सातवटै प्रदेशका सरकारहरु सञ्चालनमा आए पनि व्यवस्थापन भने निकै गञ्जागोल भएको छ । पूर्वाधार अभावमा प्रदेशको काम–कारबाही लठबद्र  छ ।

 प्रदेश व्यवस्थापन कमजोर हुँदा मन्त्री र मुख्यमन्त्रीको दैनिकी थोत्रा गाडी चढेर भद्रगोल कार्यालय धाउने र र बेलुकी होटलमा सुत्नेमा मात्रै सीमित छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका लागि जोहदा रोडमा एउटा घर तयार पारिएको थियो । तर अपायक र असुरक्षित भएको भन्दै उनी राष्ट्र बैंकको गेस्ट हाउसमा बसिरहेका छन् । आन्तरिक मामिला मन्त्री हिक्मत कार्की फुड एन्ड फन रिसोर्टमा र आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो होटेल स्वागतमा छन् ।

प्रदेश २ का लागि केन्द्र सरकारले दिएका पाँचमध्ये तीनवटा गाडी चल्नै नसक्ने छन् भने दुई गाडी पनि मर्मत गर्नुपर्ने भएको छ । उक्त गाडी मर्मत गर्न १७ लाख लाग्ने अनुमान छ ।

धनुषास्थित सिँचाइ कार्यालयले सभामुख सरोजकुमार यादवलाई दिएको गाडीमा सिट कभरसमेत छैन ।प्रदेश ३ को प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा सचिवालय र सात मन्त्रालयका लागि केन्द्रबाट दुई सय ३७ कर्मचारी खटाइए पनि हालसम्म ६८ कर्मचारी मात्र हाजिर भएको समाचार  छ ।

प्रदेश ४ का मुख्यमन्त्री र मन्त्रीका लागि आवास तयार हुँदैछ भने प्रदेश ५ मा २३५ कर्मचारी पठाइएकोमा ४९ जना मात्रै हाजिर भएका छन् । ६ मा पनि उस्तै दुःख छ । सरकारी निवास नपाउँदा मन्त्री होटलमा बसिरहेका छन् भने प्रदेश ७ का कर्मचारी सम्पर्कमा छैनन् , नयाँ पत्रिकामा खबर छ ।

4,849 total views, 2 views today

तपाईको प्रतिक्रिया