अबधिमा जङ्गल क्षेत्रमा रोपिएका र संरक्षण गरी हुर्काइएका बिरुवाहरु र जङ्गलबाट कटान गरी घाटगद्दी गरी राखिएका मुडाहरू पनि देखाइएको थियो ।- अम्बिका भण्डारी 

1,338 total views, 2 views today

तपाईको प्रतिक्रिया