बुढेसकाल कसरी बिताउने भन्ने चिन्ताले सताएको हुन्छ । पछि गएर दुःख पाउँछु कि भन्ने पीरले  धेरैले पहिले कमाएको पैसा बुढेसकालका लागि  बचत गर्दछन् । तर पश्चिमा देशहरुमा भने बुढेसकालको सहारा लट्ठी नभएर फेसबुक बन्न थालेको छ ।

बुढेसकाल लागेकाहरु लट्ठी टेक्दै पार्कमा टहलिन जानेभन्दा पनि घरमै बसेर फेसबुकतिर झुम्न थालेको प्रतिवेदनहरुले जनाएका छन् । त्यसो त पार्कमा टहलिनेहरुको हात–हातमा पनि मोबाइल र ट्याब्लेट देखिन्छ । परिवारबाट एक्लिँदै गइरहेका अमेरिका तथा युरोपमा वृद्धवृद्धाका लागि बुढेसकालमा छोराछोरी, नातिनातिनाभन्दा पनि फेसबुक सहारा बन्दै गइरहेको छ । अब छोराछोरी र  नाति नातिना मात्र  बुढेसकालका सहारा हुन् भन्ने परिभाषा बदलिन थालेको छ  । अब  फेसबुक नै बुढेसकालको सहारा मान्न थालिएको छ  ।

विश्वमा फेसबुकका प्रयोगकर्ता बर्सेनि बढ्दै गइरहेका छन् । पछिल्लो समय फेसबुक युवा पुस्तामा मात्र नभएर वृद्धवृद्धाहरु माझ लोकप्रिय बन्दै गइरहेको छ । इ मार्केटरको एक प्रतिवेदन अनुसार अमेरिकामा बढी २५ वर्षभन्दा कम उमेरका २० लाखभन्दा बढी  मानिसहरुले  यो वर्ष फेसबुक प्रयोग गर्न छोड्ने अनुमान गरिएको छ ।

एक  प्रतिवेदन अनुसार  यो वर्ष  बेलायतमा ७ लाख युवायुवतीहरुले फेसबुकको प्रयोग घटाउदै लैजाने अनुमान गरिएको छ  । यो वर्ष फेसबुक प्रयोग गर्ने युवापुस्ता ५५ प्रतिशतले घट्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सन् २०१८ मा बेलायतमा १२ देखि १७ वर्ष उमेर समूहका २२ लाखले फेसबुकको प्रयोग गर्ने गरेका छन् । यस्तै १८ देखि ४५ वर्ष उमेर समूहमा ४५ लाख फेसबुकका  नियमित प्रयोगकर्ता रहेका छन् । बेलायतमा फेसबुक लोकप्रिय भएकोले  नियमित फेसबुक प्रयोगकर्ताको संख्या ३ करोड २६ लाख रहेको छ । यस्तै इन्स्टाग्राम प्रयोकर्ता १ करोड ६० लाख, स्न्यापच्याट प्रयोगकर्ता ६० लाख र ट्वीटर प्रयोगकर्ता १ करोड २० लाख रहेका छन् । इ–मार्केटरको अनुसन्धान अनुसार यो वर्ष फेसबुक प्रयोग गर्ने युवापुस्तामा निकै कमी आएको छ ।

फेसबुकप्रति युवापुस्ताको रुची घट्दै जानुको मुख्यकारण अन्य सामाजिक सञ्जाल पनि हुन्  । पछिल्लो समय युवापुस्ताले स्न्याप च्याटमा बढी चासो देखाएपछि फेसबुकको प्रयोग घटेको हो । प्रतिवेदनका अनुसार यो वर्षमात्रै ५५ देखि ६५ वर्ष उमेर समूहका ५ लाख भन्दा बढी प्रयोगकर्ता फेसबुकमा जोडिएका छन् । यो वर्षमा ५५ वर्षभन्दा माथि उमेर समूहका ६४ लाख प्रयोगकर्ता बढ्ने अनुमान गरिएको छ ।

अनुसन्धनात्मक संस्था एम्पियरका विश्लेषक रिचार्ड ब्राउटनका अनुसार फेसबुक भिडियो तथा फोटो शेयर गर्न मिल्ने सामाजिक सञ्जाल भएकाले आफ्ना छोराछोरी तथा नाति नातिनी भेट्ने माध्यम भएकाले फेसबुकप्रति वृद्धवृद्धाको आकर्षण बढेको हो । (आवाज नेपालको सहयोगमा)

2,317 total views, 2 views today

तपाईको प्रतिक्रिया