भुपेन्द्र तिम्सिना ।  एउटा फलामे सपनाको उद्घोष गर्दै मूर्तिकलामा तल्लिन एकजना युवा यसबेला जापानमा विश्वकै सवैभन्दा ठूलो आधुनिककालिन ढुंगे मूर्ति निर्माणमा जुटेर फरक इतिहास वनाउँदैछन् । उनी हुन् मोरङ मिक्लाजुङमा मूर्तिकार मञ्जुल मितेरी ।

१५ औं वर्ष अघिदेखि उर्लाबारी झरेर मूर्तिकलामा तल्लिन रहेर ढुंगे मूर्तिहरुको ‘मञ्जुल संग्रहालय’ सञ्चालन गर्दै आएको उही ठिटोले यतिबेला जापान पुगेर नेपालको चिनारी विश्वसामु चिनाइरहेको छ ।

०६१ मा उनले १० वर्षभित्र विश्वप्रसिद्ध व्यक्तिहरुको १ हजार वटा ढुंगाका मूर्ति निर्माण सकेर राष्ट्लाई उपहार दिने फलामे सपनाको घोषणा गरेका थिए । तापनि  उनले १ सयको हाराहारीमा मात्र मूर्ति वनाउन सके । मूर्ति बनाउँदै बेचेर आफ्नो गृहस्थी चलाएका उनका लागि प्रण गरेका मात्र मूर्ति बनाएर वस्न सम्भव भएन । आफ्नो नितान्त व्यवहारिक कुराले त्यो सपना अलि बढी महत्वकांक्षी सावित भएको ठानेर असमञ्जस्यमा परेझैं भएको बेला उनका लागि निकै महत्वपूर्ण अवसर जुट्यो । उनकी श्रीमती कौशिलालाई मूर्ति निर्माणको जिम्मा लगाएर व्यवसायका रुपमा उर्लाबारीमा अगाडि बढिरहेको आफ्नो कलालाई पनि जोगाउँदै जापानसम्म आफ्नो कलाको फैलावट बढाए ।

हजार मूर्ति उपहार दिने सन्दर्भका साथै मूर्तिकारका रुपमा २०७२ सालमा युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएपछि राष्ट्यि उचाईबाट अग्लिएको अवस्थाले पनि उनको जापानसम्म माग भयो ।

डेढ वर्ष अघि सन् २०१७ सेप्टेम्बरमा जापान हानिएका उनी ३ साताको विदा मागेर घर आइपुगेका बेला  ०७४ फागुन १८ गते मिक्लाजुङ साहित्य समाजको मधुमल्लामा आयोजित साहित्यिक कार्यक्रममा एकाएक भेटिए ।

विश्वशान्तिका अग्रदुत गौतम बुद्ध नेपालका हुन् भन्ने कुरालाई प्रष्ट्याएर नेपाललाई विश्वसामु चिनाउने कामका उत्तिकै सक्रिय हुन पाएको कुरा उनले सुनाए । साविक भन्दा अलि मोटाएका हँसमुख मञ्जुलले मूर्तिकला र बुद्धका सवालमा नेपालका लागि ऐतिहासिक काम गरेको सुनाए ।

जापानको कुमामोतो जिल्लाको खामीआमाकुसा नगरपालिकामा पर्ने सकिबुचोयामा नामको विशाल चट्टानी पहाडमा छिनो र हम्मर बोकेर उनका हातले उही गौतम बुद्ध सिर्जना गरिरहेको छ ।उनी कठोर पहाडका यमान भित्तामा उत्ती नै कोमल शान्तिदुत बुद्धको स्वरुप कुँदिरहेछन् । ओसिमा सेकिबुचुयामा नामको संस्थाले शहरभन्दा ८० किलोमिटरको दुरीमा ग्रामिण मात्र नभएर अनकन्टार पहाडमा एउटै ढुंगामा गौतम बुद्ध र बुद्धका सहायक देवीदेवताका गरी ७ वटा पूर्णकदको मूर्ति निर्माणका लागि डेढ बर्षअघि उनलाई झिकाएको थियोे  ।

आफ्नो फलामे सपनाको लक्ष्य पुरा गर्ने अठोटमा समस्या भइरहेको बेला शुरुमा त्यो  गतिलो अवसरलाई केही समय दोधारमा राखे । शुभचिन्तक र नजिककाहरुले जापानको अवसर लिन सल्लाह दिएपछि उनले त्यो ऐतिहासिक काम पहिले सक्ने निधो गरे । अनि उनले सिद्धहस्त युवा मूर्तिकार काभ्रेका सानुभाई विश्वकर्मा, उदयपुरका रामचन्द्र पण्डित र मिक्लाजुङका गणेश राईलाई साथमा लिएर त्यहाँ पुगे र काम थाले । त्यसपछि त मञ्जुललाई ‘आधुनिक अरनिको’ को संज्ञा दिन थालियो ।

त्यहाँ सरकारी अधिकारीहरुको आतिथ्यतामा भव्य कार्यक्रमबीच मूर्ति निर्माण अभियानको उद्घाटन् गरियो । आयोजक संस्थाले ती अधिकारीहरुसँग मूर्तिकारहरुको चिनजान गरायो । कतिपय सरकारी कार्यालयमै लगेर उनीहरुलाई चिनाउने काम आयोजकले गरे । त्यसबेला उनीहरु नेपालको राष्ट्यि पोशाकमा सजिएर गएका थिए । त्यो फरकखाले पोशाकका बारेमा सोधनी हुँदा नेपाली मौलिक पहिचान झल्काउने काम गरे ।

बुद्धका बारेमा प्रदर्शनी गरेर कार्यक्रम उद्घाटन् भयो । तर प्रदर्शनी तथा त्यहाँ लेखिएका सामग्रीहरुमा त बुद्ध भारतमा जन्मिएका र भारतका हुन् भनेर लेखिएको रहेछ । लुम्विनी भारतमा पर्छ भनेर भारतको प्रचारको प्रभाव परेको रहेछ । त्यो पढेपछि आफुसँग भएका बुद्ध सम्बन्धीका तथ्यहरु प्रस्तुत गरेर बुद्ध नेपालमा जन्मिएका र नेपालका हुन् भनेर त्यसलाई सच्याउने काम भएको गतिलो कुरा मञ्जुलले सुनाए । मञ्जुलका तथ्यगत भनाई र तथ्यगत सामग्रीका आधारमा उनीहरुले बुद्धका बारेमा सच्याएका र अरु जानेहरुलाई पनि आफुहरुले बुद्धका बारेमा प्रष्ट्याउने गरेको अर्काे महत्वपूर्ण काम भएरहेको उनले सुनाए ।

बुद्धका बारेमा भारतले विवाद सिर्जना गराइरहेको अवस्थामा आफुहरुले बुद्धको सच्चाइ वताउने अवसर पाएकोमा पनि मूर्तिकारितासँगै साहित्य, गीतसंगीत क्षेत्रका समेत सर्जक मञ्जुललाई खुसी नलाग्ने कुरै भएन । बुद्धको भूमिको पवित्र सन्देश बोकेर बुद्धकै मूर्ति वनाएर जापानमा बुद्धको यथाथर्ता बुझाउँन पाउँदा आफु भित्रको सर्जक मन खुसीले भक्कानियो ।

७ वटा मूर्ति पुरा गर्न जम्मा साढे ७ वर्षको सम्झौतामा उनीहरु काम गरिरहेका छन् । पछिल्लो २ सय वर्षमा विश्वकै सवैभन्दा ठूलो ढुंगाको मूर्ति वनाउने ऐतिहासिक अवसरले मञ्जुल अगुवाईको टोली नेपाली मूर्तिकलाको क्षेत्रमा ज्यादै ठूलो नाम लेखाउन पाएको छ ।

६५ फिट अग्लो बुद्धमूर्तिको यसबेला मुहार निर्माण भइसकेको छ । ४५ फिट अग्लो बुद्धको सहायक देवताको पनि मुहार तयार भएको छ । कुल कामको ३० प्रतिशत काम सकिएको छ । सवै मूर्ती तयार भएपछि विश्व सम्पदा सूचिमा राख्ने त्यहाँको योजना रहेछ । कलाकार अरनिको नेपालबाट औपचारिक रुपमा विदेशमा मूर्ति वनाउन चीन गएका थिए । अरनिकोपछि विदेशमा औपचारिक मूर्ति वनाउन बोलाइएको यो दोस्रो अवसर भएको बताइएको छ । (लेखको सम्पादित सामग्री)

 

5,179 total views, 2 views today

तपाईको प्रतिक्रिया