अम्बिका भण्डारी, बेलबारी (मोरङ) /  बाम गठबन्धन र कांग्रेसका ठ्याक्कै  बराबर प्रतिनिधि भएपनि  केही मतदाताले अर्को पक्षका उम्मेद्वारलाई भोट हाल्नाले मोरङको बेलबारी १० भाउन्नेमा अबस्थित सृजना सामुदायिक वनमा अध्यक्ष सहित प्रमुख पद काङ्ग्रेस पक्षले जितेको छ ।

दुवैथरीले आफ्नो पक्षकालाइ जिताउन जिल्ला स्तरदेखि नै पावर लगाएको भएपनि शनिबारको साधारणसभाबाट प्रमुख पद सहित कांग्रेसले वनमा बहुमत बनाउन सफल भएको छ । सो वनको अध्यक्षमा कांग्रेसले छत्र लिम्बुको नेतृत्वमा र बाम गठबन्धनले ध्रुव महतको नेतृत्वमा छुट्टाछुट्टै प्यानल बनाएर उम्मेद्वारी दिएका थिए ।

टोलबाट छानिएर आएका जम्मा ६२ प्रतिनिधि वनको साधारणसभाका भोटर थिए , जसमा बाम गठबन्धन र कांग्रेसका ३१ / ३१ जना भएकोले पनि चुनाव बडो रोमाञ्चक भएको थियो । बराबरी मतदाता भएकोले एक पक्षले अर्को पक्षका मतदातालाई प्रभावमा पार्न होडबाजी नै चलेको थियोे । वनको १३ सदस्यीय नयाँ समिति चयन गराउन जिल्ला स्तरका एक दुई जना वरिष्ठ  नेता नै भाउन्ने स्थित एक बिद्यालयमा भएको मतदानस्थल नै पुगेका देखिन्थे  । सामुदायिक वनको प्रमुख पदमा एक दुई मतले हारजित भएपनि खुला केही सदस्य र दलित कोटाका सदस्यका उम्मेद्वारले ३१/३१ मत ल्याएपछि गोला नै  लडाउनु परेको थियो ।

मतदानबाट मुल समिति प्रमुखमा कांग्रेस पक्षका राजेन्द्र खवास एक मत बढी ल्याएर बिजयी भएका छन् । त्यसैगरी वनको कार्यसमिति अध्यक्षमा बाम गठबन्धनका उम्मेद्वारलाई तीन मतले पछि पार्दै ३२ मत ल्याएर कांग्रेसकै छत्र लिम्बु बिजयी भएका छन् । त्यसैगरी उपाध्यक्षमा कांग्रेसका लोकबहादुर याखालाइ ३० का विरुद्ध ३१ मतले हराएर बाम गठबन्धनका निर्मल परियारले चुनाव जितेका छन् ।

त्यसबाहेक सचिव र कोषाध्यक्षमा एक एक भोटले जितेर कांग्रेसकै कृष्ण हुमागाइ र सृजना राजबंशी बिजयी भएका छन् । सह सचिबमा कांग्रेसकै इन्द्रमाया चेम्जोङ दुई भोट बढी ल्याएर निर्वाचित भएकी छिन् ।

त्यसैगरी खुला सदस्यमा ४ जना निर्वाचित हुनुपर्नेमा ६ जनाले ३१ / ३१ मत ल्याएपछि उनीहरूबिच गोला लडाइएको थियो । गोला छान्दा बाम गठबन्धनका फडिन्द्र बिष्ट र दोर्जे तामाङ तथा कांग्रेसबाट नर बहादुर थापा र सकेन्द्र धिमालले चिठ्ठा पारेका छन् । त्यसैगरी दलित सदस्यमा पनि चुनावमा ३१/३१ मत नै आएपछि दुई पक्षका  उम्मेद्वारहरु कांग्रेसकी अम्बिका दर्जी र बाम गठबन्धनका कृष्ण बिकबिच ६ वटा चिठ्ठा बनाएर तीन तीन वटा तान्ने र बढी अंक तान्नेले जित्ने सहमतिमा चिट्ठा लडाइएको थियो । जसमा पहिले चिट्ठा तान्ने दर्जीले दुवै पटक तान्दा दुई अंक ल्याएकी थिइन् । बिकले पहिलो चिट्ठा तान्दा शुन्य आएपछि अरु तीन चिट्ठा बांकी हुँदाहुदै निर्वाचित नहुंंदै अबिरले रङिइसकेेकी दर्जीलाइ निर्वाचन समितिका एकजनाले बिजयी घोषणा गरेका थिए । जबकी अरु तीन चिट्ठा मध्ये दुई बिकले र शुन्य दर्जीले ल्याएको भए फेरि बराबर हुने संभावना बांकी नै थियोे । तर त्यसबारे मेलो पाउने र बोल्ने कोही नभएपछि  त्यहि निर्णय नै सदर भयो ।

3,527 total views, 2 views today

तपाईको प्रतिक्रिया