गाेपाल काफ्ले, पथरी । शिव स्पोर्टिङ क्लबद्वारा शिवगञ्जस्थित जनआदर्श माविको खेलमैदानमा आयोजित प्रथम पूर्वाञ्चल स्तरीय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि पथरी-शनिश्चरे ११ ले उचालेको छ । 

अर्जुनधारा क्रिकेट क्लबलाई ३९ रनले हराउँदै पथरी-शनिश्चरे ११ च्याम्पियन बनेको हो । जीतसँगै पथरी-शनिश्चरे ११ ले ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात र्पायो भने अर्जुनधाराले उपविजेता बन्दै २५ हजार रुपैयाँमा चित्त बुझायो ।

शनिबार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको पथरीले ७ विकेटको क्षतिमा १८६ रन जोडेको थियो । १८७ रनको लक्ष्यसहित मैदान उत्रिएको अर्जुनधाराका खेलाडी १९ ओभर ३ बलमा १४८ रन बनाएर अलआउट भए ।

पथरी-शनिश्चरेका राजु राईले २८ बलमा सर्वाधिक ५१ रन बनाए । त्यस्तै, फडिन्द्र दाहालले ४० र विनोद श्रेष्ठले २२ रन बनाएका थिए । बलिङमा अर्जुनधाराका अनिल मादेनले ४ ओभरमा १८ रन दिँदै तीन विकेट लिए । त्यस्तै, जितेन्द्र सेख ४ ओभरमा ३० रन दिँदै २ विकेट लिन सफल बने ।

खेलको दोस्रो इनिङमा अर्जुनधाराका कमल कार्कीले २२ बल खेलेर टिमका लागि सर्वाधिक ४० रनको योगदान दिए । चन्द्र भट्टराईले २१ र जीवन विष्टले १९ रन जोडे । बलिङमा खरो उत्रिएको पथरीका राकेश दाहालले ४ ओभरमा मात्र २७ रन दिँदै ४ विकेट झारेका थिए । त्यस्तै विनोद श्रेष्ठले ४ ओभर बल फ्याँक्दै २५ रन दिएर २ विकेट लिए । फाइनल खेलको म्यान अफ दी म्याच राकेश दाहाल बने ।

प्रतियोगिताको म्यान अफ दी सिरिज विनोद श्रेष्ठले हात पारेको आयोजक शिव स्पोर्टिङ क्लबका अध्यक्ष मनोज खुलाल कार्कीले बताए । उनले तीन खेलमा ११८ रन जोडेका थिए भने बलिङतर्फ ८ विकेट लिएका थिए । बेस्ट ब्याट्स म्यान सुरज न्यौपाने घोषित भए । उनले तीन खेलमा ११९ रन बनाएका थिए । फेयरप्ले अवार्ड अर्जुनधारा क्रिकेट क्लबको नाममा रह्यो ।

2,130 total views, 2 views today

तपाईको प्रतिक्रिया