बेलबारी २ मोरङ निबासी खगेन्द्र नेउपानेले २०७२ सालमा आफ्ना बाबू स्वर्गीय बिष्णुप्रसाद नेउपानेको स्मृतिमा कुनै सामाजिक काम गर्ने सोच बनाए । उनले सामाजिक कामका लागि १२/१५ लाखसम्म खर्च गर्ने योजना पनि गरे ।

तर सामाजिक कामको लागि कुन क्षेत्रमा अनि कुन बिषय र शिर्षकमा लगानी गर्दा उपयुक्त हुन्छ भन्ने अन्योल भयो । केही समयको आफनै अध्ययनपछि उनले निधो गरे एम्बुलेन्स खरिद गरेर समाजलाई हस्तान्तरण गर्ने । उनले नजिकै रहेको लालभित्ति बचत तथा ऋण सहकारी संस्था रोजे र त्यही संस्थालाई एम्बुलेन्स किनेर हस्तान्तरण गर्ने निधो गरे ।

२०७२ पुसमा आफ्नै घरमा खगेन्द्रले सप्ताह महापुराणको आयोजना गरेका थिए । त्यही पुराणमा सात आठ लाख खर्चेर साढे तीन सय वृद्ध वृद्धालाइ १५ सयका दरले नगद र दोसल्लाले सम्मान पनि गरे । त्यही मौकामा ९ बर्षकी हुँदा भेटेर धर्मपुत्री बनाइएकी रुपाको बिहे पनि गरिदिए । त्यतिमात्र होईन, खगेन्द्रले आफ्नो ब्यापारमा सहयोग गर्ने चन्दन चौधरीलाई दुई तले घर पनि बनाइदिए ।
पुराणको समापनपछि तत्कालीन भुमिसुधार मन्त्री रामकुमार सुब्बाको उपस्थितिमा लालभित्तिमै एक भब्य कार्यक्रम गरियो । त्यही कार्यक्रममा एम्बुलेन्सको चाबी बनाएर सहकारीलाई हस्तान्तरण गरियो भने खगेन्द्र मन्त्रीको हातबाट सम्मानित भए ।
आफ्नै ठाउँमा पहिलोपटक एम्बुलेन्स आउने कुराले स्थानीयबासी पनि हर्षित थिए । त्यसैले खगेन्द्रलाई बधाई र आभार व्यक्त गर्नेको ओइरो नै थियो त्यसबेला ।
आफ्नै ठाउँमा एम्बुलेन्स आएको देख्न स्थानीयबासी हतारिएका हुनाले खगेन्द्रले त्यसैबेला नै एम्बुलेन्स खरिदका लागि करिब दुइ तिहाई रकम अर्थात् ९ लाख ६७ हजार रुपैयाँ कएम्बुलेन्सको आयात तथा बिक्री गर्ने धरानमा अबस्थित टाटा शोरुमलाई भुक्तानी गरे ।

बिक्रेताले पनि एम्बुलेन्स आयात गर्ने प्रक्रिया अगाडि बढायो । एम्बुलेन्स सन्चालन गर्न लागेको सहकारीले तत्काल एम्बुलेन्स स्वीकृति लिन पहल गर्न सकेन । केही समयपछि एम्बुलेन्स संचालन गर्ने स्वीकृतीका लागि पहल त थाल्यो तर प्रक्रियागत ढिलाइका कारण त्यो आर्थिक बर्षभित्र एम्बुलेन्स संचालन गर्ने स्वीकृति मिलेन । त्यत्तिकैमा २०७३ साउनदेखि सहकारीलाइ एम्बुलेन्स नदिने निति ल्यायो । त्यसपछि सरकारी रबैयाका कारण गाउँमा एम्बुलेन्स ल्याउने खगेन्द्रको सपना हालसम्म अधुरै छ ।
कुनै पनि संस्थाले एम्बुलेन्स चलाउन जिल्ला प्रसासन कार्यालय र त्यसपछि जनस्वास्थ्य कार्यालयको स्वीकृति चाहिन्छ । तर खगेन्द्रले हस्तान्तरण गर्ने भनिएको एम्बुलेन्सका लागि हालसम्म सिडियोले नै स्वीकृति दिएका छैनन् । खगेन्द्रका अनुसार सिडिओले स्वीकृत नगर्दा एम्बुलेन्सको फायल जिल्ला जनस्वास्थ्यमा जान पाएकै छैन । जसका कारण एम्बुलेन्स भन्सारमै थन्किएको छ ।
हुन त खगेन्द्रको परिवारको आफ्नै मेडिकल पनि नभएको होइन । उनले आफनै स्वास्थ्य संस्थाबाट एम्बुलेन्स ल्याएर चलाउन पनि सक्थे । तर उनले नाफारहित तबरले सामाजिक ध्येयले एम्बुलेन्स संचालन होस् भन्ने सोचेर सहकारी संस्था रोजेका थिए ।

तर चाबी र पैसा बुझाएको दुई बर्ष नाघिसक्दा पनि एम्बुलेन्स आउन सकेको छैन । पावर र पहुँच भएकाहरुले अहिले पनि एम्बुलेन्स ल्याइरहेको दाबी गर्दै खगेन्द्र प्रतिप्रश्न गर्छन् – “समाजका लागि लाखौं पैसा खर्चेर सामाजिक सेवा गर्छु भन्दा पनि नपाइने राज्यको कस्तो नीति हो ? राज्यको रबैयाका कारण आफू निरुत्साहित भएको खगेन्द्र सुनाउंछन् । – अम्बिका भण्डारी ( जन आस्था साप्ताहिकबाट )

 

8,457 total views, 2 views today

तपाईको प्रतिक्रिया