विराटनगर / नेपाल पत्रकार महासंघ मोरङले १ नम्बर प्रदेशको कार्यसमिति निर्वाचनका लागि निर्वाचन समिति निर्माण गरेको छ ।

विराटनगरस्थित पत्रकार महासंघको कार्यालयमा मंगलबार बसेको जिल्ला समितिको बैठकले महासंघ मोरङका पूर्व अध्यक्ष दीपक दाहालको नेतृत्वमा समिति निर्माण गरेको हो । समितिका अन्य सदस्यहरुमा महासंघ मोरङकी उपाध्यक्ष इन्दीरा भट्टराई र मोरङ बार एसोसिएसनका अध्यक्ष वा निजले तोकेका एक जना प्रतिनिधि रहनेछन् ।

पत्रकार महासंघको प्रदेश कार्यसमितिका लागि आगामी वैशाख २२ गते निर्वाचन हुँदैछ । प्रत्यक्ष निर्वाचन पद्धतीबाट हुने निर्वाचनमा मनोनयन विराटनगरमा हुनेछ भने मतदान १४ वटै जिल्लामा हुनेछ । वैशाख ७ गतेभित्र हुने मनोनयन पछि मतगणना गरेर केन्द्रमा पठाउँदासम्म निर्वाचन समितिले काम गर्नुपर्नेछ ।

यस्तै महासंघ मोरङले सदस्यता नविकरणको काम तीब्र पार्ने निर्णय गरेको छ । चैत २५ गतेसम्ममा साधारण सदस्यले नविकरण नगरे वैशाख २२ गते हुने निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने प्रदेश कार्यसमिति निर्वाचन (कार्यविधि) निर्देशिका–२०७४ मा उल्लेख छ । सोही अनुसार सदस्यहरुलाई समयमै सदस्यता नविकरण गर्न माहासंघले आग्रह गरेको छ ।

यस्तै बैठकले पत्रकारहरुको बिमा गर्नका लागि आवश्यक कागजात चैत मसान्तसम्ममा बुझाइसक्न सम्पूर्ण सदस्यहरुलाई आग्रह गर्ने पनि निर्णय गरेको छ । बैठकले गत चैत १६ गते महासंघको स्थापना दिवसको अवसरमा आयोजित षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण समारोह सफल भएको निष्कर्ष निकालेको छ ।

2,593 total views, 2 views today

तपाईको प्रतिक्रिया