बेलबारीको बेतना सिमसार क्षेत्रमा मध्यान्हमा पुग्दा त्यहाँ अनौठौ दृश्य देखिन्थ्यो । एकहूल मानिस गोलाकार मिलाएर राखेका कुर्सीमा बसेर गुनगुनाइरहेका थिए भने अर्कोहूल मानिस कम्मर मर्काई मर्काई नाँचिरहेका भेट्टिए । दृश्य देख्दा त्यहाँ कुनै समूहको साँस्कृतिक प्रस्तुति वा प्रतियोगिता भैरहेको जस्तो भान हुन्थ्यो । वास्तमा त्यहाँ न कुनै साँस्कृतिक कार्यक्रम थियो न कुनै प्रतियोगिता नै । त्यहाँ त स्रष्टाहरुको वनभोजको कार्यक्रम थियो ।

उक्त कार्यक्रममा बेलबारी नगरपालिकाकी उपमेयर ढाका पराजुली ‘तारा’ देखि लिएर साहित्य विकास समिति बेलबारीकी अध्यक्ष रेखा सुवेदी, उपाध्यक्ष धनजित पराजुली सचिव बादलदेवि चाम्लिङ् लगायता एकदर्जन भन्दा बढी स्रष्टाहरु छम्छम् नाँचिरहेका थिए । उनीहरु कम्मर भाँचीभाँची रमाइलो गरिरहेका देखिन्थे ।

कलाकार जेवी थुलुङ् त्यही हूलभित्र हार्मोनियम र गायक संजिव धिमाल कहिले मादल घन्काउँदै त कहिले उफ्रिउफ्रि नाँचिरहेका थिए । त्यहाँ नाँच्ने र गाँउनेको कुनै कमी थिएन । सबैजना एकसे एक जस्ता थिए । थुप्रै गीत सकिदासम्म पनि उनीहरु थाकेका थिएनन् । उनीहरु को भन्दा को कम भन्ने प्रतिस्पर्धाझैँ गरेर नाँचिरहेका थिए ।

यसै क्रममा बेलबारीमा पुराना स्रष्टाद्वय हर्कमान तामाङ र रमेश कुमार तामाङ पिकनिक स्पोटको उत्तरपश्चिमतर्फ राखिएका कुर्सीमा बसेर नृत्यलाई रमाइलो मानेर हेरिरहेका थिए । उनीहरु भन्दैथिए ‘लामो समयपछि आज बेलबारीका साहित्यकार, कलाकार तथा संस्कृतिकर्मीहरु एकै ठाउँमा भेला भएर रमाइलो गर्ने मौका मिल्यो । यस्तो मौका फेरि पनि मिलोस्” ।

हर्कमान रमेशकुमार तामाङ भन्दा केही पर बसेर नृत्यको भिडियो बनाउँनमै व्यस्त थिए बेलबारीका अर्का पुराना स्रष्टा एवम् हाइकु साहित्यमा आफ्नो छुट्टै पहिचान वनाउँन सफल इरान राई । उनी कहिले स्रष्टाहरुको भिडियो त कहिले उनीहरुको फोटो खिच्नमै व्यस्त थिए ।

यो जमघटमा बेलबारीका लगभग ५० जना स्रष्टा र संस्कृतिकर्मीहरु भेला भएका थिए । यो जमघटको मेसो मिलाएका थिए बेलबारीका शेखर थापा मगरले । जमघट तथा मुनरमिलनलाई व्यवस्थित बनाउँलाई वनभोज आयोजक समिति नै निर्माण गरिएको थियो ।

यसरी पुराना तथा नयाँ स्रष्टा, कलाकार तथा संस्कृतिकर्मीहरु एकै ठाउँमा भेला भएर रमाइलो गरेको सायद धेरैका लागि यो नै पहिलो घटना थियो । यस्तो अमूल्य मौकामा उपस्थित हुन पाएकोमा उनीहरु आफूलाई भाग्यमानी ठानिरहेका थिए ।

बेलबारीका स्रष्टा, कलाकार तथा संस्कृतिकर्मीलाई एउटै ठाउँमा भेला गराउँन पाएकोमा वनभोज आयोजक समितिका संयोजक शेखर थापा मगर झनै खुसी देखिन्थे ।

पछिल्लो समयमा बेतना सिमसार बेलबारी आसपासका क्षेत्रका लागि मात्र नभएर पूर्वकै एउटा मूख्य गन्तव्य वन्न र धेरैको मन जित्न सफल भएको छ । झन् विद्यालयका स—साना बालबालिकाका लागि त मन लोभ्याउन सफल हुँदै आएको छ ।

नौका विहार, पिकनिक स्पोट, अवलोकन भ्रमण, गोष्ठी तथा सेमिनारका लागि पनि बेतना सिमसार प्रख्यात रहेको छ । यहाँ दिनहुजसो मानिसको भिड लाग्ने गर्छ । झन् सार्वजनिक विदाका दिनत यहाँ खुट्टा टेक्ने ठाउँ समेत पाउँन कठिन हुने गर्छ ।

3,309 total views, 2 views today

तपाईको प्रतिक्रिया