सुन्दा आश्चर्य लाग्न सक्छ, रोजगारका लागि नेपालीहरु धमाधम विदेशिरहेका बेला रोजगार खोज्दै नेपाल आउने विदेशीको संख्या बढ्दो छ ।

हो, श्रम स्वीकृति लिएर नेपाल आउने विदेशीको संख्या यो वर्ष ह्वात्तै वृद्धि भएको छ । ‘श्रम स्वीकृति लिएर नेपालमा काम गर्ने विदेशीको संख्या बढ्दो छ,’ श्रम विभागका निर्देशक वरुणकुमार झाले भने, ‘विना श्रम स्वीकृति अवैध तरिकाले कोही विदेशीले पनि यहाँ काम नगरुन् भनेर सबैलाई श्रम कानूनको दायरामा ल्याउने प्रयासमा हामी छौं ।’

श्रम विभागको तथ्यांकअनुसार २०७४ वैशाख १ गतेदेखि माघ मसान्तसम्म २ हजार ३ सय ७० विदेशीले श्रम स्वीकृति लिएका छन् ।

यो संख्या नेपालमा काम गर्ने भारतीय बाहेक हो । थोरै अवधिमा यतिधेरै विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिएको यो पहिलोपटक हो ।

मासिक २० हजार कमाउन नेपाली युवा मलेसिया तथा खाडी मुलुकमा भौतारिरहँदा नेपालमा काम गर्ने विदेशीले भने मासिक ४० हजार रुपैयाँदेखि ४० लाख रुपैयाँसम्म पारिश्रमिक बुझ्ने गर्छन् ।

नेपालमा सबैभन्दा कम तलव बुझ्ने विदेशी कामदारमा जलविद्युत परियोजनामा काम गर्ने चिनियाँ छन् । बढी पारिश्रमिक बुझ्नेमा अमेरिकी तथा युरोपेली छन् ।

अमेरिकी तथा युरोपेली सहयोगमा नेपालमा सञ्चालित संस्थामा काम गर्ने ती मुलुकका नागरिकले ४० लाख रुपैयाँसम्म पारिश्रमिक बुझ्ने गर्छन् । –नागरिक दैनिकबाट

4,644 total views, 4 views today

तपाईको प्रतिक्रिया